१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

भुटानको फाइनल सम्भावना बलियो

काठमाडौ – १३औं सागको अन्डर डग टोलीको रूपमा हेरिएको भुटानले माल्दिभ्सलाई बिहिबार २–१ ले स्तब्ध पार्दै साग खेलकुदअन्तर्गत पुरुष फुटबलको फाइनलमा प्रवेश गर्ने सम्भावना प्रबल पारेको छ। बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको पहिलो खेलमा हात पारेको जितपछि भुटान शीर्ष स्थानमा उक्लिएको हो। ३ खेलमा २ जित र १ हारपछि भुटान ६ अंकका साथ शीर्ष स्थानमा उक्लिएको हो।

भुटानले फुटबलको कुनै पनि स्तरमा माल्दिभ्सलाई हराएको यो पहिलो पटक हो। माल्दिभ्स भने समान तीन खेलबाट दुई अंकमा सीमित रह्यो। माल्दिभ्सले आफ्नो सुरुआती दुवै खेल बराबरी खेलेको थियो। यो नतिजाले भुटानको फाइनल प्रवेशको सम्भावना बलियो भएको छ भने स्वर्णको बलियो दाबेदार मानिएको माल्दिभ्सलाई अब त्यो सम्भावना कायम राख्न निकै कठिन हुनेछ।

दशरथ रंगशालामा भएको यु–२३ फुटबलमा भुटानले पहिलो हाफमा गोलरहित बराबरीपछि दोस्रो हाफमा दुई गोल गरेको थियो। उसका लागि ५५औं मिनेटमा छिमी दोर्जेले पहिलो गोल गरे। यस्तै ८४ औं मिनेटमा फुब थिन्लेले दोस्रो गोल गरे। खेलको अन्त्यतिर माल्दिभ्सका लागि हाम्जा माहेमदले सान्त्वना गोल फर्काए र यसले खेलमा कुनै फरक पारेन।

जितमा भुटानी प्रशिक्षक पेमाले खुसी व्यक्त गरे र यो जितलाई ऐतिहासिक माने। उनले भने, ‘यो जितमा हामी कति खुसी छौं भनेर भन्न नै सकिरहेका छैनौं। हामी आज जितका लागि पूर्ण हकदार थियौं।’ बिहीबार नै भएको दोस्रो खेलमा बंगलादेशले श्रीलंकालाई १–० ले हरायो। बंगलादेशका लागि महबुब रहमानले दशौं मिनेटमा गोल गरे।

जितले बंगलादेशको तीन खेलबाट चार अंक भएको छ र उसले फाइनल पुग्ने आप्mनो सम्भावनालाई जीवन्त पारेको छ। बंगलादेश यो जितले अंकतालिकाको तेस्रो स्थानमा उक्लिन पनि सफल रह्यो। श्रीलंका भने दुई अंकमै सीमित रह्यो। आयोजक नेपालको चार अंकका साथ दोस्रो स्थानमा छ।

प्रकाशित: २० मंसिर २०७६ ०१:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App