१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

महिला ह्यान्डबलमा पदक पक्का

पोखरा - १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा नेपालको महिला ह्यान्डबल टोलीले पदक पक्का गरेको छ।
लगातार दुई खेलमा जित निकाल्दै सेमिफाइनल पुगेपछि नेपाली महिला ह्यान्डबल टोलीले पदक पक्का गरेको हो। पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा बिहीबार सम्पन्न आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशलाई २६–२४ गोलले पराजित ग¥यो। टिमलाई जित दिलाउन उमा राईले सर्वाधिक ८ गोल गरिन्। उनले सात गोल पेनाल्टीबाट गरेकी थिइन्।

बंगलादेशी टोलीको दुई पेनाल्टीलाई नेपाली गोलकिपरले बचाउ गरेकी थिइन्। पहिलो हाफको सुरुवातमै पछि परेको नेपालले दोस्रो हाफ हुनुअघि बराबरीमा ल्याएको थियो। दोस्रो हाफमा बंगलादेशी टोलीमाथि दबाब सृजना गरेपछि अन्ततः नेपालले दुई गोलको अन्तरले जित निकाल्यो।

सेमिफाइनलमा भिड्ने अर्को टोलीको टुंगो लागेको छैन। बिहीबारै सम्पन्न अर्को खेलमा पाकिस्तानले माल्दिभ्समाथि ३२–२७ को जित निकाल्यो। जितसँगै पाकिस्तानले ३ अंक जोडेको छ। माल्दिभ्स भने लगातार दुई खेल हार्दै समूह चरणबाट बाहिरिएको छ। यसअघि माल्दिभ्स भारतसँग पराजित भएको थियो।

पुरुष टिम बाहिरियो
बिहीबार भएको पुरुष ह्यान्डबलमा पाकिस्तानसँग पराजित भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको छ। लिग चरणमा लगातार दुई खेल पराजित भएपछि नेपाल बाहिरिएको हो। नेपाल पाकिस्तानसँग १९–४३ गोलले पराजित भयो। पाकिस्तानलाई जित दिलाउन मोहम्मद जुबेरलेसर्वाधिक १० गोल गरे। नेपालका कप्तान विशाल बस्नेतले सर्वाधिक ५ गोल गरे। यसअघि पहिलो खेलमा नेपाल श्रीलंकासँग पराजित भएको थियो। समूह ‘बी’मा रहेको पाकिस्तानले पहिलो खेलमा जित निकाल्दै ३ अंक जोडेको छ। पाकिस्तानले शुक्रबार श्रीलंकासँग खेल्नेछ।

प्रकाशित: २० मंसिर २०७६ ०१:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App