१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अफगानिस्तानमा सहायता एजेन्सीमा कार्यरत पाँच कर्मचारीको हत्या

जलालाबाद – अफगानिस्तानको जलालाबाद सहरमा एउटा सहायता समूहका पाँच जना कर्मचारीको गोली हानी हत्या गरिएको छ। उक्त हत्याकाण्डमा परी एकजना अन्तर्राष्ट्रिय सहायता समूहका कर्मचारी पनि सख्त घाइते भएको बताइएको छ। यस विषयको पूर्णविवरण भने आएको छैन। फ्रान्सेली समाचार एजेन्सी एएफपीका अनुसार गोलीकाण्डमा जापानी चिकित्सक ७२ वर्षीय तेत्सु नाकामुराको पनि हत्या भएको छ।

अफगानिस्तानको पूर्वक्षेत्रमा पर्ने नान्गाहार प्रान्तको जलालाबादमा सो हत्याकाण्ड भएको हो। उक्त सहरमा सवारी साधनमा यात्रा गरिरहेका उनीहरुमाथि आतंककारीहरुले गोली हानेका थिए। जलालाबाद सहरमा यात्रामा रहेको उनीहरुको सवारी साधनमा आतंककारीले गोली चलाएको उक्त प्रान्तका प्रान्तीय प्रवक्ताले जानकारी दिएका छन्।

नान्गाहार प्रान्तका प्रान्तीय प्रवक्ता अतुल्लाह खोग्यानीले दिएको जानकारीअनुसार उक्त सहायता समूहका कर्मचारी चढेको गाडीमा अज्ञात आतंककारी समूहका व्यक्तिले गोली हानेका थिए। हमलाको बारेमा प्रहरीले अनुसन्धान थालेको प्रवक्ता खोग्यानीले जानकारी दिएका छन्। ‘बुधबार बिहान भएको हमलाको बारेमा अनुसन्धान थालिएको छ र यस विषयको थप सूचना जानकारी गराइने छ,’ उनले बताए।

अफगानिस्तानमा कृषि र सिँचाइका क्षेत्रमा काम गरिरहेको संस्था पिस मेडिकल सर्भिस नामको सो गैरसरकारी संस्थाको सवारीमाथि हमला भएको हो। सो संस्था अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाको सहायतामा अफगानिस्तानमा सञ्चालनमा रहेको छ। उक्त संस्थाका निर्देशक पनि बन्दुकधारीको गोली लागेर घाइते भएका छन्।

मंगलबार मात्र पनि अफगानिस्तानको राजधानी काबुलबाट केही पूर्वतर्फ रहेको क्षेत्रमा अज्ञात बन्दुकधारीले गोली हानी गुप्तचर निकायका दुई अधिकारीको हत्या गरेका थिए। त्यस क्रममा गोली लागेर अरु पनि केही व्यक्ति घाइते भएका थिए। सहायता संस्थाका कर्मचारी सवार गाडीमा गरिएको आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मेवारी लिएको छैन तर पनि अफगानिस्तानमा हिंसा मच्चाइरहेका तालिबानले नै यस्तो हमला गर्ने गरेकोले पछिल्ला हत्यामा पनि सोही समूहकै हात रहेको अनुमान प्रहरीले गरेको छ।

प्रकाशित: १९ मंसिर २०७६ ०२:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App