१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

तेक्वान्दो स्वर्णिम युगनजिक

काठमाडौं - संगीता बस्याल र सक्षम कार्कीले घरेलु मैदानमा जारी १३औं दक्षिण एसियाली खेलकुद(साग)मा स्वर्ण जित्दा नेपाली तेक्वान्दो आफ्नो स्वर्णिम युगनजिक पुगेको छ। सातदोबाटोस्थित तेक्वान्दो एकेडेमी हलमा बुधबार सम्पन्न फाइटतर्फ प्रतिस्पर्धामा संगीता र सक्षमले स्वर्ण जितेपछि नेपाली तेक्वान्दो आफ्नो स्वर्णिम इतिहासनजिक पुगेको हो।  सक्षम र संगीताले स्वर्ण जितेसँगै नेपालको तेक्वान्दो टोलीले यस संस्करणमा ११ स्वर्ण जितिसकेको छ। नेपालले पुम्सेतर्पm सात र फाइटमा पाँच स्वर्ण जितेको हो।

जुन २० वर्षआगडि घरेलु मैदानमा सम्पन्न आठौं सागभन्दा तीन स्वर्णले कम हो।  नेपालमा सन् १९९९ मा सम्पन्न सागमा नेपालले कुल ३१ स्वर्ण जित्दा तेक्वान्दोले करातेसँगै सर्वाधिक १४÷१४ स्वर्ण दिलाएको थियो। यो नतिजा नेपाली तेक्वान्दोका लागि साग इतिहासकै सर्वाधिक सफल हो।  सोही सागमा स्वर्ण विजेताद्वय संगीना वैद्य र दीपक विष्ट दुवै हाल नेपाली तेक्वान्दो टोलीका प्रशिक्षक छन्।

सागमा तेक्वान्दोले डेब्यु गरेकै संस्करणमा संगीना र दीपकले फाइटतर्फ स्वर्ण जितेका थिए। काठमाडौंमा सम्पन्न उक्त संस्करणमा नेपालका लागि सर्वाधिक सफल पनि हो। पहिलो पटक साग खेलेकी संगीताले ६२ केजीमुनि तौलसमूहमा स्वर्ण दिलाइन्। संगीताले फाइनलमा भारतकी गगनजोत गिललाई १८–९ ले हराउँदै स्वर्ण जितेकी थिइन्।

गत संस्करणको १२औं सागका लागि संगीता छनोट चरणमै नेपालकी सफल खेलाडी आयसा शाक्यसँग पराजित भएकी थिइन्। यस संस्करणमा भने आयसाले फाइटतर्फ प्रतिस्पर्धा गरिनन्। जितपछि संगीताले प्रशिक्षकको मिहिनेतसँगै स्वर्ण जित्ने अठोटका कारण सफलता मिलेको बताइन्।

‘गुरुहरूले स्वर्ण जित्नका लागि हरेक किसिमले प्रयास गर्नुभएको छ। साथै सोहीअनुरूप मैले पनि अनुसरण गरें,’ संगीताले भनिन्,‘मेरो प्रतिद्वन्द्वी राम्रो नै थिए। मेरा सहकर्मीहरू भारतीयसँग पराजित भएपछि मलाई केही डर त लागेको थियो। तर, मैदानभित्र छिरेपछि जोस आयो र उनीविरुद्ध हाबी हुन सफल भएँ।’ उक्त तौल समूहमा पाकिस्तानकी जोया सबिर र श्रीलंकाकी नुवान्थी लकमलले कांस्य जितिन्।

अन्तर्राष्ट्रिय सहभागिताका क्रममा भने संगीताले कम उचाइका कारण कमै अवसर पाउँछिन्। यद्यपि, पाएको अवसरमा भने संगीता खरो उत्रने गर्छिन्। गत वर्ष १८औं एसियाड पनि नेपाली खेलाडीको तुलनात्मक रूपमा संगीताले आशालाग्दो प्रदर्शन गरेकी थिइन्। फिलिपिन्सकी खेलाडी डार्लिन अर्पोनलाई कडा चुनौती दिए पनि उनी २०–१७ स्कोरले स्तब्ध भइन्। ३६ सेकेन्ड बाँकी छँदासम्म खेल १६–१६ को बराबरीमा थियो।

तर कम अनुभवी खेलाडी संगीता अट्याकिङ खेल्दा अंक गुमाउन पुगेकी थिइन्। बुधबार भारतीय प्रतिद्वन्द्वी गगनजोतविरुद्ध भने संगीता समालिएर खेलिन्। नेपाललाई स्वर्ण दिलाइन्। यता, नेपालका लागि पुरुषतर्पm स्वर्ण जितेका सक्षम पनि अन्तर्राष्ट्रिय सहभागिता क्रममा यसअघि अभावी साबित हुँदै आएका खेलाडी हुन्।

सन् २०१४ को इन्चोन एसियाडमा टोलीमा रहेर पनि प्रशिक्षण क्रममा घाइते हुन पुगेपछि सक्षमले अन्तिम समयमा एसियाड गुमाउन पुगे। सन् २०१७ को विश्व च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने क्रममा घाइते हुन पुगेपछि त्यो अवसरबाट पनि सक्षम वञ्चित भएका थिए। सोही समयदेखि उनको हातमा स्टिल राखिएको थियो। जुन प्रतियोगिता आउनुभन्दा ढेड महिनाअगाडि मात्र निकालिएको थियो।

गत संस्करणको सागमा फाइनलमा पुगेर पनि स्वर्ण जित्नबाट चुकेका सक्षम यस पटक भने स्वर्ण जित्नबाट चुकेनन्। फाइनलमा पाकिस्तानका वकर अलिलाई २७–९ ले हराउँदै सक्षम स्वर्ण जित्न सफल भए। सालिन् स्वभावका सक्षमले जितपछि आफ्नो एउटा लक्ष्य पूरा भएको प्रतिक्रिया दिए। साथै उनले चोटका कारण केही समय मैदानबाट बाहिर रहनेसमेत बताएका छन्।

कोटेश्वर तेक्वान्दो डोजाङबाट खेलकरियर सुरु गरेका सक्षमका पिता पनि भैरव पनि तेक्वान्दोका प्रशिक्षकसमेत हुन्। परिवारको पनि खेलकुद पृष्ठभूमि भएका कारण सक्षमलाई चोटबाट पुनरागमन सहज बन्यो। यस समूहमा श्रीलंका बालापतियगे र भारतका चैतन्य विजयले कांस्य पदक जित्न सफल भए।

बिहीबार बाँकी ६ स्वर्णका लागि प्रतिस्पर्धा हुँदा नेपाल कम्तीमा चार स्वर्ण जित्ने लक्ष्यमा हुनेछ। बुधबारको ६ स्वर्णको प्रतिस्पर्धा भने नेपाल दुई स्वर्णमै खुम्चिएको थियो। बुधबार भारतले तीन स्वर्ण र श्रीलंकाले एक स्वर्ण जित्न सफल भयो। पुरुष ७४ केजीमुनि भारतका जर्नेल सिंहले स्वर्ण जित्दा पाकिस्तानका जाबरन खानलाई ४१–२६ को हार सामना गर्न बाध्य बनाए। नेपालका निश्चल श्रेष्ठ र श्रीलंकाका दर्साना कुमाराले कांस्य पदक जिते।

६३ केजीमुनि श्रीलंकाका चलिन्दा सम्पथले स्वर्ण जित्न सफल भए। उनले फाइनलमा भारतका सौरभलाई सडन डेथमार्फत हराए। यस तौलमा नेपालका ज्ञानेन्द्र हमाल र पाकिस्तानका महमुद खानले कांस्य पदक जिते। महिलातर्पm ७३ केजीमाथि भारतकी रोदाली बरुवाले फाइनलमा नेपालका निशा रावललाई ३२–९ ले स्तब्ध बनाउँदै स्वर्ण जितिन्।
५३ केजीमुनि भारतकी लतिका भण्डारीले फाइनलमा पाकिस्तानकी आयसा अफसरलाई ४०–१० ले हराउँदै स्वर्ण जितिन्। यस तौलमा नेपालकी अस्मिता खड्का र श्रीलंकाकी दसुना निमेसाले कांस्य जित्न सफल भए।

सक्षम र संगीताले स्वर्ण जितेसँगै नेपालको तेक्वान्दो टोलीले यस संस्करणमा ११ स्वर्ण जितिसकेको छ। नेपालले पुम्सेतर्फ सात र फाइटमा पाँच स्वर्ण जितेको हो।

 

प्रकाशित: १९ मंसिर २०७६ ०१:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App