१५ वैशाख २०८१ शनिबार
image/svg+xml
विचार

आत्मानन्द जन्मोत्सव र उँधौली

जीवस्व शरद्ःशतम्
नित्य शुद्ध निराभासं निराकारं निरञ्जनम् !
नित्य बोध चिदानन्द गुरोब्रह्मा नामाम्यहम् !!
सयौं वर्ष बाँच, सयौं शरद मनाऊ, नित्य शुद्ध, निरन्तर आत्मा आनन्द बोध गरी गुरु नै ब्रह्मा हुन् भन्ने शास्त्रीय धारणाअनुरूप किरात धर्मका गुरुदेव आत्मानन्दको ५८औं जन्मोत्सव मंसिर १८ गते मनाइँदै छ। संयोग, सोही दिन किरात धर्मावलम्बीको उँधौली पर्व पनि परेकाले दुई पर्व किरात एकता दिवसका रूपमा महोत्सव मानिन्छन्।
सोह्रौं राष्ट्रिय विभूति फाल्गुनन्दका पनाति तथा पुण्यप्रसाद र चन्द्रमायाको जेठो पुत्रका रूपमा इलामको इभाङ ५ चुक्चिनाम्बा पुच्छार अगौटेमा एक बालकको लिङ्देन सेत्छेने सेनिहाङ् कुलमा भयो। ज्योतिषी नाम सोमबहादुरलाई आमाको दूध नपाएकाले बाख्राको दूध खुवाएर बचाइयो। केही दिनमै माताले दोस्रो विवाह गरेकाले बजु जोगमायाको काखमा उहाँ हुर्कनुभयो। जाँडरक्सी, मासु नखाएका ज्ञानी बालक अर्काको आत्मा देख्ने आत्मदर्शी भएकाले उहाँको नाम आत्मानन्द हुन पुग्यो। सानो छँदै ध्यान, ज्ञान, जपतप र एकान्तपन जंगलमा तपस्या गर्ने उहाँले ओढारमा समाधि ज्ञान प्राप्त गर्नुभयो र परमात्मा परमेश्वर तागेरा निङ्वाभूमाङको दर्शन पाई आत्मा साक्षात्कार गर्नुभयो। आफूलाई फाल्गुनन्दको पुनःअवतार घोषणा गरी उहाँका अपूरा, अधुरा कार्य पूरा गर्ने वाणी दिँदै किरात धर्मगुरुमा पदासीन हुनुभयो। पाँच चेलाका साथ २०२७ भदौदेखि माघसम्म ६ महिना कठोर तपस्याबाट पुनःसिद्धि प्राप्त गर्दै पृथ्वीलोक, परलोक र स्वर्गलोकको भविष्यवाणी गरी उहाँ प्रख्यात हुनुभयो। उहाँले भारतका ४ धाम र गंगासागर एवं फक्ताङ्लुङ कुम्भकर्ण देवको दर्शन गर्नुभयो। माता पवित्रहाङ्मा साँवासँग २०३२–१०–३२ गते उहाँले देव विवाह गर्नुभयो। अहिले उहाँका ४ पुत्र र ६ पुत्री छन्। संसारिक जीवनमा देवकर्म अँगाली उहाँ आध्यात्मिक चिन्तन, धार्मिक र सांस्कृतिक उत्थानमा समर्पित हुनुभएको छ।

किरात जनजातीय संस्कृतिका दुई महत्वपूर्ण पर्व– उँधौली र उँभौली प्रकृतिमय छन्। किसान वर्गले अन्नबाली पाकेपछि सर्वप्रथम उनै प्रकृतिदेवी सृष्टिकर्ता तागेरा निङ्वाभूमाङ्लाई चढाउने प्रचलन नै कालान्तरमा उँधौली पर्व बन्न गएको हो।

आत्मानन्द मिसन १ किरात धर्म तथा साहित्य उत्थान संघ, २ किरात चोत्लुङ् अङ्सीमाङ्गेन्ना सेवामार्फत किरात धर्म, संस्कृति, भाषा, लिपि, साहित्यको प्रर्वद्धन गर्दै गुरुदेवले २०५७ मा प्रथम, २०६७ मा द्वितीय किरात धर्म अन्तर्राष्ट्रिय महासम्मेलन सम्पन्न गराई ७/७ बुँदे घोषणा जारी गर्नुभएको ऐतिहासिक पृष्ठभूमिले अन्तर्राष्ट्रिय धर्मगुरुका रूपमा स्थापित हुनुभएको छ। २०५८ राष्ट्रिय जनगणनामा ८,१८,१०६ जनाले किरात धर्म लेखी राज्यको चौथौ दर्जामा रहेको किरात धर्मावलम्बीहरूको धर्मगुरुको जन्मोत्सवका अवसरमा राष्ट्रप्रमुख, सरकार प्रमुख उच्चपदस्थ व्यक्तिहरू जाने र बिसौं हजार भक्तजन ५/७ मुलुकबाट दर्शन गर्न आउने परम्परा छ। आठ खण्डभन्दा बढी साम्जिक मुन्धुम किरातको वेद सम्पादन प्रकाशन गरी सक्नुभएको र बाँकी थप प्रकाशोन्मुख अवस्थामा छन्। केन्द्रीय मन्दिर माङ्सेवुङमा विशाल स्वर्ण माङ्हिम निर्माणाधिन छ। उहाँको जन्मदिनसँगै किरात पर्व उँधौली पूजा बन्न पुगेको एक अमर युगपुरुष आत्मानन्द साँच्चिकै आत्मा+आनन्द= आत्मानन्द शक्तिका साक्षर, भक्तिका दाता, सिद्धिको संवाहक हुनुहुन्छ।

किरात पर्व : उँधौली पूजा
किरात जनजातीय संस्कृतिका दुई महŒवपूर्ण पर्व– उँधौली र उँभौली प्रकृतिमय छन्। किसान वर्गले अन्नबाली पाकेपछि सर्वप्रथम उनै प्रकृतिदेवी सृष्टिकर्ता तागेरा निङ्वाभूमाङ्लाई चढाउने प्रचलन नै कालान्तरमा उँधौली पर्व बन्न गएको हो। ऐतिहासिक यो पर्वसँगै आत्मानन्द जन्मोत्सव एक सिक्काका दुई पाटा भएका छन्।
धर्मगुरु आत्मानन्द– चिरायु रहुन् !
किरात धर्मको– जय !!!!

प्रकाशित: १८ मंसिर २०७६ ०४:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App