१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

मध्यपहाडी राजमार्गको निर्माण सुस्त

काठमाडौं- सरकारको उच्च प्राथमिकतामा रहेको पुष्पलाल (मध्यपहाडी) राजमार्गको निर्माणकार्य सुस्त गतिमा अघि बढेको सरकारी तथ्यांकले देखाएको छ ।यो राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत भएपनि चालु आर्थिक वर्षको चार महिनाकोे प्रगति उत्साहजनक छैन ।चार महिनामा २५ प्रतिशत काम सम्पन्न हुनुपर्नेमा१२ प्रतिशत मात्रै सकिएकोछ ।

चालु आर्थिक वर्षको चार महिनाको समग्र प्रगति १२ प्रतिशतमात्रै भए पनि कालोपत्रेको लक्ष्य भने ५८ प्रतिशत हासिल भएको छ

पुष्पलाल(मध्यपहाडी) राजमार्ग आयोजना निर्देशनालय चालु आर्थिक वर्षको चार महिनाका लागि तोकेको लक्ष्य अनुसार सडक कालोपत्रे गर्न पनि असफल देखिएको हो । निर्देशनालयले यो चार महिनामा३५ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखेकोमा २०.५ किलोमिटर सडक मात्रै गरेको छ । निर्देशनालयका इन्जिनियर नारायण पौडेलले चालु वर्षको चार महिनामा समग्र भौतिक प्रगति १२ प्रतिशत मात्रै भएको बताए ।‘बर्खाको समय भएकाले चार महिनामा लक्ष्य अनुसारकाम हुन सक्दैन,’ उनले भने,‘अब निर्माणको सिजन भएकाले मासिक लक्ष्यभन्दा बढी काम हुन्छ ।’

निर्देशनालयका अनुसार २०.५ किलोमिटर सडकमध्येतेह्रथुममा १०, कास्कीमा ३.५, पूर्वी रुकुममा दुई र पश्चिम रुकुममा पाँच किलोमिटर कालोपत्रे भएको छ ।इन्जिनियर पौडेलले बर्खामा झरी परेकाले लक्ष्य अनुसारकालोपत्रे गर्न नसकेको बताए । ‘बर्खाका कारण दैलेखको सडक लक्ष्यअनुसार कालोपत्रे गर्न नसक्दा निर्धारित लक्ष्य भेट्न नसकेका हौं,’ उनले भने,‘यो चार महिनामा एउटा पनि पुल निर्माण हुने लक्ष्य राखेका थिएनौं । तर दुईवटासम्पन्न भए ।’
निर्देशनालयले यो चार महिनामा ५४ किलोमिटर सडकको बेस तयार भएको जनाएको छ ।त्यसैगरी, सब–बेस निर्माणको काम ६९ किलोमिटर र ट्र्याक खोल्ने, ब्याक कटिङ लगायतकाम सम्पन्न भइसकेको छ । चौमासिकअवधिमा टेवा पर्खाल लगाउने काम २६ किलोमिटर सकिएको छ । नालीको काम ४८ किलोमिटर सकेको निर्देशनालयले जनाएको छ ।स्ल्याब,कल्भर्ट,पाइप कल्भर्ट ४६ वटा निर्माण सम्पन्न गरेको छ ।

चालु वर्षको चार महिनामा ९० किलोमिटर सडक कालोपत्रे गर्ने कामको ठेक्का व्यवस्थापन गर्ने लक्ष्य निर्देशनालयको थियो । प्रवक्ता पौडेलले ८९ किलोमिटरको सडकको ठेक्का व्यवस्थापन गर्न सफल भएको बताए ।निर्देशक दीपक केसी पुुष्पलाल राजमार्गको सडक सीमांकन नहुँदा निर्माणमा समस्या भएको बताउँछन् । ‘कतिपय ठाउँमा सडकको सीमांकनसाथै सर्भे समेत गर्न पाएका छैनौं,’ उनले भने, ‘स्थानीयको अवरोधले काम अघि बढ्न सकेको छैन ।’
निर्देशनालयले चालु आर्थिक वर्षमा तीन सय ५० किलोमिटर सडक कालोपत्रे गर्ने  लक्ष्य राखेको छ ।त्यसैगरी, तीन सय ३५ किलोमिटरको बेस तयार पार्ने, तीन सय ९० किलोमिटर सब–बेस तयार पार्ने,दुई सय २० किलोमिटर सडकको ट्र्याक खोल्ने, ब्याक कटिङ, फिलिङ गर्ने लक्ष्य राखेको छ ।एक सय ३० किलोमिटर टेवा पर्खाल निर्माण गर्ने, दुई सय २० किलोमिटर नाली निर्माण गर्ने, एक सय ६० किलोमिटर स्ल्याब,कल्र्भट,पाइप कल्भर्ट निर्माण गर्ने लक्ष्य राखेको निर्देशनालयले जनाएको छ ।

चालु आर्थिक वर्षमा १६ वटा पुल निर्माण गर्ने लक्ष्य राखेकोमा चार महिनामा दुईवटाको निर्माणसम्पन्न भइसकेको छ । सरकारले चालु आर्थिक वर्षमा यो आयोजनाको लागि १२ अर्ब ८६ करोड रुपेयाँ बजेट विनियोजन भएको थियो ।त्योमध्ये चालु आवको चौमासिकमा एक अर्ब २८ करोड रुपैयाँ खर्च भइसकेको छ ।

निर्देशनालयका अनुसार गत आर्थिक वर्षमा पुष्पलाल राजमार्गमा एक सय ५२ किलोमिटर सडक कालोपत्रे सम्पन्न गरेको थियो । त्यसैगरी, ५० किलोमिटर नयाँ  ट्र्याक खोल्ने काम भएको थियो । निर्देशनालयलेगत वर्ष १५ वटा पुल निर्माण सम्पन्न गरेको थियो । सरकारले आर्थिक वर्ष ०६४/६५ मा मध्यपहाडी राजमार्ग निर्माण सुरु गरेको हो । सुरुमा ०७३/७४ मा निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको थियो ।समयमा काम हुन नसकेपछि पाँच वर्ष म्याद थप गरेको छ । अब आर्थिक वर्ष ०७९/८० सम्म मध्यपहाडी राजमार्ग निर्माण सक्ने सरकारी लक्ष्य छ । आयोजनाको काम हाल पाँच जिल्लामा सञ्चालित छ ।

पहिलो खण्ड पाँचथर,तेह्रथुम,धनकुटा र भोजपुर जिल्लामा तीन सय ८६ किलोमिटरछ । दोस्रो खण्डको राजमार्ग खोटाङ, ओखलढुंगा, उदयपुर, सिन्धुली, रामेछाप, काभ्रेपाञ्चोक र सिन्धुपाल्चोक जिल्लामा तीन सय ३५ किलोमिटर लम्बाइ छ । तेस्रोे खण्ड नुवाकोट, धादिङ, गोरखा र लम्जुङ जिल्लामा दुई सय ६० किलोमिटरमा फैलिएको छ । चौथो खण्डमा कास्की, पर्वत, बागलुुङ जिल्लामा दुई सय ४५ किलोमिटर फैलिएको छ । त्यसैगरी, रुकुुमपूर्व, रुकुुम पश्चिम, जाजरकोट, दैलेख र अछाम जिल्लामा चार सय १० किलोमिटर सडक फैलिएको छ ।
 

प्रकाशित: १८ मंसिर २०७६ ०३:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App