१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सामाजिक सुरक्षा भत्ता लिन दुई दिन पैदल

डडेल्धुरा- बैंंक मार्फत सामाजिक सुरक्षा भत्ता वितरणपछि जेष्ठ नागरिकलाई समस्या उत्पन्न भएको छ। बैंकहरु सदरमुकाम केन्द्रित हुने भएकाले रकम झिक्न दुई दिनसम्म पैदल हिड्नु पर्ने समस्या छ। ग्रामीण गाउँवस्तीमा सडक छैन। गाउँवस्तीमा र्बैंक पनि छैनन्। सरकारले उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ता दिन जेष्ठ नागरिक बुढापाकाले दुई दिनसम्म पैदल हिड्नु पर्ने बाध्यता डडेल्धुरामा छ।

भित्रिमधेश जोगबुडाको परशुराम नगरपालीकामा सामाजिक सुरक्षा भत्ता लिनेहरुले दुई दिन पैदल हिड्नु पर्ने बाध्यता छ। सामाजिक सुरक्षा भत्ता वितरण गर्ने जिम्मेवारी लिएको ग्लोबल आईएमई शाखा जोगबुडा लाल ढुंगाबजारले वडा कार्यालयमा नगई नगरपालीका सदरमुकाममै वितरण गरिरहेकाले सामाजिक सुरक्षा भत्ता लिनेहरुले सास्ती भोग्नु परेको हो।

परशुराम नगरपालीका ८ आईडुंग्राका मौर सिंह साउँदलाई जेष्ठ नागरिक भत्ता लिनका लागि दुई दिनको पैदल बाटो हिड्न पर्दछ। जेष्ठ नागरिक भत्ता लिनका लागि आउँदा साउँदले घरबाट आएर बाटोमै एक दिनको बास बसी परशुराम नगरपालीका सदरमुकाम लालढुंगा स्थित ग्लोबल आईएमई बैंकमा पुग्छन्।

दुई दिनमा बैंक पुगिन्छ। ७२ बर्षे साउदले भने, बैंकमा पुगेपछि पनि लाईनमा बस्नु पर्छ। एक दिन जसो त बैंकमा नै लाग्ने भएकाले घर आउजाउ गर्न मै पाँच दिन लाग्छ। सरकराले भत्ता त दियो तर लिन समस्या नै रहेकाले सहज गरिदिन उनको आग्रह छ।

यसैगरी वडा नम्वर १० जोजलाकी उजली ओखडालाई जेष्ठ नागरिक भत्ता लिनका लागि नगरपालीका सदरमुकाम पुग्न ६ घण्टा पैदल हिड्नु पर्ने बाध्यता रहेको छ। उनिहरु मात्रै नभई नगरपालीकाका अधिकांश वडाका सामाजिक सुरक्षा भत्ता लिनेहरुको समस्या यस्तै हो। परशुराम नगरपालीकाका अधिकांश वडाका गाउँमा यातायातको पहुँच नभएकाले पनि सामाजिक सुरक्षा भत्ता लिनका लागि नगरपालीका सदरमुकामसम्म पुग्न पैदलै हिड्नु पर्ने बाध्यता रहेको छ।

बैंकहरुले सामाजिक सुरक्षा भत्ता दिनका लागि सहज नगर्दा जेष्ठ नागरिकहरुले दिनभर जसो लाईनमै बस्नु पर्ने अर्काे समस्या छ। नगरपालीका सदरमुकामसम्म आउन समस्या भएकाले सामाजिक सुरक्षा भत्ताको रकम वडा कार्यालयबाटै वितरण गरि दिन उनिहरुको आग्रह छ।

वडामै गएर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने मौखीक सहमति भएपनि कागजी रुपमा सम्झौता नगर्दा अहिले ग्लोबल आईएमई बैक शाखा लालढुंगाले नगरपालीका सदरमुकाममै सामाजिक सुरक्षा भत्ताको रकम वितरण गरिरहेको छ। बैंकलाई कारवाही गरेर भए पनि अबको चौमासिकमा वडा कार्यालयमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने योजना रहेकोे पर्शुराम नगरपालीका प्रमुख प्रशासकीय अधिकृत तारानाथ पनेरुले बताए।

सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको ग्लोबल वैंक शाखाले सुरक्षा सहितका विभिन्न कारण देखाउँदै रकम वितरणका लागि वडा कार्यालयमा गएको छैन। वडा कार्यालयमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने, सम्झौता गर्ने, वितरण गर्दा वडा कार्यालयमा नजाने, बैंकहरुलाई कारवाहीको दायरामा ल्याई वडा कार्यालयमै सामाजिक सुरक्षा भत्ता वितरण गर्नका लागि सरोकारवाला निकायले पहल गर्नु आवश्यक भएको जेष्ठ नागरिकको माग छ।

प्रकाशित: १७ मंसिर २०७६ ०८:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App