१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

साग उद्घाटनको शान

काठमाडौँमा आइतबार साँझ १३औँ दक्षिण एसियाली खेलकुद (साग) को उद्घाटन सभ्यमात्र हैन, भव्य पनि भएको छ। दुई दशकपछि नेपालमा आयोजित यो प्रतियोगिता वास्तवमै आमदर्शकका लागि रुचिपूर्ण बन्यो। रुचिपूर्ण यस अर्थमा कि यो समारोहलाई आकर्षक बनाउन आयोजकले अपनाएका प्रस्तुति त प्रशंसालायक थियो नै, साथै त्यस क्रममा प्रयोग भएका प्रविधि पनि उत्कृष्ट थियो। प्रस्तुति र प्रविधिलाई प्रतिनिधित्वले समेत साथ दिएपछि यो समारोह नेपालीले गर्व गर्न लायक बन्न पुगेको हो।

नेपाली राष्ट्रिय धूनमात्र हैन, लोक बाजा, सांस्कृतिक झाँकी, अनि नेपाल चित्रण गर्ने भाकाहरू टेलिभिजन सेटहरूले कोठा–कोठामै पु-याइदिएका थिए। त्यसैगरी नेपाल, यहाँका प्रसिद्ध मन्दिर आदिका मानव आकृतिले पनि दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गरेका थिए। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका पृथक प्रस्तुतिले पनि समारोहको उचाइ थप्न बल प्रदान गरेका थिए। सोझो अर्थमा भन्नुपर्दा सागको उद्घाटन समारोह सबै हिसावले उत्कृष्ट रह्यो। जुन नेपालीका लागि गर्वको विषय हो।

वास्तवमा नेपाल र नेपालीका केही विशेषता विश्वसामु प्रकट हुँदै आएका छन् बेलाबखत। खासगरी आन्तरिक राजनीतिक खट्पटका बेला अन्तिम समयमै किन नहोस्, त्यसलाई आफैँ समाधान गरेर अघि बढ्ने, अनि आइपरेका बेला राष्ट्रका सबै चक्षु प्रयोग गरेर भए पनि विश्व चकित पार्ने गरी त्यसलाई सम्पन्न गरिछाड्ने जस्ता काम नेताहरूले गर्दै आएका छन्। गणतन्त्र घोषणा, माओवादी सेना समायोजन र संविधान घोषणाका बेला अपनाइएका चातुर्य र तत्परता यसका केही ज्वलन्त उदाहरण हुन्। जसले नेपाली नेतालाई सक्षमको पगरी गुथाउन सघाएका छन्।

केही समयअघि मात्र भएको चिनिया राष्ट्रपतिको भ्रमणका बेला पनिनेपालले ससानो जादु नै गरेको भन्दा अत्युक्ति नहोला। रातारात पिचमाथि पिच गरेर भए पनि, खाली चौरलाई वर्षौँदेखि संरक्षित बगैँचा जस्तो बनाएर भए पनि अर्थात अतुलनीय सरसफाइ र तुल ब्यानरले फोहोर छोपेर भए पनि त्यतिबेला गरिएका कामलाई सबै जनताले वाहवाहीकै पंक्तिमा सजाएका थिए। नेपाली जनताले बारम्बार नेताहरू, खासगरी सत्तासीनहरूलाई यही जागरुकता कायम राख्न आग्रह गर्दै आएका थिए विकास निर्माणका क्षेत्रमा।

यतिबेला साग उद्घाटनका क्रममा आयोजक अर्थात सरकारीतवरबाट भएको तयारी र प्रदर्शन गरिएको उच्च कलाले फेरि पनि नेपाल चाहँदा जे पनि गर्न सक्छ भन्ने सन्देश प्रभावित भएको छ। कुनैबेला अन्यत्रको यस्तै उद्घाटन कार्यक्रममा देखिएका तर हाम्रोचाहिँ सपनामात्र ठानिएका यस्ता प्रस्तुतिले वास्तवमै नेपाल र नेपालीको आत्मविश्वास बढाउने काम गरेको छ। अनि तयारी राम्रो भयो र समन्वय चुकेन भने सफलता हात लाग्दोरहेछ भन्ने सन्देश पनि छाडेको छ यो समारोहले।

एकातिर भूकम्पले क्षत्विक्षत् तुल्याएको रंगशाला, अर्कोतिर कछुवा शैलीको पुनर्निर्माण गति। त्यसैले साग खेलकुद निरश हुने प्रशस्त शंका गरिँदै आएको थियो, खासगरी खेल क्षेत्रका विज्ञहरूबाट। तर रातारात काम गरेर, सँगै तयारीलाई पनि जारी राखेर सम्बन्धित निकायहरूले जुन तदारुकतासाथ काम गरे, त्यसैको उपलब्धि मान्न सकिन्छ यो उदाहरणीय समारोहलाई। जसले नेपालीको क्षमता पुनः एकपटक उजागर हुने मौका पाएको छ भने राम्रो काम गर्दा प्रशंसा पनि पाइने पाठसमेत दोहोरिएको छ।जसलाई आगामी दिनमा पनि सबै पक्षले अनुशरण गर्न आवश्यक देखिन्छ।

नेपाल सन् २०२० लाई भ्रमण वर्षका रूपमा मनाउँदैछ। त्यसैले पनि नेपालमा हुने यस्ता प्रतियोगिता, सम्मेलन, समारोह आदिको प्रभावकारिता पर्यटकका लागि गतिलो मापक हुन सक्छ। यस्ता कार्यक्रमलाई अनुकरणीय र प्रभावी बनाउनुपर्ने चुनौती यही कारण पनि नेपाली पक्षलाई छ। जुन चुनौतीको सामनामात्र हैन, उपलब्धिमूलक सामना गरेर नेपालले विश्व रंगमञ्चमा आफ्नो भ्रमण वर्षको पूर्वसन्ध्यामा राम्रो सन्देश प्रशारण गरेको छ। जसले आगामी दिनमा नेपाल आउन चाहनेलाई पक्कै पनि रुचि बढाउनेछ।

सागको उद्घाटन जसरी राम्रोसँग हुन सक्यो, यसअन्तर्गत हुने सबै खेल पनि निष्पक्ष, विवादरहित र सर्वस्वीकार्य हिसावले हुन सक्यो भने त्यसले हाम्रो साख बढाउन थप मद्दत गर्छ। त्यसैगरी यो खेलकुदका क्रममा नेपालमा रहेका विदेशी खेलाडी, दर्शक, प्रशिक्षकलगायत सबैलाई नेपालीले गर्ने व्यवहारले पनि हाम्रो प्रतिष्ठा बढाउन सघाउँछ। त्यसैले ‘अतिथि देवो भवः’ को मूल मर्मलाई आत्मसात गर्दै अघि बढ्ने हो भने हामी भ्रमण वर्षले लक्षित गरेको गन्तव्य चुम्न अवश्य सक्छौँ। किनकि साग उद्घाटनले हामीलाई दिएको सबैभन्दा महŒवपूर्ण उपलब्धि पनि यही मनोबल हो। मात्र नेतृत्वमा इच्छाशक्ति भए पुग्छ।

प्रकाशित: १७ मंसिर २०७६ ०५:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App