१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

यसरी तोकिन्छ नेपालमा सुनको मूल्य

काठमाडौं– हरेक दिन बजारमा सुनको मूल्य थपघट भइरहेको हुन्छ । केही दिनदेखिको ‘ट्रेन्ड’ हेर्ने हो भने सुनको मूल्य घट्दो क्रममा छ । हरेक दिन परिवर्तन भइरहेको सुनको मूल्य कसरी तोकिन्छ त ? धेरै उपभोक्तालाई यसको जानकारी नहुन सक्छ । त्यही जिज्ञासा मेटाउने प्रयास यहाँ गरिएको छ ।
नेपालमा सुनको मूल्य निर्धारण गर्न ‘सुनचाँदी दर निर्धारण समिति’ छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्य समितिको संयोजक छन् । उनी सहितको ५ सदस्यीय समितिले हरेक दिन सुनचाँदीको मूल्य निर्धारण गर्ने शाक्यले बताए । समितिमा शाक्यबाहेक उपत्यकाबाहिर पूर्व, मध्य र पश्चिमलाई आधार बनाएर सदस्य राखिएको छ । प्रत्येक सदस्यले आ–आफ्नो क्षेत्रबाट त्यहाँको माग र वितरणको रिपोर्ट दिन्छन् ।

अन्तर्राष्ट्रिय बजार मूल्यलाई नेपाली रुपैयाँमा रुपान्तरण गरेपछि सुन आयातमा लाग्ने भन्सार दर तथा बैंक र सुन व्यवसायीको नाफा जोडेर मूल्य तोकिन्छ

हरेक दिन विहान ११ बजेसम्म नेपाली बजारमा सुनको मूल्य निर्धारण भइसक्छ । ‘हामी विहान १० बजेदेखि ११ बजेसम्म मूल्य निर्धारण गर्न सक्रिय हुन्छौं,’ समिति संयोजक शाक्यले भने, ‘विहान ११ बजेसम्म सबै व्यवसायीलाई हरेक दिनको मूल्य जानकारी गराइसक्छौं ।’ त्यसरी तोकिएको मूल्य विहान ११ बजेसम्म उपत्यकामा स्लिप वा एसएमएस मार्फत प्रत्येक व्यवसायीलाई जानकारी गराउने शाक्यले बताए ।
समितिले नेपाली बजारमा सुनको मूल्य कसरी निर्धारण गर्छ त ? समितिका संयोजक शाक्य भन्छन्, ‘नेपालमा सुनको मूल्य निर्धारण गर्दा मुख्यतः चारवटा पक्षले भूमिका खेलेका हुन्छन् ।’ पहिलो हो– अन्तर्राष्ट्रिय बजार मूल्य, दोस्रो– अमेरिकी डलरको विनिमय दर, तेस्रो– नेपालको भन्सार महसुल दर र चौथो– बैंक र सुन व्यवसायीको नाफा ।
नेपालमा सुनको मूल्य निर्धारण गर्न सबैभन्दा ठूलो भूमिका अन्तर्राष्ट्रिय बजारमा भइरहेको कारोबारमा भर पर्छ । अन्तर्राष्ट्रिय बजारमा छिनछिनमा सुनको मूल्य परिवर्तन भइरहन्छ । विभिन्न अनलाइन माध्यमबाट शाक्यले त्यसको जानकारी लिइरहेका हुन्छन् । अमेरिकाको न्युयोर्कबाट सुनचाँदी मूल्यको जानकारी गराइरहने र किट्को डट कम, ब्लुमबर्ग डट कम, गोल्डप्राइस डट कम जस्ता अनलाइन हेरेर अन्तर्राष्ट्रिय बजारको मूल्य जानकारी लिने शाक्यले बताए । आइतबार नेपालमा सुनको मूल्य निर्धारण गर्दा किट्को डट कममा प्रतिऔंस ११६०.६० डलर मूल्य थियो ।   
सुनको मूल्य परिवर्तन भइरहने अर्को कारण हो– अमेरिकी डलरको सटही दर । अमेरिकी डलरको विनिमय दर दिनहुँ परिवर्तन भइरहन्छ । नेपाली रुपैयाँको अमेरिकी डलरसँगको सटही दर र अन्तर्राष्ट्रिय बजारमा रहेको सुन मूल्यको हिसाब गरिन्छ । आइतबार नेपाली बजारमा सुनको मूल्य निर्धारण गर्दा अमेरिकी एक डलरको मूल्य १०८.२५ रुपैयाँ रहेको थियो ।
अमेरिकी डलरसँग नेपाली रुपैयाँको विनिमय दर हिसाब गरेर निकालेको मूल्यमा सुनको भन्सार दर जोडिन्छ । शाक्यका अनुसार भन्सार दर प्रतितोला ४ हजार ९ सय र प्रति १० ग्राम ४ हजार २ सय रुपैयाँ छ । त्यसमाथि थप एक प्रतिशत नाफा राखेर नेपाली बजारमा सुनको मूल्य निर्धारण हुने गरेको शाक्यले जानकारी गराए । उनका अनुसार एक प्रतिशत भनेको प्रतितोला ६ सय रुपैयाँ हो ।  
नाफाको रुपमा राखिएको एक प्रतिशतमध्ये बैंकलाई आधा र सुन व्यवसायीलाई आधा प्रतिशत भाग लगाइन्छ । कहिलेकाहिँ माग र आपूर्ति कस्तो छ यसको आधारमा पनि भाउ तलमाथि पर्न सक्छ । शाक्यका अनुसार कम सप्लाई भएको बेलामा सवादेखि डेढ प्रतिशतसम्म नाफा जोड्न गरिएको छ । सप्लाई बढी भएको बेला नाफा कम राख्ने गरेको उनी बताउँछन् । यसरी निर्धारण भएको सुनको मूल्यमा गरगहना अनुसार कालिगढको ज्याला, जर्ती लगायत अन्य मूल्य जोडेर गहनाको मूल्य निर्धारण गरिन्छ ।
अन्तर्राष्ट्रिय बजारमा छिनछिनमा सुनको मूल्य निर्धारण हुने भए पनि नेपालमा भने दिनको एकपटक मात्र हुने गर्छ । अब दिनको एकपटक मात्र गरेर नहुने शाक्य बताउँछन् । ‘अब दिनको दुईपटक मूल्य निर्धारण गर्न आवश्यक छ,’ शाक्य भन्छन्, ‘केही दिनअघि मूल्यमा ठूलो परिवर्तन भएपछि दुईपटक निर्धारण गरिएको थियो ।’ विहानदेखि बेलुकासम्ममा मूल्य परिवर्तन भइसक्ने भएकाले नेपालमा पनि दुईपटक मूल्य निर्धारण गर्न आवश्यक भएको उनी बताउँछन् ।   
बक्स
एकै दिन ४ सयले घट्यो मूल्य
निरन्तर ओरालो लागेको सुनको मूल्य आइतबार एकै दिन ४ सय रुपैयाँ घटेको छ । शुक्रबार प्रतितोला ५३ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार ५२ हजार ६ सय रुपैयाँमा कारोबार भयो ।
मंसिरको पहिलो दिन प्रतितोला ५५ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य निरन्तर घटिरहेको छ ।
पछिल्लो समय लगानीका अन्य क्षेत्र मजबुत हुँदा सुनको मूल्यमा गिरावट आइरहेको छ । अमेरिकी डलर मजबुत भइरहनु, स्टक मार्केट मजबुत हुनु, रोजगारी वृद्धि हुुनुका साथै अमेरिकी संघीय बैंकको ब्याजदरमा वृद्धि हुनाले सुनमा लगानी घटेकाले सुनको मूल्यमा गिरावट आएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार बजार खुल्दा सुन प्रतिऔंस ११६०.६० अमेरिकी डलर रहेको थियो । यस दिन एक अमेरिकी डलर १०८.२५ रुपैयाँमा सटही भएको थियो । यसअघि २०७२ चैत २२ र २३ गते छापावाल सुन प्रतितोला ५३ हजार ८ सय रुपैयाँमा कारोबार भएको अभिलेख महासंघसँग छ । गत साउनमा भने १० महिनाकै सबैभन्दा धेरै ५९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित: २७ मंसिर २०७३ ०५:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App