१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सुदूरपश्चिममा उपनिर्वाचन हिसावः कांग्रेसको गुम्यो सिट

धनगढी– सुदुरपश्चिमका पाँच जिल्लामा ७ वटा स्थानीय तहमा वडा अध्यक्षका  लागी भएको उप–निर्वाचनमा नेपाली कांग्रेसले एक सिट गुमाएको छ। यसअघिको निर्वाचनमा नेपाली कांग्रेसले जितेका दुई सिटमा नेकपाले जितेको छ भने नेकपाले जितेको एक ठाउँमा नेपाली कांग्रेस विजयी भएको छ। समग्रमा उपनिर्वाचन भएका ७ वडा अध्यक्षमा यसअघिको निर्वाचनमा तत्कालिन नेकपा एमालेले ४ र नेपाली कांग्रेसले ३ वडामा जितेकोमा अहिले उपनिर्वाचनमा नेकपाले ५ वडामा र नेपाली कांग्रेसले २ वडामा जित हात पारेको हो। यी मध्ये नेकपा अछाम र बाजुरामा यसअघि काँग्रेसले जितेका दुई स्थानमा अहिले विजयी भएको हो।

बैतडी जिल्लामा भने नेकपाले १ सिट गुमाएको छ। बैतडीमा जिल्लामा ३ वडामा वडा अध्यक्षका लागि उपनिर्वाचन भएको थियो। यसअघि निर्वाचनमा २ वडामा नेकपा एमाले र १ मा नेपाली कांग्रेसले जितेको थियो। बैतडीको दोगडाकेदारमा नेपाली कांग्रेसले नेकपाको सिट खोसेको हो। यसअघि नेकपा एमाले विजयी भएको दोगडाकेदारÞ–४ मा कांग्रेसका सुरेन्द्रप्रसाद भट्ट विजयी भएका छन्। भट्टले ५ सय ८४ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्धी नेकपाका नरेन्द्रप्रसाद भट्टले ४ सय ८४ मत प्रप्त गरे।

यसैगरि बैतडीकै सूर्यना गाउँपालिका–१ मा कांग्रेसकै गजेन्द्रबहादुर चन्द विजयी भए। सुर्नया–१ मा चन्दले २ सय १९ मत प्राप्त गरे भने उनका प्रतिद्धन्द्धी नेकपाका धनबहादुर चन्दले दुई सय १५ मत पाएका छन्।

बैतडीको पुर्चौडी नगरपालिका–४ मा नेकपाका शैलेन्द्र धानुक विजयी भएका छन्। धानुकले ६ सय ६३ मत प्राप्त गरे भने उनका प्रतिद्वन्दी कांग्रेसका गोबिन्द बहादुर धामीले ५ सय ५८ मत प्राप्त गरे।

अछाम जिल्लाको मेल्लेख गाउँपालिका वडा नम्बर ५ र बाजुराको त्रिवेणी नगरपालिका १ गत वर्ष भएको निर्वाचनमा नेपाली काँग्रेसले जितेकोमा अहिले नेकपाका उम्मेदवार विजयी भएका हुन्। मेल्लेख गाउँपालिका–५ मा नेकपाका रमेशबहादुर खड्का र त्रिवेणी १ मा मनराज बुढा  विजयी भएका छन्। खड्काले ७ सय ७८ मत प्राप्त गरे भने उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका बीर बहादुर बोहराले ५ सय ६३ मत प्राप्त गरे।

यस्तै त्रिवेणी १ का बुढाले तीन सय ६७ मत प्राप्त गरे भने उनका प्रतिद्धन्दी काँग्रेसका खगेन्द्र चदाराले ३ सय ४७ मत पाएका छन्। कञ्चनपुरको पुनर्वास नगरपालिका– ३ मा कृष्णबहादुर तामाङ बिजयी भएका छन्। उनले ५ सय २८ मत प्राप्त गर्दा उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका दिलबहादुर तामाङले ३ सय १० मत पाएका छन्।

आदर्श गाउँपालिका–२ डोटीमा नेकपाकै रामबहादुर बोहरा विजयी भएका छन् उनले ६ सय ६८ मत प्राप्त गरे भने उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका महादेव साउँदले ६ सय ५६ मत प्राप्त गरेका छन्।

बैतडीको पुर्चौडी नगरपालिका–४ का तत्कालिन अध्यक्ष गौतमप्रसाद भट्ट, सुर्नया गाउँपालिका १ का तत्कालिन अध्यक्ष कलशबहादुर चन्द र दोगडाकेदार गाउँपालिका वडा नम्बर ४ का तत्कालिन अध्यक्ष मानबहादुर विष्टको मृत्यु भएकाले उपनिर्वाचन भएको हो।

यस्तै डोटीको आदर्श गाउँपालिका वडा नम्बर २ का तत्कालिन अध्यक्ष पदमसिंह बोहरा, अछामको मेल्लेख गाउँपालिका वडा नम्बर ५ का तत्कालिन अध्यक्ष रामबहादुर लन बोहरा र बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर १ का तत्कालिन अध्यक्ष खम्म दमाईको पनि मृत्यु भएकाले उपनिर्वाचन भएको हो। त्यसैगरी पुनर्वास ३ का वडाध्यक्ष फैरु तामाङ जिल्ला समन्वय समितिको प्रमुख निर्वाचित भएकाले उपनिर्वाचन भएको हो।

प्रकाशित: १६ मंसिर २०७६ ०९:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App