१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

नेपालमा सवा २ अर्ब थान नोट, चार खर्ब १९ अर्ब चलनचल्तीमा

इलाम– नेपालमा चार खर्ब १९ अर्ब रुपैयाँ बराबरका नेपाली नोट प्रचलनमा रहेको एक तथ्यांकले देखाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको मंसिरसम्ममा २ अर्ब ११ करोड ७५ लाख ६० हजार थान नोट कारोबार क्रममा छन् ।
बजारमा पाँच रुपैयाँका नोट कम भएको सर्वसाधारणले बताउने गरे पनि बैंकले भने यही दरका नोट सबैभन्दा बढी २१.६ प्रतिशत रहेको जनाएको छ । अहिले पाँच रुपैयाँ दरका ४५ करोड ४६ लाख ३८ हजार ७ सय ८३ थान नोट चल्तीमा छन् । २ सय ५० दरका नोटको संख्या सबैभन्दा कम छ । यो दरका ३५ लाख ६१ वटा नोटमात्र रहेको बैंकको मुद्रा व्यवस्थापन विभागका उपनिर्देशक नीरकाजी शाक्यले जनाए ।

राष्ट्र बैंकका अनुसार १ रुपैयाँ दरका १६ करोड ११ लाख ६० हजार ३ सय २९, दुई रुपैयाँ दरका ९ करोड २९ लाख ४० हजार ८ सय ८३, दस रुपैयाँ दरका ३६ करोड १७ लाख ६४ हजार ५०, बीस रुपैयाँका २२ करोड ७ लाख ५ हजार दुई सय १७ र पच्चीस रुपैयाँ दरका २३ लाख २ हजार ८ सय ८ वटा नोट चलनचल्तीमा छन् । २५ र दुई सय ५० दरका नोट चाहिँ गन्न र हिसाब राख्न अप्ठ्यारो देखिएकाले प्रचलनमा आउनै छाडेको उनले बताए । ‘गनेर बन्डल बनाएर राख्न र हिसाब मिलाउन पनि अड (अप्ठ्यारो) भएकाले २५ र दुई सय ५० दरका नोट व्यावहारिक रूपमा प्रभावकारी भएनन्,’ उनले भने, ‘अहिले यी नोटको कारोबार ज्यादै कम छ ।’

५० दरका १६ करोड ७२ लाख ७२ हजार ८ सय ५८, सयका १७ करोड २ लाख ३४ हजार ८ सय ६३, पाँच सयका १९ करोड ८७ लाख ९० हजार १५ र हजार दरका २८ करोड ३४ लाख ७ सय ९७ वटा नोट अहिले चलनचल्तीमा रहेको बैंकको तथ्यांक छ । विभागका अर्का उपनिर्देशक रुद्रबहादुर घिमिरेले एक र दुई रुपैयाँ दरका नोटको छपाइ बन्द गरिएको बताए । उनका अनुसार नेपालमा नोट छपाइ हुँदैन । विदेशमा छपाउँदा एउटा नोट छाप्न अहिले करिब दुई रुपैयाँ खर्च हुने गरेको छ । ‘ग्लोबल टेन्डरमा छापिने भएकाले नोटको मूल्यभन्दा छपाइ महँगोसमेत पर्न जान्छ,’ उनले भने, ‘तर, पहिला ८ रुपैयाँ प्रतिनोटसम्म थियो, अहिले सस्तो भएको हो ।’
नेपाली नोट नेपालमै छाप्ने व्यवस्था मिलाउन बढी लगानी हुने भएकाले विदेशमै छाप्नुपरेको बैंकले जनाएको छ । ‘विदेश लगेर १५ दिन छपाइ गर्दा करिब ३ वर्षलाई नोट पुग्छ,’ उपनिर्देशक घिमिरेले भने, ‘थोरै नोट चलनमा रहने हाम्रो देशमा आफ्नो मात्रै नोट छाप्ने गरी मेसिन राख्न महँगो पर्छ, कि त अन्य देशको नोटसमेत यहीँ छाप्ने पहुँचमा हामी पुग्नुपर्छ ।’
नेपाली नोट प्राविधिक पक्षले पनि निकै बलियो र सुरक्षित रहेको बैंकको दाबी छ । बैंकका अनुसार अहिलेको नेपाली नोट कपासको कागजबाट बनेको छ । यसमा देख्न सकिने फ्लोरोसेन्स, सूक्ष्म अक्षर, फोस्फोरेन्ट ब्लक, लाटेन्ट इमेज, कुँदेको फिट मेडल, पिक विशेषता, इरिडिसेन्ट रङ, फोर कर्नर, दृष्टिविहीनसमेतले चिन्न सक्नेजस्ता सुरक्षित विशेषता छन् । जाली नोट बनाउने गिरोहले सजिलै नक्कल उतार्न नसकोस् भन्ने उद्देश्यले निकै ध्यान पु¥याएर नोट छपाइ गरिएको शाक्यले बताए । कपासले बनेको, पानीछाप तस्बिर, सुरक्षा धागो, सगरमाथाको चित्र, सुकीछाप, बैंकको लोगोलगायत विशेषता सबै नेपाली नोटमा रहेको उनले जनाए ।
नोट सुरक्षाका लागि बैंकका कर्मचारीमात्र होइन, सबै प्रयोगकर्ता सजग हुनुपर्ने उनको भनाइ छ । फ्लोरोसेन्स, सूक्ष्म अक्षर, पानीछाप तस्बिर लगायतबाट जाली र सक्कली नोट पहिचान गर्न सकिने बैंकले जनाएको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले आइतबार सदरमुकाममा ‘सफा नोट नीति एवं नोटकोष सञ्चालन’सम्बन्धी अन्तक्र्रिया आयोजना गरी नोटबारे जानकारी गराएको थियो । कार्यक्रममा देशका विभिन्न जिल्लामा रहेका राष्ट्र बैंकका प्रबन्धक तथा कर्मचारी सहभागी थिए ।
नेपालमा २००२ साल असोज १ गतेदेखि कागजी नोट प्रचलनमा आएको हो । त्यतिबेला सय, १० र पाँच रुपैयाँ दरका नोट छापिएपछि २०१६ साल फागुनमा मात्र अन्य नोटको दर र संख्या बढाइएको थियो । नोटमा हस्ताक्षर गर्ने पहिलो खजाञ्ची जनक राज हुन् । नेपालमा २०२६–२७ सालतिर पहिलोपटक जाली नोट फेला परेको थियो । त्यसबेला फेला परेको जाली नोटमा यादवप्रसाद पन्तको हस्ताक्षर दुरुपयोग गरिएको थियो ।


 

प्रकाशित: २७ मंसिर २०७३ ०५:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App