२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

२० लाखको सडकले १० करोडको क्षति

बिथ्डचिर गाउँपालिकाको डुग्रीमा प्रदेशको योजनाबाट सडक कटानले पहिरोमा परिणत भएको जयपृथ्वी राजमार्ग। तस्बिर:जगत खड्का/नागरिक

बझाङ - तीन तहका सरकारले कार्यकर्तामुखी बजेट बनाएर विकासका नाममा जथाभावी डोजर लगाउँदा जयपृथ्वी राजमार्ग सडक कटानको जोखिममा परेको छ। सडक कटानको माटोले राजमार्गमा पहिरो लाग्न थालेपछि जिल्लाको एक मात्र यो राजमार्ग संकटमा परेको हो। पहिरोका कारण राजमार्गमा सवारीसाधन दुर्घटनाको जोखिम पनि बढेको छ।

विकासका नममा कार्यकर्तालाई पैसा कमाउ भन्ने नीति देखिएको छ। २० लाखको सडक कटानले जयपृथ्वी राजमार्गमा माथिबाट पहिरो आएर १० करोडभन्दा बढीको क्षति एकै ठाउँमा देखिएको छ। सडकभरि खाल्डाखुल्डी र ढुग्गा जम्मा भएर पिच गरेको सडक सुक्खा पहिरोमा परिणत हुँदा दैनिक पहिरो हटाउँदै सवारीसाधन गुडाउनुपर्ने भएकाले दुर्घटनाको त्रास बढेको यातायात व्यवसायी डम्बर पन्थको भनाइ छ।

उनले भने, ‘जयपृथ्वी राजमार्गमा मनोमानि सडक कटान भइरहेको छ। सडक काट्ने ठाउँमा निरन्तर माटो खसिरहेको छ। नेताको निर्देशनमा डोजर चालकले सडक निर्माण गरिरहेको छ।’ गाउँपालिका र नगरपालिकामा डोजर आतंक रोक्नुपर्ने उनको भनाइ छ। एक करोडभन्दा मुनिका योजनामा डोजर प्रयोग गर्न नपाउने नीति भए पनि यसविपरित डोजर प्रयोग गरिएको उनको गुनासो छ।

जथाभावी सडक कटानका कारण जयपृथ्वी राजमार्गमा पहिरोसँगै सवारीसाधन दुर्घटनाको जोखिम बढेको छ।

जयपृथ्वी राजमार्गको सुनकुडा, देउलेक, धारी, देउरा, जुइल, मोरी, भाडे, भयागुते, परिगाल, सुवेडा, कचाली, देवल, चौडलगायत ठाउँमा राजमार्गमाथि बिना स्टिमेट सडक कटान गरिएकाले सुक्खा पहरिो जोखिम बढेको नागरिक समाजका अगुवा धर्मजङ सिहंले बताए।

‘मनोमानि सडक कटानमा थलाराको तोली, छान्नाको पाटादेवल, वडाकोट, खेती, डुग्री, अफला, मालुमेला, चुवावनलगायत तीन सय ५० भन्दा बढी स्थानमा सडक कटानले पहिरो गएको छ,’ उनले भने, ‘४० भन्दा बढी परिवार विस्थापित र तीन सयभन्दा बढी परिवार पहिरोको उच्च जोखिममा पर्नुका साथै सात सय परिवारको खेतीयोग्य जमिन नोक्सान भएको छ।’ प्राविधिक स्टिमेटबिना मनोमानि रुपमा सडक कटान गरिँदा जिल्लाका विभिन्न ठाउँमा एक वर्षमा १५ सवारी साधन दुर्घटनामा परी २७ जनाको मृत्यु र ४१ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। बझाङमा १५ जना वडाध्यक्ष, गाउँपालिका अध्यक्ष र स्थानीय कर्मचारीले वडा र गाउँपालिकाको बजेटबाट डोजर खरिद गरी पैसा कामउँदै छन्।

प्रकाशित: १६ मंसिर २०७६ ०३:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App