१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

सुत्केरी ढुंगाको पुँजी दुई करोड ९२ लाख

खोटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेस्थित सुत्केरी ढुंगा साना किसान कृषि सहकारीको पुँजी दुई करोड ९२ लाख नाघेको छ। सामूहिक बचत गर्दै कृषिजन्य क्षेत्रमा लगानी गर्ने र किसानको आर्थिकस्तर उकास्ने लक्ष्यका साथ २०६९ मा स्थापना भएको सहकारीको पुँजी हालसम्म २ करोड ९२ लाख ४१ हजार पुगेको हो।

शनिबार सम्पन्न सातौं साधारणसभामा सहकारीका प्रबन्धक सर्वधन राईले आर्थिक वर्ष ०७५÷७६ मा सात लाख दुई हजार ६ सय ८४ रुपैयाँ खुँद नाफा आर्जन भएको प्रतिवेदन सार्वजनिक गरेका छन्। सेयर पुँजी १२ लाख आठ सय रहेको सहकारीले आव ०७५/७६ मा ३२ लाख ७२ हजार आठ सय ६४ आम्दानी भएकामा २५ लाख ७० हजार एक सय ८० रुपैयाँ खर्च भएको आय–व्याय प्रस्तुत गरिएको छ। खर्च कटाएर बाँकी रहेको खुँद मुनाफाको १५ प्रतिशत रकम सेयर धनीलाई सेयर लाभांश स्वरुप वितरण गरिएको सहकारीका अध्यक्ष किशोरकुमार श्रेष्ठले बताए।

अर्खौलेभित्रका ७० कृषि समूह तथा चार सय ९३ सदस्य संख्या पुगेको सहकारीले आफ्ना सेयर सदस्यलाई एक पटकमा बिनाधितो ८० हजारसम्म ऋण प्रवाह गर्दै आएको छ। सहकारीले १६ प्रतिशत ब्याजदरले लघुकर्जा, नौ प्रतिशतका दरले मासु तथा दुग्धजन्य कर्जा, १२ प्रतिशतका दरले सोलार कर्जा र नौ प्रतिशतका दरले तरकारी खेतीमा कर्जा प्रवाह गर्दै आएको छ। साधारणसभाले हालसम्म अर्खौले मात्र कार्यक्षेत्र भएको सहकारीको क्षेत्र हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेमा पनि विस्तार गर्ने निर्णय गरेको छ।

२०७५ सालमा मृतक राहतकोष खडा गरेको सहकारीले शेयर सदस्यको मृत्यु भए १० हजार र शेयर सदस्यको परिवारका सदस्यको मृत्यु भए ३ हजारका साथमा समवेदनापत्र लगायतका सामग्री लिएर घरैमा भेट्न जाने गरेको छ। सहकारीले ऋणको बीमा समेत सुरु गरेको छ। हालसम्म भाडाको घरबाट सञ्चालन हुँदै आएको सहकारीलाई आफ्नै कार्यालयमा सार्नका लागि भवन निर्माणको काम भइरहेको अध्यक्ष श्रेष्ठले बताए। सहकारीमार्फत हालसम्म कृषि सम्बन्धी ११ महिने तालिमका लागि दुई युवा इजरायल पुगेर फर्किसकेका छन्। प्रतिनिधिसभाका सांसद बिशाल भट्टराई, प्रदेशसभा सांसद राजन राई लगायतको उपस्थितिमा सहकारीको साधारणसभा सम्पन्न भएको हो।

प्रकाशित: १६ मंसिर २०७६ ०३:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App