१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बाँंसुरीमय सल्लाघारी मेला

भक्तपुर– भक्तपुरको सल्लाघारीमा जारी व्यापारिक मेला आइतबार बाँसुरीमय भयो । मेला क्रममा दिनभर मञ्चमा बाँसुरी गुञ्जायमान भएपछि मेला बाँसुरीमय भएको हो । मेलामा आइतबार बाँसुरीवादन प्रतियोगिता गरिएको थियो ।

मेलाका संयोजक राजुमृगेन्द्र जोशीले कला संस्कृतिमय भक्तपुरका कला, संस्कृति, परम्परा जोगाउन र सामाजिक उत्तरदायित्व वहन गर्दै बाँसुरीवादन गराइएको जनाए । उपत्यकास्तरीय बाँसुरीवादनमा जम्मा नौ टोलीले भाग लिएको आयोजकले जनाएको छ । भक्तपुर र मध्यपुर थिमीका विभिन्न बाँसुरीवादन टोली प्रतिस्पर्धामा सहभागी रहेको आयोजकले जनायो ।
मेला प्रचारप्रसार समितिका संयोजक न्हुछें मानन्धरले व्यापार व्यवसाय प्रवद्र्धन गर्नुका साथै परम्परा संस्कृति जीवन्त राख्न प्रतियोगिता गरेको जनाए । ‘भक्तपुरे संस्कृतिको एउटा प्रमुख पक्ष बाँसुरी पनि भएकाले त्यसलाई जोगाइराख्न बाँसुरीवादन प्रतिस्पर्धा आयोजना गरिएको उनको भनाइ थियो ।
प्रतियोगिता संयोजक गणेशहरि प्रजापतिले परापूर्वकालदेखि चल्दै आएको बाँसुरीवादन बचाउनु सबैको कर्तव्य भएकाले मेलामा बाँसुरीवादन पनि राखिएको बताए । ‘उपत्यकाव्यापी प्रतिस्पर्धाका रुपमा प्रचार गरिए पनि काठमाडौं र ललितपुरबाट प्रतियोगितामा कुनै टोली सहभागी भएनन्,’ उनले दुःख व्यक्त गर्दै भने, ‘अहिले बाँसुरी लोपोन्मुख अवस्थामा पुगेकाले पनि सहभागिता नभएको हुनसक्छ । उपत्यकाव्यापी प्रतियोगितामा भक्तपुरबाट ६ र मध्यपुर थिमीबाट ३ वटा टोलीको मात्रै सहभागिता थियो ।
प्रतियोगिताको निर्णायकमा डा निराजन राजभण्डारी, विष्णु कुसी, मुक्तिसुन्दर जधारी, श्रीगोपाल प्रजापति र रवि कपाली थिए । प्रतिस्पर्धीमध्ये उत्कृष्ट छनोट गरी पुरस्कृत गरिने आयोजकले जनाएको छ । उत्कृष्ट बाँसुरीवादक टोलीको नाम पछि घोषणा गरी मेला सकिएपछि पुरस्कृत गरिने आयोजकले जनाएको छ । विजेतालाई नगद पुरस्कार र प्रमाणपत्र दिने तर पुरस्कारको राशी अहिले टुंगो नलागेको आयोजकले जनायो ।
मध्यपुर थिमीको नगदेशबाट सहभागी टोली श्री सिद्धी गणेश झ्वापुननी बाँसुरी खल समूहका सदस्य एवं बासुरीवादक भाइजन बाडेका अनुसार बाँसुरीवादक टोलीमा कम्तीमा १२ देखि २२ जना रहन्छन् । उनका अनुसार टोलीका सहभागीमध्ये एक जनाले लालाखिं, एक जनाले पछीमा खिं, एक जनाले ता, एक जनाले बबुचा (झ्याली) बजाउँछन् भने बाँकी सबैले बाँसुरी । यसगरी १२ जनाको समूहमा ४ जनाले अरु बाजा बजाउँछन् भने बाँकी ८ जनाले बाँसुरी बजाउँछन् ।

 

प्रकाशित: २७ मंसिर २०७३ ०४:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App