१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बहुमत परीक्षणमा सफल भयो ठाकरे सरकार

नयाँ दिल्ली – नाटकीय रूपमा महाराष्ट्र सरकारको नेतृत्व गर्न पुगेका शिवसेना अध्यक्ष उद्धव ठाकरे नेतृत्वको ‘महा विकास अघाडी’ गठबन्धले विधानसभामा बहुमत पु-याएको छ। महाराष्ट्र विधानसभामा सबैभन्दा ठूलो दल भारतीय जनता पार्टी (भाजपा) बाहेकको सो गठबन्धन सरकारले एक सय ६९ जनाको समर्थन पाएको हो। महाराष्ट्र विधानसभामा दुई सय ८८ सदस्य रहेका छन्। बहुमतका लागि कम्तीमा एक सय ४५ सदस्य आवश्यक रहने भए पनि ठाकरे नेतृत्वको गठबन्धन सरकारले शनिबार भएको परीक्षणमा बहुमतभन्दा बढी मत पाएको हो।

बहुमत परीक्षणका लागि भएको मतदानलाई भारतीय जनता पार्टी (भाजपा) का सांसदहरुले भने बहिस्कार गरेका थिए भने चार सांसद तटस्थ रहे। भाजपा नेता देवेन्द्र फडणवीसले विधानसभामा बहुमत पु¥याउन नसक्ने भएपछि मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए।

सरकार बनाउन आवश्यक पर्ने एक सय ४५ सिट कुनै पनि दलले ल्याउन नसकेका कारण महाराष्ट्रमा सरकार बनाउने विषय अति नै पेचिलो बनेको थियो। एक सय पाँच सिट जितेर ठूलो दल बनेको भाजपा भने सरकारबाहिर बस्न बाध्य भएको छ। उता, चुनावी अभियानमा भाजपासँगै तालमेल गरेर प्रतिस्पर्धा गरेको शिव सेनाले ५६, राष्ट्रवादी काँग्रेस पार्टीले ५४ र भारतीय राष्ट्रिय काँग्रेसले ४४ स्थानमा जित हासिल गरेको थियो।

शिव सेनाले राष्ट्रवादी काँग्रेस र भारतीय कांग्रेसको समर्थनमा सरकार गठन गरेको हो। यो गठबन्धन सरकारको पक्षमा केही साना दल र स्वतन्त्र सांसदले पनि मतदान गरेका छन्। मुख्यमन्त्री बनेका उद्धव ठाकरेको सरकारमा रहने ४३ सदस्यीय मन्त्रीमण्डलमध्ये १५ शिवसेना, १६ राष्ट्रवादी कांग्रेस र १२ भारतीय कांग्रेसको भागमा परेको छ। यस्तै, उपमुख्यमन्त्री राष्ट्रवादी काँग्रेसको भागमा परेको छ भने विधानसभा अध्यक्ष राष्ट्रिय कांग्रेसले लिने सहमति भएको बताइएको छ।

सुरुमा अजित पवारले भाजपाका पूर्वमुख्यमन्त्री देवेन्द्र फडणवीससँग गठबन्धन गरेर उपमुख्यमन्त्रीको रूपमा गत नोभेम्बर २३ मा शपथ लिएका थिए। यद्यपि सो सरकार लामो समय टिक्न सकेन र ८० घण्टामा नै सरकार विघटन हुने पुग्यो।

त्यसपछि भाजपाबाहेकका दल मिलेर बनेको गठबन्धनको नेतृत्व गर्दै गत बिहीबार दक्षिणपन्थी दल शिव सेनाका संस्थापक अध्यक्ष बाल ठाकरेका छोरासमेत रहेका उद्धव ठाकरेले मुख्यमन्त्री पदको शपथ लिएका  हुन्। उनले २००२ मा बृहन मुम्बई म्युनिसिपल कर्पोरेसनको इन्चार्जबाट राजनीतिक जीवनको सुरुवात गरेका थिए। सन् २००३ मा शिव सेनाको कार्यकारी अध्यक्ष नियुक्त भएका उनले त्यसयता पार्टीको नेतृत्व गर्दै आएका छन्।

५९ वर्षीय ठाकरे मुख्यमन्त्री बन्नु अघिसम्म पार्टीको मुखपत्र ‘सामना’ को सम्पादक थिए। सम्पादकबाट राजीनामा दिएर उनी मुख्यमन्त्रीको शपथका लागि गएका थिए। मुख्यमन्त्री बन्नुअघि ठाकरे कुनै पनि संवैधानिक पदमा बसेका थिएनन्।

प्रकाशित: १५ मंसिर २०७६ ०४:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App