१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

बेल विवाह

नेवार कुलमा जन्मेकी छोरीको तीनपटक विवाह हुन्छ। तीनैपटक वर (पुरुष)सँग बिहे हुने होइन। रजस्वला हुनुअघि नै पहिलो बिहे गरिन्छ, भगवान् विष्णुको प्रतीक सुवर्णकुमारसित। यसलाई नेवार भाषामा इहि भनिन्छ। इहिपछि बाःराः तयेगु (गुफा राख्ने) गरिन्छ। यस क्रममा सूर्यदर्शन अर्थात् सूर्यसँग विवाह हुन्छ भने तेस्रोपटक वर (पुरुष) सँग विवाह हुन्छ। यद्यपि, सूर्यपूजा र दर्शन मात्रै गरिने, कन्यादान नगरिने हुँदा सूर्यदर्शनलाई विवाह होइन भन्ने मत पनि पाइन्छ। रजस्वला हुनुअघि नै सुवर्णकुमारसँग विवाह भइसकेको हुँदा पछि श्रीमान्को मृत्यु भए पनि नेवार महिलाले रङविहीन अर्थात् वैधव्य जीवन व्यतीत गर्नुनपर्ने मान्यता नेवार समुदायमा छ। कथंकदाचित नेवार युवतीको विवाह नै भएन भने, सुवर्णकुमारसँग विवाह भइसकेकाले विवाहित हुँ भनेर आफूलाई मनोवैज्ञानिक सान्त्वना दिने आधार पनि छ।

इहि
इहिको अर्थ विवाह हुन्छ। ‘हाम्रो समाज : एक अध्ययन’ पुस्तकमा जनकलाल शर्मा लेख्छन्, ‘नेवार समाजमा इहीको महत्व बढी देखिन्छ। इही एक प्रकारको विवाह नै हो। नेवारबाहेक नेपालका अन्य समाजमा इहीको चलन छैन। इहीको शाब्दिक अर्थ विवाह नै हुन्छ।’

यसैगरी, नगेन्द्र शर्मा आफ्नो पुस्तक ‘नेपाली जनजीवन’मा लेख्छन्, ‘इहीको शाब्दिक अर्थ बिहे हो। नेवार कन्याले सुवर्णकुमारसँग इही गर्नुपर्ने हुन्छ। इही भइसकेका नेवार्नीहरूले लोग्नेमान्छेसँग गर्ने बिहेको स्थान गौण नभए पनि एक सामाजिक अनुबन्धनका रूपमा मात्र रहेको देखिन्छ। यसैकारण पुनःविवाह गर्न चाहने नेवार्नीलाई परम्परागत स्वच्छन्दता प्राप्त हुन्छ।’

नेपाल प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित ‘नेवार–नेपाली–अङ्ग्रेजी शब्दकोश’मा इहिलाई विधवा भएर बस्नु नपरोस् भनेर गरिने विवाह भनेर अथ्र्याइएको छ। इहि नेवार समुदायका अरू धेरै संस्कारमध्ये एउटा अति महत्वपूर्ण संस्कार हो। इहि कन्यादानकै एक विधि पनि हो। विशेषगरी नेपाल संवत्अनुसार बछलाथ्व अक्षय तृतीया (वैशाखमा पर्ने) को अवसर पारेर कन्याको इहि गर्ने चलन छ। साइतअनुसार अरू बेला पनि गर्न सकिन्छ। सामान्यतः इहिको प्रक्रिया दुई दिनसम्म चल्छ। ठाउँअनुसार संस्कारमा भिन्नता हुन्छ, कतैकतै एक दिनमै इहि सम्पन्न गरेको पाइन्छ। इहि कार्य दिन–लगन जुराएर गर्नुपर्ने मान्यता छ। अक्षय तृतीया, श्रीपञ्चमी तथा विवाह पञ्चमीको दिनमा इहि गर्नका लागि साइत हेराउनु वा जुराउनुपर्दैन भन्ने मान्यता पनि छ।
रजस्वला हुनुअघि नै, विशेषगरी बिजोर उमेर (५, ७, ९, ११) पारेर नेवार कन्याको इहि गरिन्छ।

किंवदन्ती
इहिको चलन कसरी र कहिले भयो भन्ने कुनै लिखित प्रमाण पाइएको छैन। तथापि लिच्छविकालदेखि इहि संस्कारको सुरुवात भएको अनुमान गरिएको छ।

इहि संस्कारसम्बन्धी एउटा किंवदन्ती अनुसार, स्वस्थानी व्रतका प्रभावबाट भगवान् शिवलाई पतिका रूपमा पाई अखण्ड सौभाग्यवती भएकी माता पार्वतीले आफ्ना माइतीका चेलीले पनि आफूसरह अखण्ड सौभाग्यवती हुने अवसर पाऊन् भनेर वर मागिछन्। त्यसपछि भगवान् शिवले भगवान् विष्णुको प्रतीक सुवर्णकुमार (हिरण्य गर्भः)सँग कन्यावस्थामै विवाह गरे सदा सौभाग्यवती हुने वर दिएछन्। सोही समयदेखि नेपाल मण्डलका नेवारले भगवान् शिवको त्यही वचनलाई अनुसरण गरे। त्यही बेलादेखि कन्याहरूको विवाह भगवान् शिवको प्रतीक बेललाई भविष्यको वरको प्रतीकको रूपमा साक्षी मानी भगवान् विष्णुको प्रतीक सुवर्णकुमार (हिरण्य गर्भः) सँग गरिदिने चलन चल्यो। कालान्तरमा यही विवाहलाई नेवारहरूले इहि भन्न थाले। इहिबाटै इहिपाः (विवाह) शब्द बनेको हो। बेललाई भविष्यको वरको प्रतीकका रूपमा साक्षी मानेर विवाह गरिएको हुँदा बेलविवाह भनियो। तर, इहिको अर्थ बेलविवाह होइन भन्ने कतिपय जानकारको भनाइ छ।

इहि संस्कारसँगै बाःराः तयेगु अर्थात् गुफा राख्ने (सूर्यविवाह गर्ने) संस्कार पनि सुरु भयो। पहिले १२ दिनसम्म कन्यालाई सूर्यको मुख नदेखाई अँध्यारो कोठामा लुकाइ राख्ने सूर्यविवाह संस्कार थियो, अहिले एक दिन मात्रै लुकाउने प्रगतिशील संस्कार चल्न थालेको छ। यसले अभिभावकलाई आर्थिक तथा सामाजिक दुवै दृष्टिकोणले सजिलो बनाए पनि इहिसामु बाःराः तयेगु संस्कारलाई कम महत्व दिएजस्तो देखिएको छ, जुन चिन्ताको विषय हो।
सनातन हिन्दू संस्कारअनुसार, सोह्र संस्कार छन्। हिन्दू धर्मावलम्बी नै भए पनि नेवारहरुले दशकर्म संस्कारलाई मात्रै अनुसरण गर्दै आएको पाइन्छ। तिनै दशकर्म संस्कारमध्ये कन्यालाई गरिने संस्कार हो, इहि। पुरुषको चूडाकर्म गरिएजस्तै कन्याको इहि र बाःराः तयेगु चलाइएको हो। चूडाकर्म हिन्दू संस्कारसँग सम्बन्धित छ भने इहि र बाःराः तयेगु हिन्दु र बौद्धको मिश्रित संस्कारमा आधारित पाइन्छ। इहि गरिसकेका कन्यालाई सिउँदोमा सिन्दुर लगाउने छुट छ। त्यसैले अविवाहित नेवार युवतीले सिउँदोमा सिन्दुर लगाएको देख्दा आश्चर्य मान्नुपर्दैन।

इहिकै क्रममा विधिपूर्वक कन्यादान गरिसकिने हुँदा नेवार युवतीको विवाहमा विवाहको मण्डप सजाउने अथवा कन्यादान गर्नुपर्ने जरुरत पर्दैन र कुनै हवन यज्ञको पनि आवश्यकता पर्दैन। त्यसैले हिजोका दिनमा मागीविवाह नै भए पनि नेवार युवतीको विवाह सुटुक्क हुने गथ्र्यो। प्रायः रातमा दुलाहापट्टिका केही मानिस दुलहीको घरमा गएर दुलही लिएर आउने चलन थियो। यस्तो विवाहमा दुलहीको घरमा दुलाहा जानु पनि आवश्यक थिएन। अहिले भने नेवार समुदायमा देखासिकीमै झ्याइँझ्याइँ बाजा बजाएर दुलहासहित दुलहीको घरमा जन्ती जाने, मण्डप बनाएर हवन यज्ञ गरी कन्यादान गर्ने, दुलही भित्र्याउने र पार्टी प्यालेसमा भोज दिने चलन सुरु भएको छ। यो नेवारको आफ्नो मौलिक संस्कृति होइन। भोजको सम्बन्धमा पनि आफ्नै घर–चोकमा लहरै बसेर सुुकुलभोज खानु–खुवाउनु नेवारको आफ्नो मौलिक संस्कृति हो।

विधि
नेवारभित्र पनि जाति र ठाउँअनुसार इहिको विधि र प्रक्रियामा भिन्नता छ। काठमाडौं उपत्यकामै नेवारभित्रका विभिन्न जाति र ठाउँ–टोल अनुसार इहिको विधि र प्रक्रिया फरक पाइन्छ। उपत्यका बाहिर सामूहिक रूपमा आयोजना गरिने इहिमा पनि यस्तो भिन्नता देख्न पाइन्छ। अझ विदेशमा आयोजना गरिने सामूहिक इहिमा त आधुनिकताले प्रवेश पाएको छ।

सामूहिक रूपमा गरिने इहिको प्रक्रिया प्रायः दुई दिनसम्म चल्छ भने आफ्नो घरमै गरिने इहि एकै दिनमा पनि सम्पन्न गरिन्छ। स्थानअनुसार इहिको विधि–प्रक्रिया फरक र लामो वा छोटो हुने गरेको छ। यहाँ उल्लेख गरिएभन्दा फरक विधि हुन पनि सक्छन्।

दुसो–धुसः (पहिलो दिन)
काठमाडौंमा प्रचलित इहि संस्कारअनुसार सर्वप्रथम इहि गरिने कन्याको चिना देखाई साइत जुराइन्छ। साइतअनुसार, पहिलो दिन इहि गर्ने घरका सबै सदस्यको नुवाइधुवाई र घरकोठाको सफाइ गरिन्छ। यो दिनलाई दुसो–धुसः अर्थात् पूर्वाङ्ग भनिन्छ। यो दिनमा गणेश, कुलदेवता, आगम देवता र आ–आफ्नो रीति अनुसार अन्य देवीदेवताको पूजाआजा गरी इहि यज्ञको सुरुवात गरिन्छ। यो दिनमा इहि गर्ने कन्याको हात–खुट्टाको नङ काटिदिने गरिन्छ। यसरी काटिएको नङ कन्याको फुपूले भुइँमा खस्न नदिई चरेसको थालमा थाप्छिन्। यो अवसरमा कन्याले फुपूलाई गच्छे अनुसार एकजोर लुगा वा अन्य उपहार दिने चलन छ। यसैगरी कन्याको दुवै खुट्टाको आधा पाइतलासम्म अलः (एक प्रकारको रातो रङ) लगाइन्छ।

त्यस्तै, इहिका लागि पुरोहितले मण्डप तयार पारेका हुन्छन्। पुरोहितले कलश राखी गणेश, क्षत्रपाल लगायत विभिन्न देवगणलाई प्रतीक मानी पूजा संकल्प गर्छन्। पूजामा कुम्हःका ग्वारा (धागोको डल्ला), ज्यनाः लप्ते (फूल नफुल्ने एक किसिमको बिरुवाको पात), चाकु, कँय (काँस), हलू (बेसार), सुखुन्या (सिद्रा), ग्वःगु ग्वय (सिंगो सुपारी) आदि सामग्री राख्नुपर्छ। यस दिनको एउटा मुख्य कार्य पितृको सम्मानमा श्राद्धकर्म गर्नु हो। श्राद्धमा आमा नभएकी ज्येष्ठ महिलाले पूजा गर्ने चलन छ।

अन्य मान्यजनबाट कलश र अरू अभिभावकले विभिन्न नामका प्रतीक मानिएका देवगणलाई पूजा गरी दक्षिणा चढाई टीका लगाइन्छ। त्यसपछि काठबाट बनेको पाथीमा मान्यजनबाट फलफूलका टुक्रा राखी कन्यालाई तीनपटक पूजा गरिन्छ। दियो बालिसकेर लावा छरी शुभकामना पनि दिइन्छ। त्यसपछि इहि गर्ने कन्यालाई निजका अभिभावकले परम्परागत भोटेताल्चा समाउन लगाई जलधारा छुटाई स्वागत गरी इहिको मण्डपमा बसाउँछन्। सामूहिक इहि हो भने, त्यसैगरी अरू सहभागी कन्यालाई पनि बसाइन्छ। त्यसपछि धुपौरो बालिन्छ। तीन पटकसम्म कलश र एकपटक घरका मूल देवगणका नाममा पूजा गर्न लगाई कन्यालाई टीका लगाइदिएर सगुन दिइन्छ। थायभु (विवाहमा बेहुला–बेहुलीलाई खुवाउने बुट्टेदार ठूलो थाल) अगाडि राखी सूर्य देवतालाई दीप बाली पूजा गरिन्छ। पूजापछि थायभु नकेगु अर्थात् खाना खुवाउने काम गरिन्छ। खानापछि दियो बालेर कन्यालाई पूजा गर्न लगाई कल वाय् यंकेगु (छ्वासलमा फाल्न लैजाने) गरिन्छ। यसरी पहिलो दिनको इहि संस्कार सम्पन्न हुन्छ।

दोस्रो दिन
दोस्रो दिन इहिको मुख्य विधि सम्पन्न गरिन्छ। सर्वप्रथम इहि गर्ने कन्यालाई नीसी (चोखो) गरिन्छ र दुलहीझैं सिँगारिन्छ। त्यसपछि कन्याको सिउँदोमा सिन्दुर लगाइदिने र इहिपर्सि (एक प्रकारको सारी) ले बेरिदिने गरिन्छ। कन्यालाई सारी लगाइदिनुको अर्थ केटीको रूप दिनु हो। पुरोहितले मण्डपमा यज्ञ गरी पूजापाठ सकेर कन्यालाई पनि पूजा गर्न दिइन्छ। त्यसपछि कन्याको बाबुले कन्यालाई काखमा राखी शिवको प्रतीक बेल र विष्णुको प्रतीक काँचो सुनको टुक्रामा जल, टीका, अक्षता, फूलका साथै अरू पूजा सामग्री चढाई इष्टदेवताको रूपमा पूजा गर्छन्। कन्याले किसली (संकल्प गरिएको पैसा र सुपारीसहितको पाला) मा पूजा गर्छन्, सुवर्णकुमारलाई अघ्र्य दिन्छन्। सुवर्णकुमारलाई सुनको दक्षिणा चढाउने मान्यता छ। कन्यालाई इहिपर्सि लगाइदिएर सलाःपा (चित्र कोरिएको माटोको थाल) उसको अगाडि राखेर बेल समात्न लगाई सारीको फेरले हातमा बाँधिन्छ। कन्यासँग ज्वालान्हायकँ (विशेष प्रकारको ऐना) र सिन्हःमु (टीकादानी) हुनुपर्छ। कन्यालाई लावा, फूल र अबिरले सिफँलुई (अभिषेक) गरिन्छ। बाबुले कन्यालाई काखमा राखेर अगाडि पूजा गरेर राखेको बेललाई भविष्यको वरको प्रतीकका रूपमा साक्षी मानी सुवर्णकुमारलाई कन्यादान दिन्छन्।

कन्यादानपछि कन्याको बाबुले गच्छेअनुसारको दक्षिणा चढाउँछन्। पुराहितले कन्याको दुवै हातमा बेल समाउन लगाई मान्यजनबाट मण्डप परिक्रमा गराई पुनः उसको ठाउँमा बसाउँछन्। मण्डप परिक्रमापछि इहि गरिएको कन्याका आफन्तबाट पूजा गरी दान दिन लगाउने चलन छ। यसलाई बाःराँः छुकेगु (भिक्षाका लागि लाम लाग्ने) भनिन्छ। यो अवसरमा कन्यालाई सौभाग्य सामग्री प्रदान गरिन्छ।

कन्यालाई नेवारी परम्परा अनुसार घरायसी काम सिकाउने हेतुले सिलौटो पिस्ने, ढिँकी कुट्ने, चिउरा कुट्ने, नाङ्लोमा निफन्नेजस्ता काम पनि गराइन्छ। घरायसी कर्मपछि मान्यजनको हातबाट सम्पूर्ण देवगणलाई पूजा गरी टीका तथा दानदक्षिणा गरिन्छ। त्यसपछि कलशको जल तथा प्रसाद ग्रहण गरी मान्यजनबाट ज्वालान्हायकँ प्रयोग गरेसँगै इहि संस्कार सम्पन्न हुन्छ। अनि मात्र इहि गरिएका कन्यालाई थाय्भु खुवाइन्छ। नाताकुटुम्ब, टोलछिमेकी र साथीभाइलाई निमन्त्रणा गरी भोज खुवाउने चलन पनि छ। सामूहिक इहि गरेर घर फर्केका कन्यालाई घरको मूलढोका अगाडि पिखालखु द्यः (कुमार) सामु उभ्याई घरको ज्येष्ठ महिलाले पूजा गरी टीका–प्रसादसहित एकजोर लुगा र साँचो हातमा दिएर घर भित्र्याउने चलन छ। यो विधि नेवार समुदायमा बुहारी भिœयाउने विधिसँग मिल्छ।

इहि नेवार मात्रको संस्कार भए पनि शाही (खड्गी), द्यौला (पोडे), कपाली (जोगी, दर्शनधारी) आदि केही नेवारभित्रकै जाति तथा उपजातिभित्र भने इहि संस्कारको चलन छैन। तथापि पछिल्लो समय उनीहरुले पनि इहि संस्कारको अनुसरण गर्न थालेको पाइन्छ।

विधवा हुनुनपर्ने
नेवार समुदायमा इहि संस्कारले नेवार कन्या कहिल्यै विधवा नमानिने र विधवाको अवस्थामा पनि अर्को विवाह गर्न सकिने बज्रमुनि बज्राचार्यको पुस्तक ‘नेवाः संस्कार परिचय’मा उल्लेख छ।

हिन्दू संस्कारमा रजस्वला नहुँदै छोरीको कन्यादान गरे पुण्य प्राप्त हुने विश्वास थियो। यद्यपि अहिले यस्तो विश्वासमा धेरै कमी आइसकेको छ। नेवार समुदायमा भने आदिमकालदेखि नै कन्याको इहि गर्ने चलनले बालविवाहको आवश्यकता नरहेको र विवाहपछि श्रीमान्को मृत्यु भइसकेपछि पनि विधवा हुनुनपर्ने प्रगतिशील संस्कारको विकास भएको पाइन्छ। नेवार समुदायमा श्रीमान्को मृत्युपछि पनि शृंगार गर्ने र रातो पहिरन पहिरिने छुट छ। यो छुट रजस्वला हुनुअघि नै गरिएको इहि (सुवर्णकुमारसँगको विवाह) र बाःराः तयेगु (सूर्यसँगको विवाह) ले दिएको हो।

प्रकाशित: १४ मंसिर २०७६ ०४:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App