१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

निर्यात व्यापारमा सुधार

काठमाडौं – कुल व्यापारको तुलनामा निर्यातको अंश ज्यादै सानो भए पनि चालू आर्थिक वर्षको सुरुदेखि नै यसमा सुधार देखिएको छ।

अघिल्ला वर्षहरुमा आयात उच्चदरले बढ्दा पनि निर्यातको वृद्धिदर राम्रो हुन सकेको थिएन। यो वर्ष भने साउनदेखिनै निर्यातमा सुधार भइरहेको छ।

भन्सार विभागका अनुसार गत साउनदेखि नै निर्यात बढने र आयात घटने भइरहेको छ। साउनमा निर्यात २७.६८ प्रतिशतले बढ्दा आयात ११.५१ प्रतिशतले घटेको थियो। साउनको कुल व्यापार घाटा पनि गतवर्षको तुलनामा १३.९० प्रतिशतले कमी आएको थियो।

चालु आवको पहिलो महिनामा भएको सुधारको क्रम भदौमा पनि रोकिएन। भदौमा निर्यात २५.८७ प्रतिशतले बढेको थियो। आयात भने झिनो अंश १.२२ प्रतिशतले मात्र घटेको थियो। भदौको कुल व्यापार घाटामा अघिल्लो वर्षको भदौको तुलनामा ३.०५ प्रतिशतले कमी आएको थियो।

यस्तै असोज नेपालीका लागि चाडपर्वको महिना भए पनि यो बेला पनि आयात बढन सकेन। अघिल्लो वर्षसँग तुलना गर्दा असोजमा आयात १०.३४ प्रतिशतले घटन पुगेको छ। निर्यातको वृद्धिदर १४.४१ प्रतिशतले भएका कारण कुल व्यापार घाटामा १२.०२ प्रतिशतले कमी आएको छ।

चालु आवको पहिलो चार महिनालाई हेर्दा निर्यातमा सुधार भएका बेला आयातमा केही कमी आएकाले वर्षभर व्यापार घाटामा कमी आउने अनुमान गर्न सकिन्छ।

विभागका अनुसार यो वर्षको कात्तिकमा आयात ६.९२ प्रतिशतले घटेको छ। चालू आवको पहिलो चार महिनामा ४ खर्ब ५० अर्ब २९ करोड रुपैयाँ बराबरका वस्तु तथा सामान आयात भएको छ। गत वर्षको यो अवधिमा ४ खर्ब ८३ अर्ब ७५ करोड रुपैयाँ बराबरको आयात गरेको थियो।

विभागका अनुसार पहिलो चार महिनामा नेपालबाट ३६ अर्ब २७ करोड रुपैयाँका नेपाली वस्तु विभिन्न मुलुकमा निर्यात भएका छन्। गत वर्ष यो बेला नेपालबाट २९ अर्ब २८ करोड रुपैयाँका सामान निर्यात भएका थिए।

पहिलो चार महिनामा मुलुकको कुल व्यापार घाटा पनि ८.९ प्रतिशतले घटेको छ। गतवर्ष यो बेला ४ खर्ब ५४ अर्बको व्यापार घाटा रहेको थियो। यो वर्ष व्यापार घाटा ४ खर्ब १४ अर्ब रुपैयाँमा झरेको हो।

नेपालको कुल वैदेशिक व्यापार पनि ५.१६ प्रतिशतले घटेको छ। यो वर्ष कात्तिकसम्ममा आयात निर्यात गरेर कुल वैदेशिक व्यापार ४ खर्ब ८६ अर्ब रुपैयाँको भएको छ।

गत वर्ष भने वैदेशिक व्यापार ५ खर्ब १३ अर्ब रुपैयाँको थियो। मुलुकको कुल व्यापारमा ७० प्रतिशतभन्दा धेरै हिस्सा भारतको छ। नेपालको आफ्नै व्यापार पनि भारतसँग सबैभन्दा धेरै छ। यो वर्ष भारतबाट २ खर्ब ७२ अर्ब रुपैयाँ बराबरका सामान आयात भएका छन्। यस्तै नेपालबाट भारततर्फ २४ अर्ब २६ करोड रुपैयाँ बराबरका वस्तु तथा सामान निर्यात भएको छ।

प्रकाशित: १४ मंसिर २०७६ ०१:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App