१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

सत्यको चित्र

‘आस्था’ भनेको मान्छेले कोरेको सत्यको चित्र हो। यस्तो चित्र अरूले कोरेका चित्रसँग मिल्यो भने स्वाभाविक रूपमा सामीप्य बढ्छ। उस्तैउस्तै चित्र कोर्नेहरूबीच वा अरूले कोरिदिएको एउटै चित्रलाई स्वीकार गर्नेहरूबीच एउटा जमात बन्छ; यसरी नै समुदाय, सम्प्रदाय, संघ, संगठन आदि बन्छन्। आफूले कोरेको वा स्वीकारेको सत्यको चित्रभन्दा अरू कसैले कोरेको चित्र फरक छ भने त्योसँग कुनै सार्थक कुरामा सहभागिता हुन गाह्रो हुन्छ। स्थूल रूपमै पनि आस्थाका आधारमा मानिस खण्डखण्डमा विभाजित छन्। मिहिन रूपमा हेर्ने हो भने त यस्ता विभाजन झनै असंख्य देखिन्छन्।

तर मानिसको इतिहासमा यो भन्दा अझ महत्वपूर्ण पक्षचाहिँ के हो भने आफ्ना तमाम भिन्नताबीच पनि एकापसमा समानताका पक्ष पहिल्याउन मानिस सफल भएको छ। मान्छेको यही क्षमताका कारण सभ्यता विकास भइरहेको हो। विविधताबीच समानता खोजीका पनि असंख्य उदाहरण छन्। तीमध्येकै एउटा महत्वपूर्ण उदाहरण हो– सत्यको एउटा प्रमुख पक्षको बुझाइमा समानता हुनु; आफूभित्रको होस् वा बाहिरको, संसार परिवर्तनशील छ भन्ने कुरालाई हजारौं वर्षदेखि मानिसले स्वीकार गर्नु। बुद्धका शिक्षामा ‘अनित्यता’ले पाएको विशेष महत्व होस् वा सधैं परिवर्तनका नियमको खोजमा लागिरहने विज्ञानको यत्न होस्, ‘गाम्जे याऽभोर’(यो पनि जान्छ) भन्ने उखानले राजा सोलोमनसँग जोडिएका कथाहरूमा पाएको विशिष्ट स्थान होस् वा माक्र्सको द्वन्द्वात्मक भौतिकवादमा परिवर्तनशीलताले पाएको केन्द्रीय स्थान होस्; मानव जीवनसँग प्रत्यक्ष/अप्रत्यक्ष जोडिएका सबै घटना–प्रवृत्तिमा परिवर्तनशीलता वा ‘अनित्यता’ यसरी स्थापित छ जसमा धेरै झगडा हुने ठाउँ नै छैन। झगडा छ त केवल अनित्यतालाई अर्थात् परिवर्तनको दिशालाई प्रभावित पार्ने तत्व के–के होलान् भन्ने कुरामा।

थाहै नपाई यो राष्ट्रले नयाँ चुनौती सामना गर्दै छ। त्यो सामना गर्न समयले इतिहासका भन्दा फरक र सक्षम नेतृत्व माग गरिरहेको छ।

अनित्यता बोधले मानिसलाई धेरै स्वतन्त्रता पनि दिएको छ। आशा दिएको छ। यत्न गर्ने सम्भावना र जाँगर दिएको छ। अनित्यता नहुँदो हो त दुःखबाट मानिसले कहिल्यै छुट्कारा पाउने थिएन होला। तर अनित्यताको यो सत्य सैद्धान्तिक तहमा स्वीकार गर्न जतिसुकै सजिलो भए तापनि व्यवहारमै स्वीकार गर्न भने कतिपय मानिसलाई पीडा बोध हुन्छ। कसैकसैलाई र कुनैकुनै बेला त यो पीडा बोध असह्य नै हुन्छ। उनिहरू आफूसँग जे छ त्यो गुमाउन चाहँदैनन्। जे छ त्यो सबै अनित्य छ भन्ने कुरा सम्झिँदा मात्र पनि उनीहरूलाई खपिनसक्नु हुन्छ। अरूका लागि संसार जतिसुकै परिवर्तन भइरहोस्, आफ्ना लागि भने स्थिर रहोस् भन्ने चाहना हुन्छ, यिनीहरूमा।

जो यस्तो पीडाबाट मुक्त हुन्छन्, ती हुन्– साँच्चैका गुरू, साँच्चैका नेता। यस्ता मानिसले मात्र मानिसका अर्को किसिमका पीडा देख्न सक्छन्– यथास्थितिप्रति असन्तुष्टिबाट जन्मेको पीडा। वास्तवमा यही पीडामा लुकेको हुन्छ– मानिसमा अन्तर्निहित असीम सम्भावना। यही सर्वकालिक असन्तुष्टिकै कारण मानिस आफूलाई अपूर्ण देख्छ र पूर्णतातर्फको यात्रामा संलग्न हुन चाहन्छ। आफूलाई बन्धनमा देख्छ र स्वतन्त्र हुन चाहन्छ। पूर्णता र स्वतन्त्रताको त्यो यात्रामा उद्घाटन हुने सत्यका नयाँनयाँ आयाम स्वीकार्ने आँट गर्छ।

मानिसमा अन्तर्निहित यो सम्भावनालाई आत्मसात् गर्ने ती साँच्चैका नेता, गुरू– आफ्ना र अरूका असन्तुष्टि यति राम्रोसँग व्यवस्थापन गर्न सक्षम हुन्छन् कि ती विध्वंसका रूपमा कहिल्यै विस्फोट हुनै पाउँदैनन्। सिंगै समाजलाई अघि बढाउने ऊर्जाका रूपमा असन्तुष्टि उपयोग गर्न उनीहरू सक्षम हुन्छन्।

अनित्यता बुझ्ने, विविधताबीच समानता खोजी गर्न सक्ने, मानिसभित्र अन्तर्निहित  यथास्थितिप्रतिको असन्तुष्टि व्यवस्थापन गर्न सक्ने यस्ता गुरुजस्ता नेतासँग अन्धकारमा बाटो देखाउने उज्यालो पुल्ठो मात्र हुँदैन, यात्राको दिशा बोध पनि हुन्छ। यी आफ्नो ‘म’भाव, अहंकारलाई कतिसम्म पातलो पार्न सक्षम हुन्छन् भने ‘अरूको’ र ‘आफ्नो’ हितबीच कुनै भिन्नता देख्दैनन्, निसर्त प्रेम र करुणामा चुर्लुम्म डुब्न सक्छन्।

देखिएको नयाँ दृश्यलाई चित्रमा उतारौं। एकअर्काले कोरेका चित्रको मजा लिऊँ। सिंगै पृथ्वीको वास्ता राख्नुपर्ने बेला एकआपसलाई दानवीकरण गरेर ‘राजनीति गर्दै छु भनिरहने हो भने निकै महँगो मूल्य चुकाउनुपर्नेछ।


जनता, देश, सिंगो विश्वले नै हरेक कालखण्डमा यस्ता साँच्चैका नेता खोजी नै रहेका हुन्छन्। तर सधैं पाउँछन् भन्नेचाहिँ हुँदैन। कुनै बेला त निकै लामो युग कुर्नुपर्छ यस्ता नेता पाउन। यस्तो अन्धकार युगमा जुनकिरीले छर्नेजस्तो मधुरो उज्यालो मात्र पाउँदा पनि केही राहत अनुभूत हुन्छ, मानिसलाई। र, त्यो जुनकिरीको उज्यालो दिने मानिसलाई नै ‘नेता’ मान्ने बाध्यता हुन्छ। हामी सायद त्यस्तै कालखण्डमा छौं। लामै समययता यो देशका जनताले यस्तै जुनकिरीहरूको उज्यालोमा चित्त बुझाउनुपरेको छ। ती जुनकिरी पनि नहुँदा हुन् त जीवन अझै कष्टकर हुँदो हो। केही समयदेखि त मधुरो प्रकाश छर्ने ती जुनकिरी पनि एकएक गरी निभ्दै गरेको प्रतीत हुन थालेको छ।

यो समयले सामना गरेको चुनौती हो– हातमा उज्यालो पुल्ठो लिएर दिशा बोधका साथ अघि बढ्न सक्ने, देश, जनता र मानवताको बृहत्तर हितका निम्ति जस्तै विविधताबीच पनि समानता पहिल्याउन सक्ने, यथास्थितिप्रतिको असन्तुष्टि व्यवस्थापन गर्न सक्ने, आफ्नो ‘म’भावलाई पातलो पार्न सक्ने नयाँ पुस्ताका नेता तयार पार्ने।


‘म’भाव अर्थात् अहंकार मानिसको साझा रोग हो। यसले गर्दा मानिस गहिरो अन्धकार खाडलको पिँधमा जाकिन तयार हुन्छ, जस्तै झुट बोल्न तयार हुन्छ, जस्तै कुकर्म, अपराध, पाप गर्न पनि तयार हुन्छ। मानिसबीच समानताको खोजी होइन, भिन्नतालाई नै झन्झन् फराकिलो बनाउन शक्ति खर्च गरिरहन्छ। अरूको आङको जुम्रा देखिरहन्छ, आफ्नो आङको भैंसी कहिल्यै देख्दैन अनि परिवार, समाज, देश र मानव जातिकै लागि नर्कतर्फको बाटो खोल्न तयार हुन्छ। नयाँ पुस्ताभित्र पनि यो रोग रहिरहने हो भने समयले खोजेको नेतृत्वकर्ता जन्मिन सक्दैन।

बुद्ध नेपालमा जन्मिएका हुन् भनी बुरुकबुरुक उफ्रिन्छौं, हामी। बुद्धलाई आफ्नो मान्छौं, हामी। उनले निरन्तर सिकाइरहेका पाठमध्ये एउटा हो– ‘कर्म’को पाठ। ‘कर्म’को नियमले भन्छ– जुनसुकै घटना–प्रवृत्ति कारण र परिस्थितिले जन्माउँछन्। त्यो ‘कारण’ अर्थात् हामी के गछौं भन्ने कुराले परिवर्तनको दिशा निर्धारण गर्छ। बुद्ध हाम्रा हुन् भने, बुद्ध नेपालमा जन्मेकामा गर्व गर्ने हो भने उनका कुरा आत्मसात् गर्नुपर्छ। त्यसको अर्थ हुन्छ– अहिले हामी जे जस्तो स्थितिमा छौं, त्यो परिवर्तन हुन्छ भन्ने कुरामा विश्वास गर्नु। र, कस्तो परिवर्तन ल्याउँछौं भन्ने कुरा हाम्रो कर्मले निर्धारण गर्छ भनेर बुझ्नु।

थाहै नपाई यो राष्ट्रले नयाँ चुनौती सामना गर्दै छ। त्यो सामना गर्न समयले इतिहासका भन्दा फरक र सक्षम नेतृत्वको माग गरिरहेको छ। आफूले कोरेको सत्यको चित्रमा समयानुकूल परिवर्तन गर्न तयार नहुने हो भने, परिवर्तनशीलतालाई बेवास्ता गरेर पुराना मान्यताका भारी बोकिरहने हो भने, अरूको दानवीकरणमै तुष्टि लिइरहेने हो भने, आफ्नो ‘म’भावलाई अलिकति पनि पातलो पार्न अनिच्छुक भइरहने हो भने, अझै पनि सस्तो राजनीतिक स्वार्थका निम्ति आपसमा रहेका भिन्नतामै बढी जोड दिइरहने हो भने समयले खोजेको त्यस्तो नेतृत्व विकास हुनै सक्दैन। त्यस्तो नेतृत्व विकास नहुने हो भने देशभित्र सामाजिक न्याय स्थापना हुनै सक्दैन। अहंकारग्रस्त मिचाहा छिमेकीको मनपरी थामिने छैन। त्यसले हाम्रो बिल्लीबाठ हुने मात्रै होइन, मानव र मानवताको घर बनेको पृथ्वीलाई समाप्त पार्ने काममा समेत सघाएको पापको भागी हामी हुनुपर्नेछ।

हामी सबैसँग आफूले कोरेका सत्यका चित्र छन्। ती फरक हुन्छन् नै। तर हामी सबै सत्यतर्फको यात्रामा छौं। सत्यका नयाँ रूप उद्घाटन हुँदा आआफ्ना ठाउँबाट जस्तो देखिन्छ, त्यसबाट भयभीत नबनौं। देखिएको नयाँ दृश्यलाई चित्रमा उतारौं। एकअर्काले कोरेका चित्रको मजा लिऊँ। सिंगै पृथ्वीको वास्ता राख्नुपर्ने बेला एकआपसलाई दानवीकरण गरेर ‘राजनीति गर्दै छु भनिरहने हो भने निकै महँगो मूल्य चुकाउनुपर्नेछ।  
   

प्रकाशित: १३ मंसिर २०७६ ०४:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App