१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

एक महिनामै ४९ जनाको मृत्यु

रेखा भुसाल/लक्ष्मण घिमिरे

बुटवल – कपिलवस्तु बाणगंगाकी २४ वर्षीया विमला पोखरेल सुत्केरी अवस्थामा माइत बसेर बुधबार सन्धिखर्कस्थित घर फर्कंदै थिइन्। दुई छोराहरू तीन वर्षीय स्पर्श र तीनमहिने शोभाकरलाई लिएर घर फर्कंदै गर्दा उनी चढेको बस नरपानी भन्ने ठाउँमा आइपुग्दा दुर्घटनामा प-यो। उक्त दुर्घटनाले शोभाकरलाई चुँडेर लग्यो। विमला अहिले मेडिकल कलेज भैरहवामा उपचाररत छिन्। सन्तान गुमाउँदाको पीडामा उनी घरीघरी मूच्र्छित हुन्छिन्। होसमा आउँदा विमला एकोहोरो बच्चा खोजिरहन्छिन्। ठूला छोरा स्पर्श पोखरेलको अवस्था पनि गम्भीर छ। उनको पनि सोही अस्पतालमा उपचार भइरहेको छ।

भूमिकास्थानका सीता घिमिरे, मेघराज भण्डारी, डिहीडाँडाका शिवलाल भट्टराई र बलराम भट्टराई नजिकका नातेदार हुन्। कपिलवस्तुको गोरुसिङेमा आफन्तको बिहेका जान भनी सन्धिखर्कबाट एउटै बसमा हिँडेका उनीहरू चारजनाको पनि दुर्घटनास्थलमै ज्यान गयो। नरपानी दुर्घटनामा बुधबार १९ जनाले ज्यान गुमाए। दुर्घटनामा बाँचेकाहरूको पीडा बुटवल भैरहवाको अस्पतालमा हेरिनसक्नु छ। कसैका हात भाँच्चिएका छन्, कसैका खुट्टा। अस्पतालका अनुसार कसैलाई स्पाइनल इन्जुरी भएको छ। कसैको शरीरमा विभिन्न भागमा काटिएका छन्। कसैको संवेदनशील अंगमा गहिरो चोट छ।

सन्धिखर्कबाट बुटबलका लागि छुटेकोे लु२ख २१४८ नम्बरको बस दुर्घटना भएको त्यही साँघुरो बाटो भएको ठाउँमा तीन साताअघि सेलरो कार दुर्घटना हुँदा एकै परिवारका तीन जनाको ज्यान गएको थियो। रूपन्देहीको सैनामैनाकी ७० वर्षीया देवी खड्का तीन भाइ छोरा र एक नातिलाई लिएर कात्तिक २० गते बेचिसकिएको पुख्र्यौली जायजेथा पास गरिदिन सन्धिखर्क जाँदै थिइन्। उनीहरू चढेको गाडी नरपानी नजिकै भीरबाट खस्यो। देवीसँगै उनका दुई भाइ छोराको घटनास्थलमै ज्यान गयो। एउटा छोरा र नाति विनोद घाइते भए। विनोदको हेड इन्जुरीसँगै शरीरका विभिन्न भागमा गहिरो चोट छ। उनको अवस्था अहिले पनि गम्भीर छ। त्यसको ठीक एक महिना पहिले असोज २० गते पनि घुम्ती–नरपानी खण्डमै स्कार्पियो दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको थियो।

नरपानी प्रहरी चौकीका असई सूर्य पन्थीका अनुसार पछिल्लो दुई महिनामा भएका यी तीनवटा घटना मुस्किलले दुई सय मिटर आसपासमा भएका हुन्। अर्घाखाँचीको नरपानी–घुम्ती खण्डको करिब १२ किलोमिटर दूरीमा भएका दुर्घटनामा मात्रै पछिल्ला वर्षहरूमा धेरैले ज्यान गुमाएका छन। धेरै घाइते भएका छन्। साउनयता मात्रै यही खण्डमा २५ जनाले ज्यान गुमाए। गत वर्ष यो खण्डमा सातवटा दुर्घटना भएका थिए। त्यसमा तीनजनाको ज्यान गएको थियो भने ३८ जना घाइते भएका थिए। २०६८ सालदेखि यो खण्डमा निरन्तर दुर्घटना भइरहेको प्रहरी तथ्यांकले बताउँछ। पछिल्लो डेढ वर्षमा एउटै खोल्सामा लगातार तीनवटा गाडी खसिसकेका छन्। असई पन्थीका अनुसार बुधबार दुर्घटनामा परेको बसभन्दा केही तल दुर्घटनाग्रस्त कारका पार्टपुर्जा पनि अड्किएका छन्।

यो क्षेत्र दुर्घटनाको उच्च जोखिम क्षेत्र हो भन्ने प्रहरीको तथ्यांकले पुष्टि गर्छ। तर त्यही क्षेत्रमा प्रहरी तथा सम्बन्धित निकायले दुर्घटना न्यूनीकरणका लागि न्यूनतम सचेतना पनि अपनाएको देखिँदैन। नरपानी–घुम्ती खण्ड छोटा घुम्ती तथा मोडसँगै डाँडाको घेच हुँदै जाने साँघुरो बाटो हो। यो खण्ड जाडोयाममा मात्रै होइन, गर्मीयाममा पनि शीतले चिप्लो हुन्छ। तिनै छोटा मोड र चिप्लो बाटोमा चालकले तीव्र गतिमा गाडी कुदाउँछन्। उनीहरू घुम्तीमा हर्न बजाउनसमेत जरुरी ठान्दैनन्। सम्बन्धित निकायले पनि त्यहाँ ट्राफिक संकेतका बोर्डसमेत राखेको छैन। प्रदेशका १२ जिल्लामध्ये यस्ता जोखिम क्षेत्र थुप्रै छन्।

लामो समय यो रुटमा गाडी चलाएका लु१ख ५७३३ नम्बरका गाडीधनी आत्मसिंह घर्तीमगरले दुर्घटनाको जोखिम भएको क्षेत्रमा ट्राफिक संकेत तथा घुम्तीहरूमा स्टिल मिरर राख्नुपर्ने र सडकको नियमित मर्मत–सम्भार हुनुपर्ने बताए। ‘चार/पाँच वर्षदेखि यो कुरा उठाउदै आएका छौ। तर न त हाम्रो कुरा प्रहरीले सुन्छ न अन्य निकायले,’ उनले भने। सडकमा राखिने सामान्य ट्राफिक संकेत तथा सचेतनासम्बन्धी बोर्डले चालकलाई धेरै हदसम्म सजग बनाउने घर्तीको भनाइ छ। जबसम्म यात्रा सुरक्षित बनाउन धेरै ठूलो महत्व राख्ने ससाना काम हुँदैनन्, तबसम्म सुविधासम्पन्न होटलमा गरिने कार्यक्रमले दुर्घटना न्यूनीकरण हुन नसक्ने उनको ठहर छ।

घर्तीले भनेजस्तै प्रदेश ५ मा सवारी दुर्घटना न्यूनीकरणका लागि विभिन्न अभियानका नाममा कोठे कार्यक्रमहरू भइरहेका छन्। ती कार्यक्रमले सचेतना जगाउने र दुर्घटना न्यूनीकरणमा सघाउने भनिए पनि प्रदेशमा सवारी दुर्घटना हरेक महिना बढ्दो छ। पछिल्लो एक महिनामा मात्रै यो प्रदेशमा सडक दुर्घटनामा ४९ जनाले ज्यान गुमाएका छन। पछिल्लो साढे चार महिनामा एक सय ९५ जनाले दुर्घटनामा ज्यान गुमाएको तथ्यांक ट्राफिक प्रहरीसँग छ। यो अवधिमा ६ सय ७४ जना घाइते भएका छन। तीमध्ये चार सय १७ जना गम्भीर अवस्थाका घाइते हुन्। साउनयता प्रदेशका १२ जिल्लामा चार सय चारवटा दुर्घटनामा पाँच सय ५६ वटा सवारीसाधन क्षतिग्रस्त भएका छन। प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक रामप्रकाश शाहका अनुसार यी घटनामा चालकको लापरबाही मुख्य कारण देखिएको छ।

दुर्घटनामा चालकको लापरबाही मुख्य कारण भनिए पनि त्यसको निराकरणका लागि सम्बन्धित निकायले ठोस पहल गरेको देखिँदैन। पहाडी जिल्लाहरूमा मापदण्ड नपुगेका साँघुरा र जीर्ण सडकसँगै यान्त्रिक गडबडीले पनि दुर्घटना बढेको प्रहरी अनुसन्धानले देखाउँछ। तर यातायात व्यवस्था विभागले सवारी चेकजाँच र सडक विभागले सडक मर्मत–सम्भारको कामलाई प्राथमिकता नदिएकाले दुर्घटना बढेको सुरक्षित यात्रा नेपालका अध्यक्ष कृष्ण बेलबासे बताउँछन्। सडक सुरक्षाका लागि सम्बन्धित निकायले गर्नुपर्ने न्यूनतम कामहरूसमेत गरेका छैनन्। प्रदेश प्रहरी कार्यालय दाङका डिएसपी नवराज पोखरेलका अनुसार तुलसीपुर–सल्यान, घोराही–तुलसीपुर, बेलहिया–भूमही खण्ड, बुटवल–दाउन्ने, गोरुसिङे–सन्धिखर्क, बाँके–कोहलपुर दुर्घटना बढी हुने क्षेत्र हुन्।

तर तीनै खण्डका जंगल, मोड, घुम्ती, बस्ती र बजार क्षेत्रमा पनि ट्राफिक चिन्न तथा बोर्डहरू सितिमिती भेटिँदैनन्। अधिकांश दुर्घटनामा कारण पत्ता लगाएर सचेतनाका उपाय अपनाएको देखिँदैन। सडक विभाग, ट्राफिक, नेपाल प्रहरी, यातायात व्यवस्थाजस्ता निकायबीच आपसी समन्वय पनि देखिँदैन। यी निकायका अधिकारीहरू अर्कोलाई गर्नुपर्ने काम नगरेको भनेर दोष थोपरेर आफू उम्कने गरेको पाइन्छ।

लामो दूरीको सवारीसाधनमा दुईजना चालक अनिवार्य भनिए पनि कार्यान्वयन भएको छैन। मोटरसाइकलवालाको लापरबाही निकै बढेको भनिए पनि त्यसलाइ रोक्ने कुनै ठोस कदम चालिएको छैन। ट्राफिक चेकिङ मुख्य सडक र सहरी क्षेत्रमा केन्द्रित छ। साना तथा निजी सवारीसाधनको संख्या अनुपातमा सडकको मर्मत–सम्भार र विस्तारमा ध्यान दिइएको छैन। सडक दुर्घटनामा प्रदेश सांसदले ज्यान गुमाएपछि दुर्घटना न्यूनीकरणका लागि विशेष अभियान सञ्चालन गर्ने भनेको प्रदेश सरकारको अभियान पनि अहिले सेलाएको छ। सडकमा टिपर आतंक उस्तै छ। गत फागुनदेखि टाइमकार्ड लागू गरेको भनिए पनि त्यसको कार्यान्वयन भएको छैन।

प्रकाशित: १३ मंसिर २०७६ ०३:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App