१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

नेकपा नेता र सुरक्षाकर्मीको मिलेमतोमा विवादित सरकारी जग्गामा गहुँ छरियो

कपिलवस्तु- नेकपाका नेताहरुको चर्को दवावमा शुद्धोधन गाउँपालिका वडा नं ६ वराहमा कित्ता नम्बर ६ सय २० मा रहेको विवादित सरकारी जग्गामा प्रहरी प्रशासनको आडमा जबर्जस्ती जोताई गरी गहु छरिएको छ।

एक बिघा ३ कठ्ठा ६ धुर जग्गाको जोतभोगका बिषयमा रामचन्द्र कुर्मी र समुन्द्री चाईका बिचमा लामो सयमदेखि बिवाद रहदै आएको थियो। तर बिवादको किनारा नलाग्दै नेकपाका नेताहरुको दवावपछि बुधबार दिउँसो नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी ८० बढी सुरक्षाकर्मीको सुरक्षा घेरामा त्यहाँ ट्याक्टरले जोताई गरी गहु छरिएको थियो।

विवादित जग्गामा कसैले खेतीपाती गर्न पाईदैन भनेर बिरोधमा उत्रेका सय बढी गाउँलेलाई प्रहरीले निर्घात कुटपपिट गरेको थियो। प्रहरीले लाठी जुत्ता मुक्का हानेको पीडित महिलाहरु बताउँछन्। घटनामा २० बढी महिलाहरुलाई चोट लागेको छ। स्थानीय अमिना खातुनलाई छाती, हातमा बढी चोट लागेको र उनको कपिलवस्तु अस्पतालमा उपचार भईरहेको छ।

नेकपा समर्थक रहेको समुन्द्रै चाईको खेतमा जसरी पनि जोताई हुनुपर्ने भन्दै नेकपा नेताहरु काशिराम यादव, सलीम मुसलमान, मुजीम खा लगायत आधा दर्जन नेताहरु घटना स्थलमै बिहानै पुगेका थिए।  नेकपा नेताहरुको दवावमा प्रहरी प्रशासनले ठाडो हस्तक्षेप गरी बिवादित जमिनमा जबर्जस्ती जोताई गरिएको घाइते अमिनाले बताइन्। ‘प्रहरीले हामीलाई दमन गरेको छ, बिवादित जमिनमा जोताई गरिएको हो’ उनले भनिन्।

रामचन्द्र कुर्मीले सो जग्गा आफ्नो बाबु बाजेकापालादेखि उपभोग गर्दै आएको बताए। २०२७ सालमै सो जग्गाका बिषयमा निबेदन दिएको उनले बताए। जग्गाको जोतभोगका बिषयमा बिवाद भएपछि गाउँलेहरुको सल्लाह अनुसार त्यहाँ २ सय बढी बिरुवाहरु रोपिएको थियो। तर समुन्द्रीका मान्छेहरुले रातारात बिरुवा उखेलेपछि अदालतमा त्यस बिरुद्धमा मुद्दा दिएको उनले बताए। सो मुद्दा अझै अदालतमा बिचाराधीन रहेको उनले बताए।

यस्तै, सो जग्गा रामचन्द्र कुर्मीकै भएको गाउँपालिको न्यायिक समितिले समेत निर्णय गरी सकेको छ। अदालतमा मुद्दा बिचाराधीन रहेको र गाउँपालिकाको समेत सो जग्गा बारे निर्णय दिई सकेको अवस्थामा प्रहरीले दमन गरेर जोताई गर्नु खेदजनक कुरा रहेको कुर्मीले बताए। उता घटनालाई अन्तेै मोड्न आधा दर्जन बढी गाउँलेहरुमाथी समसुद्धिन फकिरको घरमा नगद र गरगहना गरि करिब ६ लाख बराबरको  लुटपाट समेत गरेको आरोप लगाइ्रएको कुर्मीले बताए। ‘बिवादित जमिनमा प्रहरीको आडमा रोपाई गरिएको छ, अनि लुटपाटको झुठो आरोप पनि लगाइएको छ’ उनले भने।     

त्यस्तै, समुन्द्राले बताएअनुसार शुद्धोद्धन गाउँपालिका वडा नं ६ वराहका जमिन्दार गंगा प्रसाद कूर्मीको घरमा तारामती केवट र वशंराज केवट वर्षौदेखि मजदुरी मेहनत गर्दै बसेका थिए। काम गरेबापत गंगा प्रसाद कुर्मीले निज मजदुर दम्पतीलाई ८ नम्बरी २३ कठ्ठा ६ धुर जग्गा साथै २ कठठा घडेरी कागजात गरेर दिएका थिए। सोही क्रममा निज मजदुर दम्पती वृद्ध भएपछि आफ्नो कोही बंश नभएको हुँदा समुन्द्री चाईको ७ बर्षिय छोरा उमेश चाईलाई धर्मपुत्र बनाएका थिए। सोही धर्मपुत्रलाई जमिन्दारले दिएको जमिन हस्तान्तरण गरेका थिए।

यस्तै, मजदुरी गर्ने वृद्ध केवट दम्पती र छोरा उमेशले जमिन्दारको मृत्य पश्चात् काजक्रिया समेत गरेका थिए। स्वर्गीय जमिन्दार गंगा कुर्मीले आफुहरुलाई दिएको जमिन बारे बताउदै धर्मपुत्र उमेश चाईकी आमा समुन्द्री चाईले बताइन्। जग्गाका बिषयमा मिलाउन पटक पटक प्रहरी प्रशासनमा छलफल गरिएको थियो। तर कुरा भने मिलेको थिएन। गाउँपालिका प्रमुख निसार अहमद खाले बिवादित बनेको सो जग्गाका बिषयमा छलफल गरी अगाडी बढ्नुपर्ने बताए।

        

 

प्रकाशित: १२ मंसिर २०७६ १४:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App