१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

झापामा ठूला प्रतियोगिताको लहर

झापा- नेपाली फुटबलको उर्वर भूमि मानिने झापामा पछिल्लो समय ठूला फुटबल प्रतियोगिताको लहर चलेको छ। सहारा सुरुङ्गा गोल्डकप सकिएको धेरै भएको छैन। शरणामती फुटबल प्रतियोगिता झापामा जारी छ। शरणामती गोल्डकपलगत्तै काँकडभिट्टामा मुलुकका चर्चित फुटबल टोलीहरु मैदान उत्रने भएका छन्। लगत्तै माघमा रमपम झापा गोल्डकपको तयारी पनि चलिरहेको छ।

'अहिले झापामा ठूला प्रतियोगिताको लहर चलेको छ,' एन्फाका केन्द्रीय सदस्य जलकुमार गुरुङले भने, 'यो जिल्लाको मात्रै नभई समग्र नेपाली फुटबलकै लागि सुखद विषय हो।'

शरणामतीको प्रतियोगिता लगत्तै काँकडभिट्टामा पुस दोस्रो सातादेखि काँकडभिट्टा गोल्डकपको दोस्रो संस्करण शुरु हुँदैछ। यसपटक प्रतियोगितालाई मेची नेत्रालय आँखा अस्पतालले प्रायोजन गर्दैछ। यसअघि सुरुङ्गा गोल्डकपलाई सहारा नेपाल नामक वित्तीय संस्थाले प्रायोजन गरेको थियो। 'पहिले प्रायोजक खोज्नकै सास्ती हुन्थ्यो,' काँकडभिट्टा गोल्डकप आयोजक समितिका अध्यक्ष समेत रहेका फुटबल खेलाडी मिन बस्नेतले भने, 'अहिले स्थानीय संघसंस्था, अस्पतालहरु पनि अग्रसर हुनु झापाली फुटबलका लागि सुखद् संकेत हो।'

वर्ष दिनअघि मात्र काँकरभिट्टा गोल्डकपको पहिलो संस्करण सफल रुपमा सम्पन्न गरेको काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले मेची नेत्रालय काँकडभिट्टा गोल्डकप प्रतियोगिताको दोस्रो संस्करणको नाममा अर्काे प्रतियोगिता पुस १६ देखि गर्ने भएको हो। काँकरभिट्टा माविको खेल मैदानमा हुने प्रतियोगितामा दश टिमले प्रतिस्पर्धा गर्नेछन्। आठ दिनसम्म चल्ने प्रतियोगितामा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरसहित रमपम झापा ११, रुपन्देही ११, सशस्त्र प्रहरीको एपीएफ क्लव, हिमालयन शेर्पा काठमाडौं, सिएमजी संकटा काठमाडौं र बिआरसी फ्रन्ेडस क्लव भुटानको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष बस्नेतले बताए।

यसैगरी मनाङ मर्स्याङ्दी र नेपाल आर्मीमध्ये एउटा टोलीको पनि सहभागिता रहने आयोजकले जनाएको छ। प्रतियोगिताको विजेताले ४ लाख १ हजार र उपविजेताले २ लाख १ हजार रुपैयाँ नगद पुरस्कार जित्ने बस्नेतले बताए। त्यस्तै खेलको उत्कृष्ट खेलाडीले नगद २५ हजार, उत्कृष्ट गोलकिपरले १० हजार, उच्च गोलकर्ताले १५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचले ५ हजार रुपैयाँ पाउने छन्। प्रतियोगितालाई मेची बस व्यवसायी संघले सहप्रायोजकका रुपमा सघाउने भएको छ।  मुख्यः प्रायोजक र सहप्रायोजकले यो प्रतियोगिताको परिणाम हेरेर वर्षेनी सहयोग गर्ने प्रतिवद्धता जनाएको बस्नेतले जानकारी गराएका छन्। 'यस्ता भरपर्दा संस्थाहरुको साथ पाइरहने हो भने प्रतियोगितालाई नयाँ उचाईमा पुर्‍याउन सकिन्छ,' उनले भने।

प्रकाशित: २६ मंसिर २०७३ ०३:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App