१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

मेसीबाट प्रेरित बार्सिलोना अन्तिम १६ मा

काठमाडौं– बार्सिलोना युरोपियन फुटबल च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ। बिहीबार विहान सम्पन्न खेलमा बार्सिलोनाले जर्मन टोली बोरुसिया डर्टमण्डलाई पराजित गर्यो।

स्पेनिस जाइन्ट बार्सिलोनाले डर्टमण्डलाई ३–१ गोलअन्तरले पराजित गरेको हो। कप्तान लियोनल मेस्सी प्रेरित बार्सिलोना एक खेल बाँकी रहँदै समुह विजेता बनेको छ। 

खेलमा मेसीले १ गोल र दुई एसिस्ट गरेका थिए। उनले स्वारेज र ग्रिजम्यानलाई गोलको अवसर सृजना गरिदिएका हुन्। डर्टमण्डका लागि भने जाडोन साञ्चोले सान्वना गोल फर्काएका थिए।

सो खेल बार्सिलोनाका जर्सीमा मेसीको ७ सयौ खेल थियो। बार्सिलोनाले २९ औ मिनेटमा स्वारेजको गोलबाट अग्रता लिएको थियो। त्यस्तै मेसीले ३३ औं मिनेटमा गोल गरेपछि घरेलु मैदानमा बार्साले अग्रता दोब्बर बनायो।

वैकल्पिक खेलाडीका रुपमा आएका एन्टेनियो ग्रिजम्यानले भने ६७ औ मिनेटमा गोल गरेका थिए। खेलमा डेम्बेले घाइते भएका छन्। डर्टमण्डका लागि  सान्चोले ७७ औ मिनेटमा सान्वना गोल गरेका हुन्।

हारसंगै डर्टमण्डको अघिल्लो चरणको यात्रा कठिन भएको छ। समुह ‘एफ’मा रहेको अर्को टोली इन्टर मिलानले जीत दर्ता गरेपछि डर्टमण्डलाई दबाव परेको हो। इटालियन क्लब इन्टरले स्लाभिया प्रागलाई ३–१ गोल अन्तरले पराजित गरेको हो। स्लाभियाको मैदानमा लाउटरो मार्टिनेजले दुई र रोमालु लुकाकुले एक गोल गरेका थिए।

स्लाभियाको लागि ३७ औं मिनेटमा थोमसले पेनाल्टीमा गोल गरेका थिए। बार्सिलोनाले ५ खेलबाट ११ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ।

इन्टर मिलन र डर्टमण्डको समान ७ अंक भएपनि गोलअन्तरको आधारमा मिलान दोस्रो र डर्टमण्ड तेस्रो स्थानमा छ। समुहको अन्तिम खेलबाट डर्टमण्ड वा मिलान अन्तिम १६ मा पुग्ने टुंगो लाग्ने छ। स्लाभिया भने २ अंक सहति समुहको अन्तिम स्थानमा रहेको छ। 

यता डिफेन्डिङ च्याम्पियन लिभरपुल भने बराबरीमा रोकिएको छ। नापोलीसंग १–१ गोलको बराबरी रोकिएपछि अन्तिम १६ मा पुग्न अन्तिम खेल नै कुर्नपर्ने देखिन्छ।

नापोलीका लागि २१ औ मिनेटमा डेरिस मार्टिनस र लिभपुलका लागि ६५औं मिनेटमा डेजन लोभ्रेन गोल गरे। समुहको पहिलो स्थानमा रहेको लिभरपुलको १० र दोस्रो स्थानको नापोलीको ९ अंक छ। तेस्रोमा रेडबुल साल्जबर्गको ७ र चौथोमा जेन्कको १अंक रहेको छ। 

त्यस्तै चेल्सीले पनि भ्यालेन्सियासंग बराबरी खेलेको छ। समूह एचको खेलमा चेल्सीले भ्यालेन्सियासग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । भ्यालेन्सियाका लागि कार्लोस सोलर र क्रिस्टियन पुलिसिसले गोल गरे।

यता चेल्सीका लागि माटेव कोभासिसर ड्यानियल वासले गोल गरे। उक्त समुहमा डच क्लब अजाक्स १० अंक सहित शीर्ष स्थानमा छ। समान ८ अंक भएपनि गोल अन्तरका आधारमा भ्यालेन्सिया दोस्रो र चेल्सी तेस्रो स्थानमा छ। समुहको अन्तिम खेलमा तीन वटै टोलीलाई नकआउट चरणको चटोरो पर्ने देखिन्छ। 

 

प्रकाशित: १२ मंसिर २०७६ ०७:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App