१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

दुई नम्बरी व्यवहार नगर्न आग्रह

सर्लाहीको कविलासी नगरपालिका–६, जमुनिया स्थित गढीमाई मेला उद्घाटन समारोहमा उपस्थित मन्त्री रामनरेश रायलगायत अतिथि। तस्बिर:नागरिक

सर्लाही – प्रदेश २ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश रायले प्रदेश दुई सरकारलाई संघीय सरकारले दुई नम्बरी व्यवहार गरिरहेको आरोप लगाएका छन्। बुधबार सर्लाहीको कविलासलिका–६ जमुनियामा गढीमाई मेला उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री रायले प्रदेश २ सरकारलाई पनि अन्य प्रदेशसरह व्यवहार गर्न संघीय सरकारसँग आग्रह गरेका हुन्। ‘प्रदेश दुई सरकार काठमाडौंको कृपाले बनेको होइन, मधेस आन्दोलन अनि मधेसी जनताको बलिदानीले बनेको हो,’ मन्त्री रायले भने, ‘यहाँका जनता पनि नेपाली नै हुन्, त्यसैले संघीय सरकारले समान व्यवहार गर्नुपर्छ।’ प्रदेशको नाम पनि दुई नम्बर दिने र व्यवहार पनि दुई नम्बरी गरेर संघीय सरकारले प्रदेश २ लाई विभेद गरिरहेको आरोपसमेत मन्त्री रायले लगाएका छन्।

संघीय सरकारले शासन प्रशासनको रिमोट कन्ट्रोल आफ्नै हातमा राखेर संघीयताको मर्ममा प्रहार गरिरहेको समेत मन्त्री रायले दाबी गरे। ‘गाउँ–गाउँमा सिंहदरबार भनिएको छ तर संघीय सरकारले शासन प्रशासनको रिमोर्ट कन्ट्रोल आप्mनै हातमा राखेको छ,’ उनले भने, ‘अधिकारजति काठमाडौंमा राखेर प्रदेश र स्थानीय सरकारलाई जनताको सामु पंगु बनाउने काम भएको छ।’ संविधानमै राष्ट्रिय वन प्रदेश सरकारको मातहतमा रहने किटान भए पनि सागरनाथ वन विकास परियोजनालाई निगम बनाउने बहानामा संघीय सरकारले आफ्नै नियन्त्रणमा ल्याउने षडयन्त्र गरेर संघीयताको मर्ममाथि प्रहार गरेको उनको आरोप थियो। ‘सागरनाथ वन विकास परियोजना प्रदेश सरकारको धरोहर हो र ढुकढुकी पनि हो,’ वनमन्त्री रायले भने, ‘संविधानलाई नै कुल्चेर परियोजनालाई निगमअन्तर्गत राख्ने तयारी भएपछि हाम्रो प्रदेश सरकारले बाध्य भएर संघीय सरकार विरुद्ध सर्वोच्च अदालतमा मुद्दा हालेका छौं, संविधानअनुसार राष्ट्रिय वन क्षेत्र प्रदेश सरकार अन्तर्गत पर्ने तोकिएको हुँदा राष्ट्रिय वनअन्तर्गतको परियोजना पनि हाम्रै अन्तर्गत हुने फैसला आउनेमा विश्वस्त छौं।’

मधेस आन्दोलनको माग पूर्व मेची देखि पश्चिम महाकाली सम्मको समग्र मधेस एक प्रदेश रहे पनि ठूला दलहरूले पूरा हुन नदिएको राष्ट्रिय जनता पार्टीका नेतासमेत रहेका मन्त्री रायले आरोप लगाए। ‘मधेस आन्दोलनको माग त पूरा भएन नै, आयोगले दिएको प्रतिवेदनअनुसार नारायणी पूर्व र पश्चिम गरी मधेसमा दुईवटा प्रदेश हुनुपर्नेमा सोसमेत लत्याईएको छ,’ मन्त्री रायले भने, ‘अब यही प्रदेश २ कै विकास र समृद्धिमा सबै एकजुट भएर लाग्न म आग्रह गर्दछु।’

प्रकाशित: १२ मंसिर २०७६ ०३:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App