१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

एमाले आन्दोलन विखण्डनकारी : मोर्चा

काठमाडौं- मधेसी मोर्चाले संविधान संशोधन हुन नदिन एमालेले आन्दोलन गरेको ठहर गर्दै तत्काल रोक्न  चेतावनी दिएको छ। मोर्चाले एमाले अगुवाइमा भएको आन्दोलनलाई 'विखण्डनकारी, उग्रवादी र अतिवादी' को संज्ञा दिएको छ। यसैगरी मोर्चाले संशोधन विधेयक परिमार्जन भए सरकारलाई साथ दिने स्पष्ट पारेको छ।

मोर्चाको शनिबार बसेको बैठकले एमालेको आन्दोलनले मुलुकमा विखण्डन ल्याउन सक्ने देखिएको भन्दै फिर्ता लिन आग्रह गरेको हो। मोर्चाले 'विखण्डनकारी' आन्दोलन गरी  राष्ट्रिय एकतामा खलल पुर्‍याउने काम नगर्न पनि एमालेलाई  अपिल गरेको छ।

बैठकले चारबुँदे निर्णय गरेको छ। पहिलो बँुदामा संविधान संशोधन हुन नदिन एमालेेको आन्दोलनलाई 'विखण्डनकारी' भनिएको छ। बैठकमा बोल्ने अधिकांशले एमाले आन्दोनको निन्दा गरेका थिए।

बैठकले संविधान संशोधन प्रस्ताव संसद्मा प्रस्तुत गर्न नदिन एमालेले सदन अवरुद्ध गर्दै आएको ठहर पनि गरेको छ। संसदीय अभ्यासविपरीत र अलोकतान्त्रिक तरिकाले एमालेले संसद् अवरोध गरेको निष्कर्ष निकाल्दै मोर्चाले तत्काल सदन सञ्चालन हुने वातावरण बनाउन आग्रह गरेको छ।

'राष्ट्रवादी नाममा एमालेले विखण्डनकारी र अतिववादी आन्दोलन गरिरहेको छ। यस्तो आन्दोलनबाट  राष्ट्रिय एकतामा खलल पुग्ने मोर्चाको ठहर छ', बैठकपछि मोर्चाको एक घटक मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले नागरिकसँग भने, 'एमालेले अलोकतान्त्रिक र संसदीय अभ्यासको अपमान हुनेगरी आन्दोलन गरिरहेको छ भन्ने मोर्चाको ठहर हो।'

संविधान संशोधन प्रस्तावका औचित्य नभएको भन्दै फिर्ता लिन माग राखेर एमालेले पाँच नम्बर प्रदेशका जिल्लामा आन्दोलन चलाएको छ। त्यस्तै उसले संसद्को बैठक सञ्चालनमा पनि अवरोध गर्दै आएको छ। सरकारले पाँच नम्बर प्रदेशका पहाडी जिल्ला चार नम्बर प्रदेशमा गाभ्नेगरी सातबुँदे संविधान संशोधन प्रस्ताव संसद् सचिवालयमा दर्ता गराएको डेढ साता भए पनि सदन अवरोधले संसद्मा प्रस्तुत हुन सकेको छैन।

बैठकले संविधान संशोधन विधेयकमा  आपसी सहमति र छलफलबाट परिमार्जन गरी सदनमा प्रस्तुत गरिए पास गर्न सहयोग गर्ने निर्णय पनि गरेको छ। यसअघि बसेको मोर्चाको बैठकले संशोधन विधेयक यथास्थितिमा पास गर्न सहयोग नगर्ने निर्णय गरेको थियो।

 मधेसी मोर्चाका नेता  केही दिनअघि सामूहिक रुपमा भारतीय दूतावासमा गएर संशोधन प्रस्तावबारे राजदूत रञ्जित रेसँग छलफल गरेका थिए। त्यसपछि मोर्चा संशोधन विधेयकमा केही लचिलो भएको छ।

बैठकमा मोर्चाका नेताले संशोधन विधेयक परिमार्जन गर्न प्रधानमन्त्रीबाट सार्वजनिक रुपमा प्रतिबद्धता  आउनुलाई  सकारात्मक भन्दै स्वागत गरेका थिए। 'प्रधानमन्त्रीले सार्वजनिक रुपमा संविधान संशोधन विधेयक परिमार्जन हुनसक्छ भन्नुभएको छ । यसलाई हामीले अत्यन्त सकारात्मक रुपमा लिएका छौं', राष्ट्रिय  मधेस समाजवादी पार्टीका महासचिव केशव झाले भने। बैठकले  पश्चिम मधेसमा थरुहट आन्दोलनलाई सहयोग गर्ने निर्णय पनि गरेको छ।

बैठकको सुरुमा तमलोपा अध्यक्ष महन्थ ठाकुरले बोलेका थिए। उनले मोर्चाका नेताले संविधान  संशोधन विधेयकमा फरक फरक अभिव्यक्ति दिँदा जनतमा भ्रम सिर्जना भएको भन्दै यसमा एउटै धारणा हुनपर्ने बताएका थिए। एमालेले मोर्चा पनि संशोधनको विपक्षमा रहेको भन्दै भ्रम सिर्जना गरेको आरोप उनले लगाएका थिए। 'एमालेले मधेसी मोर्चा पनि संविधान संशोधनको विपक्षमा छ भनेर भ्रम सिर्जना गरेको छ तर हामी संशोधनको विपक्षमा छैनांै', बैठकमा ठाकुरले भने, 'संशोधन प्रस्तावमा परिमार्जन गर्नुपर्छ भन्ने हाम्रो  माग हो।'

तमलोपा पार्टी कार्यालय बिजुली बजारमा बसेको बैठकमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सद्भवना पार्टीका अध्यक्ष राजेन्द्र महतो उपस्थिति थिएनन्। यादव शनिबार दिउँसो मात्र जिल्लाबाट काठमाडौं आएका थिए भने महतो काठमाडौं बाहिर छन्। फोरम नेपालबाट उपाध्यक्ष लालबाबु यादव र सद्भावनाका सहअध्यक्ष लक्ष्मणलाल कर्ण बैठकमा सहभागी भएका थिए। यसैगरी नेपाल सद्भावना पार्टीका कौशलेन्द्र मिश्र बैठकमा सहभागाी भएका थिए।   

प्रकाशित: २६ मंसिर २०७३ ०१:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App