१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

डेढ अर्बभन्दा बढी माग दाबी गर्दै मुद्दा

काठमाडौं – राजस्व अनुसन्धान विभागले पछिल्लो तीन दिनको अन्तरालमा करिब डेढ अर्ब रुपैयाँ राजस्व अपचलन गर्ने व्यापारिक फर्म तथा प्रोप्राइटरविरुद्ध मुद्दा दायर गरेको छ। विभागका अनुसार संखुवासभाका तोप्के भोटेलाई २५ केजी सुन भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरेको अभियोगमा ३० करोड २६ लाख ५० हजार बिगो कायम गरी मुद्दा दायर गरिएको छ। भोटेलाई मंगलबार संखुवासभा जिल्ला अदालतमा मुद्दा दायर गरिएको होे।

संखुवासभाको प्रहरी टोलीले चेकजाँचका क्रममा भोटेको शरीर तथा उनले बोकेको झोलाबाट बिनाबिलबिजक लुकाएर ल्याउँदै गरेको २५ केजी सुन बरामद गरेको थियो। अनुसन्धानका क्रममा तोप्केसहित रिन्जिन भोटे, जर्गा भोटे, छिरिङ भोटे, ग्यात्सो भोटे, क्यमा भोटे र सोनाम डोमा भोटे समेतको मिलेमतोमा सुन चोरी पैठारी गरी राजस्व चुहावट गरेको देखिएको हो।

राजस्व अनुसन्धान विभागले पछिल्लो तीन दिनको अन्तरालमा करिब डेढ अर्ब रुपैयाँ राजस्व अपचलन गर्ने व्यापारिक फर्म तथा प्रोप्राइटरविरुद्ध मुद्दा दायर गरेको छ।

विभागका अनुसार उनीहरुले एकअर्काको बैंक खाता समेत प्रयोग गरी यसअघि चारपटकसम्म सुन चोरी पैठारी गरेको देखिएको छ। अहिलेको बजार भाउ अनुसार २५ किलो सुनको मूल्य १५ करोड १३ लाख २५ हजार पर्ने भएकाले यसैलाई बिगो कायम गरी बिगोको दोब्बरसम्म जरिवाना र तीन वर्षसम्म कैद सजाय माग्दै मुद्दा दायर गरिएको हो।

बरामद सुनको भुक्तानी विदेशी मुद्रामा मात्र हुने भएकोले २५ किलो सुन खरिद गर्न प्रयोग भएको १५ करोड १३ लाख २५ हजार नेपाली रुपैयाँ बराबर हुने विदेशी मुद्रा पनि अपचलन गरेको देखिन्छ। सुन ल्याउन अवैध रुपमा विदेशमा भुक्तानी गरेको भएकाले उनीहरुलाई विदेशी विनिमय अपचलन गरेको अभियोग पनि लागेको छ। दायर मुद्दामा उनीहरुबाट बिगो रकम १५ करोड १३ लाख २५ हजारको तेब्बरसम्म जरिवाना लिन माग गरिएको छ।

यस्तै, विभागले मूल्य अभिवृद्धिकर (भ्याट)को नक्कली कारोबार गरेर एक अर्ब २९ करोड ३६ लाख रुपैयाँराजस्व चुहावट गरेको अभियोगमा दुईजना व्यापारीविरुद्ध आइतबार काठमाडौंजिल्ला अदालतमा मुद्दा दायर गरेको हो।

विभागले बाराको कलैया नगरपालिका–४ घर भईहाल ललितपुर महानगरपालिका–३, धोबीघाटबस्ने विनोदकुमार अग्रवाल र झापा अनारमनी गाविस–३ स्थायी ठेगाना भई ललितपुर महानगरपालिका–२३,हात्तीवनबस्ने विकास अग्रवालविरुद्ध मुद्दा दायर गरेको हो। उनीहरुले निम्न आर्थिक अवस्था भएका मजदुरको नाममा फर्म दर्ता गरी भ्याटको नक्कली बिल प्रयोग गरेर एक अर्ब २९ करोड ३६ लाख राजस्व चुहावट गरेको अभियोग विभागको छ।

ती व्यापारीले विभिन्न व्यक्तिका नाममा १३ वटा फर्म दर्ता गरेर भ्याटको नक्कली कारोबार गर्दै आएका थिए। विभागका अनुसार आर्यन ट्रेडिङ कन्सर्न, अनामिका ट्रेडर्स, अमिशा ट्रेडिङ कन्सर्न, प्रसुमा सप्लायर्स, स्मारिका जनरल सप्लायर्स, नाइस ट्रेडिङ, जेनिशा ट्रेड एन्ड सप्लायर्स, सुशिम ट्रेड इन्टरप्राइजेज, सिमस ट्रेड इन्टरनेसनल, निशिला ट्रेडिङ, अविन ट्रेडिङ, किशा ट्रेड इन्टरप्राइजेज, श्रीअन्तु जनरल सप्लायर्स ती व्यापारिले खोलेका फर्म तथा कम्पनी हुन्। यी फर्म तथा कम्पनीमार्फत वास्तविक मालवस्तु खरिदबिक्री नै नगरी विभिन्न फर्मलाई झुट्टा तथा नक्कली भ्याट बिल बिक्री गरेर राजस्व छलेको पाइएको हो। विभागका अनुसार नक्कली कारोबारबाट एक अर्ब २९ करोड ३६लाख रुपैयाँ राजस्व छली गरेको देखिएको हो।

विभागले नक्कली भ्याटको कारोबार गर्ने विनोदकुमार अग्रवालसहित २१ जनाले एक अर्ब २९ करोड ३६ लाख रुपैयाँ राजस्व चुहावट गरेको आरोप लगाउँदै यसको दोब्बरसम्म जरिवाना र तीनवर्षसम्म कैद सजाय माग गरेर मुद्दा दायर गरेको हो।

प्रकाशित: ११ मंसिर २०७६ ०२:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App