१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

ओलीलाई सच्याउन कांग्रेस जिताऔं : देउवा

सभापति शेरबहादुर देउवा सभालाई सम्बोधन गर्दै। तस्बिर : रोहित/नागरिक

धरान – प्रधानमन्त्री केपी शर्मा ओली स्वेच्छाचारी बन्दै गएको भन्दै उनलाई सच्याउन मंसिर १४ गतेको उपनिर्वाचनमा नेपाली कांग्रेसलाई जिताउन नेताहरूले आह्वान गरेका छन्।

धरान उपमहानगरपालिकाको मेयर पदको उपनिर्वाचन लक्षित मंगलबार धरानमा आयोभिामा कांग्रेसका नेताहरूले मतदातासँग यस्तो आह्वान गरेका हुन्। नेताहरूले उपनिर्वाचनको हारजितले केन्द्रीय सत्ता परिर्वतन नभए पनि प्रधानमन्त्री र सरकारलाई गलत दिशामा अघि बढ्नबाट अंकुश लाग्ने उनीहरूले बताए। कांग्रेस सभापति शेरबहादुर देउवाले कम्युनिस्ट सरकार आएपछि देशमा जनताले महँगी, भ्रष्टाचार र करवृद्धिको मार खेपिरहेकोले त्यसको जवाफ यो उपनिर्वाचनबाट दिन आग्रह गरे। ‘दुई वर्षमा महँगीले आकाश छोयो, भ्रष्टाचार बढ्यो, कर वृद्धिले जनता आजित छन्,’ उनले भने, ‘उपभोक्ता समितिको नाममा ब्रह्मलुट भएको छ, यो सबै अन्त्य गर्न कांग्रेसको जित आवश्यक छ।’

अर्को प्रसंगमा सभापति देउवाले प्रधानमन्त्री ओलीको राष्ट्रवाद कालापानी मुद्दामा आएर लम्पसारवादमा परिणत भएको आरोप लगाए। कालापानीलाई नेपाल र भारतको सिमाना मानेको र पानी पनि आधाआधा बाँड्ने सहमति भएको उल्लेख गर्दै उनले भने, ‘भारतले अहिलेसम्म सुस्ता र कालापानी क्षेत्रलाई विवादास्पद भूमि मान्दै आएको थियो, उसले आफ्नो भूमि भनेको थिएन। तर अहिले त नक्सा नै बनायो, यो सरकारले केही गर्न सकेको छैन। ओलीको राष्ट्रवाद लम्पसारवाद भइसक्यो।’

देउवाले कालापानी, सुस्तालगायत भूमि नेपालकै भएको दाबी गर्दै यो विषयमा आफू निरन्तर बोल्ने पनि बताए। साथै उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई शाही आयोग जस्तो बनाउन खोजेर यो सरकारले ब्ल्याकमेल गरिरहेको आरोप लगाए। उनले भने, ‘अख्तियारलाई शाही आयोगजस्तो बनाएर मुद्दा हालिदिन्छु भन्दै ब्ल्याकमेल गरिरहेको छ। यो सबै कुराको विरोध गर्नुपर्छ।’

कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्रीलाई सच्याउने अवसर उपनिर्वाचन भएकोले कांग्रेसलाई जिताउन आग्रह गरे। ‘प्रधानमन्त्री ओलीजीले दुई वर्ष जेजे गर्छु भन्नुभएको थियो, अब खै के ग¥यौं भनेर प्रश्न सोध्ने बेला भएको छ। उहाँ जुन शैलीमा हिँड्न खोजिरहनु भएको छ, त्यो शैली बदल्न आवश्यक छ,’ वक्ता नेता थापाले भने, ‘यो उपनिर्वाचन प्रधानमन्त्रीलाई सच्याउने अवसर हो, प्रधानमन्त्री र सरकारलाई मैले गल्ति गर्दैछु भनेर सोच्न बाध्य पार्ने मौका हो।’

नेता थापाले आगामी दुई वर्षको लागि धरानमा कांग्रेस नेतृत्वको स्वाद लिन मतदातालाई आग्रह गरे। उनले वाग्लुङमा नेकपाले संघीयता नै खारेज गछौं भन्ने राष्ट्रिय जनमोर्चासँग चुनावी तालमेल गरेर जनआन्दोलनको उपलब्धि संघीयता खारेज गर्ने दिशामा अघि बढेको आरोप पनि लगाए। उनले भने, ‘सात प्रदेश खारेज हुन्छ, संघीयता टिक्दैन भन्ने जनमोर्चासँग घाँटी जोडेको छ। यो सरकार, नेकपा संघीयता खारेज गर्ने पक्षमा छ।’

कांग्रेस केन्द्रीय सदस्य तथा धरानको उपनिर्वाचनका कमान्डर महेश आचार्यले प्रधानमन्त्रीको पछिल्लो कदमले देशलाई ठुलो दुर्घटना निम्त्याउन सक्ने भएकोले त्यसलाई रोक्नका लागि पनि यो उपनिर्वाचनको परिणाम महŒवपूर्ण हुने बताए। उनले पनि नेपाली कांग्रेसलाई जिताउन आग्रह गर्दै सरकारलाई आफ्नो गल्ती अनुभव गराउन मतदातासँग आह्वान गरे। ‘धरानको विकास र समृद्धि विगत २८ वर्षदेखि जहींको त्यहीं छ, दुईतिहाईको सरकार कुरामात्र गर्ने काम नगर्ने भइरहेको छ,’ उनले भने, ‘यो उपनिर्वाचनले यो सरकारलाई झक्झकाउनुपर्छ। जनता जाग्नुपर्छ, जनता जागेपछि जस्तै किल्ला पनि ढल्छ।’ सभामा नेताहरू विमलेन्द्र निधी, डा.रामशरण महत, भीष्मराज आङ्देङ्बे, नेत्री डिला संग्रौलालगायतले पनि बोलेका थिए।

भ्रष्टाचारको पर्दाफास गर्छु : उम्मेदवार तिलक राई
कांग्रेसबाट मेयर पदका उम्मेदवार तिलक राईले नेकपा नेतृत्वको उपहानगरपालिकामा जनप्रतिनिधि र केही भ्रष्ट कर्मचारीहरूको मिलेमतोमा व्यापक भ्रष्टाचार भइरहेको आरोप लगाउँदै आफू निर्वाचिन भएपछि विगतको भ्रष्टाचार सबै पर्दाफास गर्ने प्रतिबद्धता जनाएका छन्। अन्तिम चरणको चुनावी आमसभामा आफ्नो प्रतिबद्धता जनाउँदै उम्मेदवार राईले उपमहानगरमा बेथिति र विकृतिको चाङ लागेको र त्यसको अन्त्यका लागि यसपटक परिवर्तनको पक्षमा कांग्रेसलाई जिताउन आह्वान गरे। ‘कम्युनिस्ट नेता र केही कर्मचारीहरूको हालीमुहाली छ, त्यहाँ बन्दकोठाभित्र भ्रष्टाचार छ, नीतिगत रूपमा थुप्रै भ्रष्टाचार भएको छ। त्यो सबै म पर्दाफास गर्छु,’ उनले भने, ‘तिलक राईले जितेर आउने भयो भनेर नगरपालिकाको भ्रष्ट कर्मचारीहरूको ओठ–तालु सुकेको छ, अर्कोतिर इमानदार कर्मचारीहरू तिलक राईको पखाईमा छन्।’

उम्मेदवार राईले नेकपा नेतृत्वले धरानको खानेपानी, बसपार्क, एयरपोर्टलगायत सबै आयोजनाहरू तहसनहस पारेको पनि आरोप लगाए। उनले खानेपानी आयोजनामा ५० औं करोड भ्रष्टाचार भएको र त्यसको हिसाबकिताब सार्वजनिक गर्न लिखित रूपमा माग गरे पनि सार्वजनिक नगरेको बताए। ‘भोलि यहाँ हुने आमसभामा हिसाब देखाओस्,’ उनले भने, ‘नत्र १४ गतेपछि मेयरको कुर्सीमा बसेर तिलक राई आफैंले भ्रष्टाचारको पर्दाफास गर्नेछ।’
उनले आफूले जिते अवैज्ञानिक र अव्यवहारिक करपछि घटाउने, आफूले तलब–भत्ता, सुविधा नलिने प्रतिबद्धता पनि जनाए। आमसभा अघि धरान १२ चतरालाइनबाट बृहत् -याली निस्केको थियो।

प्रकाशित: ११ मंसिर २०७६ ०१:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App