१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

रूसमाथि चारवर्षे प्रतिबन्धको खतरा

मस्को – विश्व एन्टी डोपिङ एजेन्सी (डब्लुएडिए) को आश्चर्यजनक प्रतिवेदन सार्वजनिक भएसँगै रूसका एन्टी डोपिङ (आरयुएसएडिए)  प्रमुख युरे गानोसले मंगलबार आफ्नो राष्ट्र आगामी ४ वर्षका लागि सबै खाले प्रतियोगिता खेल्नबाट वञ्चित हुने सम्भावना रहेको बताएका छन्।

डब्लुएडिएको कम्पेन्स रिभ्यु कमिटीले सोमबार मस्कोले अनुसन्धानकर्तालाई गलत प्रतिवेदन दिएको भन्दै रूसमाथि प्रतिबन्ध लगाउन सुझाव दिएको थियो।

साथै कमिटीले रूसलाई आगामी ४ वर्षका लागि कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्नसमेत प्रतिबन्ध लगाउन सिफारिस गरेको थियो। यससँगै युरो २०२० को एक आयोजनास्थल रहेको सेन्ट पिटर्सबर्गमा खेल हुनेमा अन्योल सिर्जना भएको छ।

डिसेम्बर ९ मा पेरिसमा बस्ने डब्लुएडिएको कार्यकारी बैठकमा कमिटीले गरेको सिफारिस प्रस्तुत गरिनेछ। ‘यो सत्य हो,’ गानुसले भने, ‘हामी आगामी ४ वर्षका लागि सम्भावित खतरामा परिसकेका छांै। यसले २०२० को टोकियो ओलम्पिक र २०२२ मा बेइजिङमा आयोजना हुने विन्टर ओलम्पिकमा रूसको सहभागिता अन्योलमा परेको छ।’

‘सबैभन्दा खतरनाक र दुखद पक्ष भनेको हाम्रा खेलाडी आफ्नै देशको खेलपदाधिकारीको स्वार्थको सिकार बनिरहेका छन्,’ गानुसले भने। डब्लुएडिएले २०१५ बाटै रूसमा सरकारी पक्षबाटै खेलाडीलाई शक्तिवर्धक औषधी खुवाउने गरेको भन्दै अनुसन्धान गर्दै आएको छ। २०१६ को रियो ओलम्पिकका अन्य स्पर्धामा प्रतिस्पर्धा गर्न पाए पनि रूसका ट्य्राक एन्ड फिल्ड एथ्लेटहरूमाथि भने प्रतिबन्ध लगाइएको थियो।२०१८ को प्योङयाङ विन्टर ओलम्पिकमा भने सबै खेलमा रूसमाथि प्रतिबन्ध लगाइएको थियो। यद्यपि रूसी खेलाडीलाई ओलम्पिक झन्डामुनि प्रतिस्पर्धा गर्न भने अनुमति दिइएको थियो।

मस्कोका खेलअधिकारीहरूले भने अब पनि रूसमाथि प्रतिबन्ध लगाइए त्यो दुर्भाग्यजनक हुने बताएका छन्। ‘यो निकै आश्चर्यजनक खबर हो,’ रूस स्पिड स्केटिङ युनियनका कार्यकारी प्रमुख भार्भरा बार्यसेभाले भनिन्। ‘यो नियोजित घटना हो र यसमा उनीहरू सफल भए,’ रूस बक्सिङ फेडरेसनका अध्यक्ष उमर क्रिमलेभले भने, ‘रूसले विश्व खेलकुदको विकासमा महŒवपूर्ण भूमिका खेल्दै आएको छ। यस्तो राष्ट्रमाथि कसरी प्रतिबन्ध लगाउन सकिन्छ ?’

१९९८ को सियोल ओलम्पिकमा ग्रेको– रोमन रेस्लिङतर्फका स्वर्ण पदक विजेता मिख्हेल मामिस्भेल्लीले उक्त सिफारिसलाई नियोजित भएको प्रतिक्रिया दिएका छन्। ‘खेलाडी केका लागि दोषी ?,’ मामिस्भेल्लीले भने, ‘मैले पनि प्रतिबन्धकै कारण १९८४ को लस एन्जल्स ओलम्पिक गुमाएको थिएँ, किनभने त्यो समय अफगानिस्तामा युद्ध चलिरहेको थियो। त्यसैको रिस साँध्नका लागि हामीमाथि प्रतिबन्ध लगाइएको थियो।’

 

प्रकाशित: ११ मंसिर २०७६ ०१:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App