२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
खेल

सरकारद्वारा पुरस्कार वृद्धिको उधारो घोषणा

काठमाडौं – आसन्न दक्षिण एसियाली खेलकुदमा सहभागी भई राष्ट्रका लागि पदक दिलाउने खेलाडीलाई सरकारले यसअघि दिँदै आएको सेवासुविधालाई वृद्धि गरेर पुरस्कृत गर्ने जनाएको छ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले १३औँ सागका खेलाडीहरुलाई विशेष सम्बोधन गर्ने कार्यक्रममा स्वास्थ्यका कारण उपस्थित नभएपछि अर्थमन्त्री डाक्टर युवराज खतिवडाले गरेको सम्बोधनमा सो घोषणा गरेका हुन्। यद्यपि उनले पुरस्कार राशिमा कति वृद्धि हुन्छ भन्ने बताएनन्।

‘उत्साहित हुने गरी पुरस्कार घोषणा गर्न प्रधानमन्त्रीले भन्नुभएको छ,’ अर्थमन्त्री खतिवडाले भने, ‘१३औं दक्षिण एसियाली खेलकुदका लागि विगतको पुरस्कारमाथि उल्लेख्य वृद्धि गर्दै आकर्षक पुरस्कार दिनेछौं। सबैले देश र पदकका लागि खेल्नुस्।’

सरकारले यसअघि स्वर्ण विजेता खेलाडीलाई ३ लाख, रजत विजेतालाई २ लाख र कांस्य विजेतालाई १ लाख प्रदान गर्दै आएको थियो। यस्तै अर्थमन्त्री खतिवडाले राष्ट्रिय खेल भलिबलका लागि कभर्ड हल निर्माण गर्ने स्थलसहित प्रस्ताव ल्याउन आग्रह गरे। आएको प्रस्तावलाई सम्बोधन गर्ने आश्वासन पनि दिए।

दक्षिण एसियामा राजनीति हाबी भए पनि खेलले सबैलाई एउटै सूत्रमा बाँध्न सफल भएको अर्थमन्त्री खतिवडाले सम्बोधनमा बताए। ‘खेलकुदबाट राष्ट्रिय एकता बलियो हुन्छ। त्यसैले खेलाडी र खेलकुद निकायमा संकीर्ण सोचाइभन्दा माथि उठेर काम गर्दा सफलता देश र खेलाडीका लागि प्राप्त हुन्छ,’ अर्थमन्त्री खतिवडाले भने, ‘दक्षिण एसियामा राजनीति हाबी भए पनि खेलले एउटै सूत्रमा बाध्न सफल भएको छ। तर सागले सबै देशलाई एकै ठाउँमा ल्याउन सकेको छ। त्यसैले खेलकुद राष्ट्रिय एकतामा बाँध्ने राम्रो माध्यम हो।’

साथै सरकारले गत कात्तिक २८ गते बंगलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोन भलिबल प्रतियोगिताका विजेता नेपाली महिला खेलाडीहरूलाई यस अघि घोषणा गरेको पुरस्कार पनि प्रदान गरेको छ। सरकारले खेलाडीहरुलाई जनही  ३÷३ लाखसहित सम्मान गर्ने घोषणा गरेको थियो।

नेपाल ओलम्पिक कमिटी अध्यक्ष जीवनराम श्रेष्ठले खेल र खेलाडीले राष्ट्रको पहिचान बनाउने भएकाले खेलमा कटिबद्ध भएर लाग्न सबै खेलाडीलाई अग्रह गरे। नेपालमा एसियाली खेलकुद आयोजना हुँदा सधैं विशेष रहने गरेको र यो संस्करणमा विशेष सफलता मिल्ने विश्वास व्यक्त गरे। ‘तपार्इं खेलाडीहरु पदकका लागि अर्जुन दृष्टिका साथ अभ्यास गर्नुस्,’ अध्यक्ष श्रेष्ठले भने, ‘कुन देश आउँछ आउँदैन भन्ने विषयमा खेलाडीले ध्यान दिन जरुरी छैन, जसरी पनि जित्छु भन्ने अठोटका साथ केन्द्रित हुनुहोस्। पदक टाढा छैन।’

त्यस्तै, युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले भलिबल खेलले सेन्ट्रल जोनमा हात पारेको सफलता जस्तो सागमा अन्य खेलले पनि सफलता हात पार्नेमा विश्वास व्यक्त गरे। ‘अनेकौं प्रश्नका बावजुत पनि साग आयोजनाका लागि हामी तयार भइसकेका छौं,’ युवा तथा खेलकुदमन्त्री विश्वकर्माले भने, ‘मंसिर १५ गतेको उद्घाटन समारोह भव्य र सभ्य हुनेछ।’ नेपालमा तेस्रो पटक आयोजना हुन लागेको १३औं संस्करणमा २६ स्पर्धामा विभिन्न सात राष्ट्रले प्रतिस्पर्धा गर्दै छन्।

प्रकाशित: ११ मंसिर २०७६ ०१:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App