१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

अनुसन्धानमूलक शिक्षा

डा. लक्ष्मीकुमार पराजुली
नेपालको वर्तमान शिक्षा प्रणालीमा समयानुकूल सुधार, अनुसन्धानमुखी शैक्षिक पाठ्यक्रमको अवलम्बन तथा विज्ञान र प्रविधिको जगमा उभिएर राष्ट्र निर्माण गर्नुपर्छ भन्ने धारणा शिक्षाविद्लगायत नेतृत्व वर्गले समेत उठाउने गरेकापाइन्छ। यसका लागि सर्वप्रथम त हाम्रा विश्वविद्यालय सच्चा अर्थमा विश्वविद्यालय हुन जरुरी छ। अन्तर्राष्ट्रिय मान्यताअनुसार सामान्यतया विश्वविद्यालय भन्नाले अनुसन्धानमार्फत् ज्ञान सिर्जना गर्ने थलोका रूपमा बुझिन्छ। तसर्थ विश्वभरिका विश्वविद्यालयलाई समेटेर गरिने स्तर मापन (¥याङ्किङ) मा पनि अनुसन्धान तथा नयाँ ज्ञानको सिर्जनालाई नै मुख्य आधार मान्ने गरिन्छ।

यसरी सिर्जित ज्ञानलाई पुस्तक अथवा जर्नल आदि कृतिका माध्यमबाट संरक्षण तथा नयाँ पुस्तालाई हस्तान्तरण गर्ने प्राज्ञिक अभ्यास रहिआएको छ। कुनै विश्वविद्यालयले अनुसन्धानबाट ज्ञान सिर्जना नगरी केवल पाठ्यक्रम मात्रै अध्यापन गराउँछ भने त्यसलाई साँचो अर्थमा विश्वविद्यालय मान्न सकिन्न। अहिलेको डिजिटल युगमा पाठ्यपुस्तकबाट मात्रै आर्जित घोकन्ते शिक्षाको खासै गहन अर्थमा उपादेयता रहँदैन किनभने तथ्य, परिभाषा, सूत्र नजानेको खण्डमा पनि गुगलको सहायताले यस्ता सूचना केही सेकेन्डभित्रै हात पार्न सकिन्छ। रोचक त कतिपय विदेशी विश्वविद्यालयमा त परीक्षा हलमा नै किताब, नोट सबै लगेर मजाले किताब खोलेर नै परीक्षा दिन सकिन्छ। तर विषयको गहन बुझाइ र अनुसन्धानात्मक ज्ञानको अभाव भएका परीक्षार्थीलाई भने जति नै पटक किताब अथवा नोट हेरे पनि सही उत्तरको मेसो पाउन भने असम्भव नै हुन्छ।

जुन देशको शिक्षा प्रणाली अनुसन्धानमा आधारित हुंँदैन त्यस देशका नागरिक अरु देशबाट आयात गरिएका प्रविधिका केवल अन्तिम प्रयोगकर्ता (एन्ड युजर) मात्रै रहन्छन्।

जुन देशको शिक्षा प्रणाली अनुसन्धानमा आधारित हुंँदैन त्यस देशका नागरिक अरु देशबाट आयात गरिएका प्रविधिका केवल अन्तिम प्रयोगकर्ता (एन्ड युजर) मात्रै रहन्छन्। विश्वमा विज्ञान प्रविधि तथा अनुसन्धानमा प्रगति गरेका मुलुकहरू नै आर्थिकरूपमा अग्रस्थानमा छन्। नवप्रवर्तन सूचकांक अथवा ग्लोबल इनोभेसन इन्डेक्स २०१९ को तथ्यांक हेर्दा पनि एकदेखि एकचालीसौँ स्थानसम्म रहेका सबै राष्ट्र आर्थिकरूपले उच्च मानिने राष्ट्र नै छन्। यस सूचकांकका लागि समावेश गरिएका १२९ वटा मुलुकमध्ये हाम्रो देश नेपाल भने १०९ औँ स्थानमा छ। रोचक कुरा त के छ भने नेपालभन्दा करिब सात गुणा कम क्षेत्रफल भएको इजरायलमा मात्रै ४००० भन्दा बढी प्रविधिमा आधारित कम्पनी छन्।

इजरायलको राजधानी तेलअभिभलाई अमेरिकाको सिलिकन भ्यालीपछिको सबैभन्दा बढी प्रविधिमा आधारित कम्पनी भएको सहर मानिन्छ। अनुसन्धानकर्ता तथा वैज्ञानिकहरूको संख्याकै तुलना गर्ने हो भने पनि इजरायल, जापान, दक्षिण कोरिया, सिंगापुर, जर्मनी, अमेरिकाजस्ता देशमा प्रत्येक एक लाखजना नागरिकमध्ये ५ सयदेखि ८ सयजनाले अनुसन्धानलाई आफ्नो मुख्य पेशाका रूपमा अवलम्बन गरेका पाइन्छ। जबकि नेपालमा भने प्रत्येक एक लाखजना नागरिकमा केवल ६ जनामात्रै अनुसन्धानकर्ता छन्। विश्वका विकसित मुलुकका सरकार जस्तै दक्षिण कोरियाले आफ्नो कुल गार्हस्थ्य उत्पादनको ४.२, जापानले ३.५, अमेरिकाले २.७ , चीनले २.१९ प्रतिशत लगानी गरिरहँदा नेपालले भने केवल ०.३८ प्रतिशतमात्रै लगानी गरिरहेको छ। यो तथ्यांकलाई मध्यनजर गरी अनुसन्धानका लागि चाहिने मानवस्रोत, साधन, वृत्ति विकासमा लगानी गरेमात्रै चाहेको आर्थिक समृद्धि हासिल गर्न सकिन्छ भन्ने तथ्य नकार्नु हुँदैन।

इजरायल, जापान, दक्षिण कोरिया, सिंगापुर, जर्मनी, अमेरिकाजस्ता देशमा प्रत्येक एक लाख नागरिकमध्ये ५ सयदेखि ८ सयजनाले अनुसन्धानलाई मुख्य पेशा बनाएका छन् जबकि नेपालमा भने प्रत्येक एक लाखमा केवल ६ जनामात्रै अनुसन्धानकर्ता छन्।

हाम्रो देशलाई अनुसन्धानका लागि चाहिने मानवस्रोत विकास गर्नबहुविधागत (मल्टिडिसिप्लिनरी) प्रकारको शिक्षा प्रणाली अवलम्बन गर्नु अपरिहार्य छ। विज्ञान र प्रविधिका क्षेत्रमा हुने अनुसन्धानहरूमा केवल एउटा मात्रै व्यक्ति अथवा एउटामात्रै प्रयोगशालाले गरेर अनुसन्धान पार लाग्दैन। प्रायः राम्राखालका अनुसन्धानमा विभिन्न विधाका अनुसन्धानकर्ता र प्रयोगशालाबीच सहकार्य अनिवार्य हुन जान्छ। यसै कारण अमेरिका, युरोपका विश्वविद्यालयमा स्नातक तहमा आफ्नो मुख्य विधाबाहेकका अरु पाठ्यक्रम पनि नपढी डिग्री हासिल सम्भव हुँदैन। विदेशी विश्वविद्यालयहरूमा स्नातक तहमा वाणिज्यशास्त्रलाई मुख्य विधा बनाएर पढेका विद्यार्थीले जीव विज्ञानमा विद्यावारिधि गरेपनि आश्चर्य मानिँदैन। अझै भन्ने हो भने कति विश्वविद्यालयमा त भविष्यमा नीतिनिर्माता बन्न चाहने विद्यार्थीलाई नै लक्षित गरेर बहुविधागत पाठ्यक्रम तयार गरिएका हुन्छन्। जस्तो क्यालिफोर्निया विश्वविद्यालय बर्कलीमा ‘भविष्यका राष्ट्रपतिहरूका लागि भौतिक शिक्षा’ विषयमा समेत अध्यापन गराएको पाइन्छ।

विद्यार्थीलाई प्रदान गरिने अनुसन्धानमूलक शिक्षा रोजगारमुखी हुनका साथै आर्जन गरेको ज्ञानले अन्ततोगत्वा राष्ट्रको आर्थिक स्थितिलाई मजबुत बनाउन टेवा पुग्नेखालको हुनु जरुरी छ। यसको एउटा दिगो उपाय भनेको प्रत्येक विश्वविद्यालयसँग आफैँमा सीमित बजेटमात्रै हुने हुनाले उनीहरूले ठूला उद्योगसँग सहकार्य गरेर अनुसन्धानमुखी पाठ्यक्रम तथा अनुसन्धानका कार्य अगाडि बढाउन सक्छन्। यदि विश्वविद्यालय र औद्योगिक प्रतिष्ठानबीच सुमधुर सहकार्य भएको खण्डमा दुवै पक्षले यसको लाभ लिन सक्छन्। विश्वविद्यालयका विद्यार्थीसँग सहकार्य गर्दा निजी कम्पनीले आफ्नै कम्पनीमा महँगो तलब दिएर अनुसन्धानकर्ताराख्न नपर्ने र मानव स्रोतको विकासका लागि पनि उल्लेखनीय मात्रामा समय र पुँजी खर्च गरिरहन आवश्यक नपर्ने हुँदा कम्पनीलाई आर्थिक हिसाबले यस्ता सहकार्य  फाइदाजनक रहन्छन्।

त्यस्तै विद्यार्थी पनि आफ्नै पाठ्यक्रमको परिधिभित्र रहेर औद्योगिक प्रतिष्ठानहरूको अनुसन्धान कार्यमा संलग्न रहँदा विभिन्न कम्पनीबाट प्राप्त हुने थोरैमात्रै पारिश्रमिक भए पनि उनीहरूले विद्यार्थी रहने अवधिभर आर्थिक हिसावले सक्षम हुने अवसर प्राप्त गर्छन्। हामीले कहिलेकाहीँ नेपालका विद्यार्थीले पनि रोबोट बनाउनेदेखि लिएर अन्य धेरै नवप्रवर्तन गरे भन्ने समाचार पढ्न पाउँछौँ। यद्यपि वर्तमान अवस्थामा विश्वविद्यालय र औद्योगिक प्रतिष्ठानबीच सहकार्यको संस्कार खासै नबसेको हुँदा यस्ता नवप्रवर्तन केवल अनुसन्धानमा मात्र सीमित हुने र फलस्वरूप दिगो व्यावसायिक रूप नलिने तीतो यथार्थ छ। तसर्थ हाम्रो शिक्षा पद्धति, विज्ञान र नवप्रवर्तनलाई उद्यमशीलतासँग जोड्नु अत्यावश्यक छ।

साधारणतया आप्रवासीहरू बढी भएका मुलुकमा उच्च मात्रामा अनुसन्धानमा प्रगति, नवप्रवर्तन र उत्प्रेषण भएको पाइन्छ। जस्तो विश्वकै नवप्रवर्तनको एउटा प्रमुख केन्द्र मानिने सिंगापुरमा बसोबास गर्ने जनसंख्याको करिब आधा आप्रवासी छन्। त्यस्तै अमेरिका, इजरायल, क्यानाडाजस्ता देशमा पनि आप्रवासीको संख्या धेरै छ। आप्रवासी बढी भएका अनुसन्धान केन्द्र र विश्वविद्यालयमा फरक प्रकारका विचार आदान÷प्रदान हुनाले यस्ता ठाउँ नवप्रवर्तनका लागि ऊर्वर स्थल मानिन्छन्। विश्वकै सबैभन्दा बढी कम्पनी भएको सहर क्यालिफोर्नियाको सिलिकन भ्यालीमा कार्यरत ७० प्रतिशत वैज्ञानिक विदेशी नै छन्। जापान, भारत, चीन, दक्षिण कोरिया जस्ता मुलुकमा आप्रवासीको संख्या उल्लेखनीय नभए पनि विदेशमा पढेर फर्किएका आफ्ना नागरिकले नै विज्ञान र प्रविधिको क्षेत्रमा गरेको योगदानले यी देश विकसित भएका हुन् भन्ने गरिन्छ।

यी विभिन्न राष्ट्रका उदाहरणलाई मनन गरेर नेपालका विश्वविद्यालय तथा अनुसन्धान केन्द्रहरूले पनि आफ्नो अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्न जरुरी छ। विश्वका विभिन्न मुलुकमा अनुसन्धानकर्ताका रूपमा कार्यरत नेपालीको संख्या पनि उल्लेखनीय रहेकाले उनीहरूलाई पनि स्वदेश फर्कने वातावरण सिर्जना गरेर अनुसन्धानमा आधारित शिक्षा प्रणाली विकासमा उनीहरूको दक्षतालाई समावेश गर्नुका साथै अनुसन्धानको कुनै भौगोलिक सीमा नहुने र जुनै देशमा अनुसन्धान भएपनि समग्र मानवजातिले नै अनुसन्धानको प्रतिफल पाउने हुनाले हाम्रा विश्वविद्यालय तथा अनुसन्धान केन्द्रहरूमा विदेशी जनशक्तिसमेत आकर्षित गर्न जरुरी छ।

अनुसन्धान भन्नेबित्तिकै झट्ट सुन्दा कतिपयलाई एकदम खर्चिलो र तुरुन्तै प्रतिफल नआउने अत्याधुनिक विधा हो कि भन्ने सतही बुझाइ पनि हुन सक्छ। तर यथार्थ त्यस्तो हैन। हाम्रा पाठ्यक्रम र अनुसन्धानलाई हाम्रै माटो सुहाउँदो बनाउन सके यो विधा पनि अरुजस्तै सर्वसुलभ हुनुका साथै जनमानसको चासो पनि आकर्षित गर्न सकिन्छ। हाम्रा सापेक्षिक लाभका विषय, जस्तै– उच्च धरातलीय अनुसन्धान, वायु शक्ति, जैविक विविधता, जडीबुटी, परम्परागत सिप, भाषा, संस्कृति जस्ता विषयमा पाठ्यक्रम तथा अनुसन्धानलाई केन्द्रित गर्न सकियो भने विश्वसामु नेपाल पनि अनुसन्धानमा एउटा सफल र सवल राष्ट्रका रूपमा पहिचान गराउन खासै समय नलाग्ला।

कहिलेकाहीँ महँगा प्रयोगशालाहरूमा नै परीक्षण गर्नुपर्ने आवश्यकता आएको खण्डमा पनि विदेशी विश्वविद्यालय र अनुसन्धान केन्द्रहरूमा कार्यरत नेपाली वैज्ञानिकहरूको सहयोग पनि लिन सकिन्छ। अझै महŒवपूर्ण र खुसीको कुरा त हाम्रा दुई छिमेकी राष्ट्र चीन र भारत संख्याका आधारमा विश्वमै विज्ञान तथा प्रविधिका विधामा कृति प्रकाशन गर्ने देशमध्येक्रमशः पहिलो र तेस्रो स्थानमा छन्। यो परिप्रेक्ष्यमा हाम्रो धेरै अनुसन्धानमूलक कार्य यी दुई हितैषी छिमेकी राष्ट्रसँग पनि सहकार्य गरेर अगाडि बढाउन सकिन्छ। हाम्रा पाठ्यक्रम तथा सोचलाई केही हदसम्म अनुसन्धानमुखी बनाउन सके  नेपाल चाँडै नै समृद्ध हुने प्रशस्त आधार छन्। हालसालै मात्र जारी गरिएको राष्ट्रिय विज्ञान प्रविधि तथा  नवप्रवर्तन नीतिले पहिलोपटक नवप्रवर्तनका विभिन्न आयामलाई समेटेकाले पनि अनुसन्धान, विज्ञान तथा प्रविधिका विषयहरूमा आशावादी नै हुनुपर्ने देखिन्छ। (सहायक प्रा., जुन्तेंदो विश्वविद्यालय, टोकियो)

प्रकाशित: १० मंसिर २०७६ ०३:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App