१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

पाँच करोड लागतमा तारजाली उद्योग सञ्चालनमा

कैलाली – रोजगारीको अवसर नपाएर हजारौं युवा विदेश गइरहेका बेला ग्रामीण क्षेत्रका दुई युवा उद्योग खेलेर आत्मनिर्भर बन्ने बाटोमा लागेका छन्। कैलालीको गोदावरी नगरपालिकास्थित बिजौरा गाउँमा दुई युवाले सुदूरपश्चिममै पहिलो तारजाली उत्पादन गर्ने उद्योग सञ्चालनमा ल्याएका हुन्।

सुदूरपश्चिम मेटल उद्योगका नाममा युवाले सुदूरपश्चिमको ग्रामीण क्षेत्र बिजौरामा तारजाली उत्पादन गर्दै आएका छन्। वीरगन्जपछि पश्चिमको बिजौरामा यस्तो उद्योग सञ्चालनमा आएको सञ्चालकको भनाइ छ।

स्थानीय लक्ष्मण कठायत र प्रकाश देउवा मिलेर पाँच करोड लागतमा तारजाली उत्पादन गर्ने उद्योग सञ्चालनमा ल्याएका हुन्। दुवैले फरक व्यवसाय र रोजगारीबाट फर्केर आफ्नै लगानीमा उद्योग खोलेका हुन्। १५ वर्ष गैरसरकारी संस्थाको जागिरे कठायत र लामो समयदेखि कृषि उद्यममा सक्रिय देउवा पुरानो व्यवसाय र रोजगारी छाडेर उद्योगी बनेका हुन्।‘यो कृषि कर्मभन्दा फरक पाटोमा हामीले हात हालेका छौं, यसमा पनि सोचेभन्दा राम्रै भइरहेको छ,’ देउवाले भने।

उनीहरुले गाउँमै मेसिन जडान गरी गत जेठदेखि उत्पादन सुरु गरेका हुन्। कच्चा पदार्थ भारतबाटै आयात गरिएपनि त्यसलाई मेसिनमा राखेर तयारी माल भने गाउँमै बनाउन थालेको उनीहरु बताउँछन्। देउवा भन्छन्, ‘कच्चा पदार्थका रुपमा आउने फलाम भने स्वदेशमा उत्पादन हुँदैन, त्यसैले भारतबाट आयात गर्छौं र उत्पादन हामी आफ्नै ब्रान्डका नामले दिइरहेका छौं।’ आफूहरुको उद्योगले खिया नलाग्ने, नभाँचिने र बांगो नहुने विशेष प्रविधियुक्त मेसिनबाट तारजाली उत्पादन गरिरहेको उनले बताए। ‘हाम्रो उत्पादन आकर्षक हुनुका साथै खिया नलाग्ने प्रविधिको छ,’ देउवाले भने।

उनीहरुको उद्योगबाट अहिले बर्फी जाली, बाउन्ड्री जाली, मच्छर जाली, ग्याबिन जालीमा नागबेली जाली र गाँठे जाली दैनिक रुपमा उत्पादन भइरहेको छ। दैनिक ६ टनभन्दा बढी उत्पादन भइरहेको जाली सुदूरपश्चिमका सबै बजारमा खपत हुन्छ। ‘हामीले उत्पादन गरेको जाली सुदूरपश्चिमका बजारमा सोचेभन्दा राम्रो खपत भइरहेको छ,’सञ्चालक देउवाले भने,‘बाहिरबाट भित्रिने जालीमा ढुवानी खर्च जोडेर उपभोक्तालाई महँगो पर्न थालेपछि ढुवानी खर्च नै नजोडिने मूल्यमा आधाभन्दा सस्तोमा हामीले दिन थालेपछि उद्योगमै आएर अर्डर लिनेको संख्या बढेको छ।’

भारतको दिल्लीबाट आधुनिक प्रविधिको मेसिन भिœयाएर गाउँकै युवालाई तालिम दिई स्वरोजगार बन्ने उद्देश्यले उद्योग स्थापना गरेको बताउँदै सञ्चालकमध्येका कठायतले भने,‘हामी दुवैले वर्षौंसम्म अन्य रोजगार तथा उद्यम ग¥यौं,पछिल्लो समय आफ्नै गाउँठाउँमा उद्योग सञ्चालन गरेर स्वरोजगार किन नबन्ने भनेर यसमा लागेका छौं।’

सुरुसुरुमा भारतबाटै तारजाली बनाउने मिस्त्री ल्याएर यहाँका युवालाई तालिम दिएको बताउँदै कठायतले थपे,‘बाहिरबाट कामदार ल्याई उनीहरुलाई आवास र खाना खर्च दिँदा उपभोक्तालाई महँगो पर्ने भएकाले गाउँकै युवालाई तालिम दिएर रोजगारी प्रदान गरिरहेका छौं।’

अहिले उक्त उद्योगमा ४० जनालाई रोजगारी दिएको उनले बताए।स्थानीय तह तथा प्रदेशको वन, पर्यटन तथा उद्योग मन्त्रालयले लगानीका लागि सुरक्षित वातावरण नबनाएको उनीहरुको गुनासो छ। देउवा भन्छन्, ‘हामीले उद्योग सञ्चालन गरेबापत स्थानीय र प्रदेश सरकारलाई कर तिरिरहेका छौं। तर सरकारले लगानी सुरक्षाको वातावरण बनाइदिन कुनै पहल गरेको छैन।’

सरकारले लगानी सुरक्षाको वातावरण नबनाएका कारण धेरै पहिले खुलेका उद्योगधन्दा सुदूरपश्चिममा डुबेका उदाहरण सुनाउँदै उनले भने,‘सुदूरपश्चिम प्रदेश सरकारले युवालाई स्वरोजगार बनाउन तथा विदेश पलायनबाट रोक्न उद्योग सञ्चालन गर्नेलाई सुरक्षित लगानीको वातावरण बनाउन करछुट दिए उद्योगमा युवा आकर्षण बढ्थ्यो।’

आफूले भारतबाट कच्चा पदार्थका रुपमा ल्याउने तारलाई प्रदेश सरकारले तयारी मालमा सहर कर लगाएको उनको गुनासो छ। ‘हामीले कच्चा पदार्थका रुपमा ल्याउने तारलाई गाउँकै मेसिनमा पेलेर त्यसबाट नयाँ तथा तयारी माल उत्पादन गर्छौं,’ उनले भने,‘कच्चा पदार्थमै भन्सारमा ४३ प्रतिशत कर तिर्न बाध्य छौं।’ तयारी माल भारतबाट भिœयाउँदा पर्ने ४३ प्रतिशत कर नै कच्चा पदार्थ ल्याउँदा तिर्नुपर्दा उपभोक्ता अझ महँगोमा पर्ने उनले बताए।

फरक पेसाबाट उद्योग क्षेत्रमा हात हाल्दा छोटो समयमै राम्रो आम्दानी गर्नुका साथै गाउँ–समाजमा सम्मान पनि मिलेको उनीहरु बताउँछन्। ‘गाउँमा उद्योगधन्दा केही थिएन,’ कठायतले भने,‘आफ्नै जमिनमा उद्योग सञ्चालन गरेर गाउँकै युवालाई रोजगारी दिँदा सन्तुष्टि मिल्नुका साथै बिजौरा गाउँको नाम पनि चिनिएको छ।’

प्रकाशित: १० मंसिर २०७६ ०१:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App