१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

लोकतन्त्र पक्षधरको ऐतिहासिक जित

पछिल्लो समय सरकारविरोधी प्रदर्शनको केन्द्रबिन्दु बनेको पोलिटेक्निक विश्वविद्यालयबाहिर भेला भएर जिल्ला परिषद् निर्वाचनमा हासिल गरेको जितको खुसीयाली मनाउँदै लोकतन्त्रवादी उम्मेदवार।

हङकङ – हङकङमा आइतबार भएको जिल्ला परिषद्को निर्वाचनमा लोकतन्त्र पक्षधरले ऐतिहासिक जित हासिल गरेका छन्। निर्वाचनको मत परिणाम सार्वजनिक भएसँगै १८ वटा जिल्ला परिषद्मध्ये १७ वटामा लोकतन्त्रवादीले कब्जा जमाएको स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ।

पाँच महिनाभन्दा लामो समयदेखि अशान्त हङकङमा आइतबार सम्पन्न भएको जिल्ला परिषद्मा ७१ प्रतिशतभन्दा बढी मतदान भएको अधिकारीहरुले बताएका छन्। मुख्यभूमि चीनतर्फ सुपुर्दगी गर्नेबारे सरकारले विधेयक ल्याएपछि हङकङमा गत जुन ९ देखि सरकारविरोधी प्रदर्शन सुरु भएको थियो। लगातारको प्रदर्शनका कारण आर्थिक सहर हङकङ तनावग्रस्त रहिरहेकै बेला भएको जिल्ला परिषद्को निर्वाचनलाई प्रमुख कार्यकारी क्यारी लामको परीक्षणका रूपमा समेत हेरिएको थियो।

लोकतन्त्र पक्षधर उम्मेदवारले ऐतिहासिक जित निकालेपछि प्रमुख कार्यकारी लामले सरकाले ‘गम्भीरताका साथ हेर्ने’ प्रतिक्रिया दिएकी छन्। बेइजिङ समर्थित उम्मेदवारहरुको पराजयलाई क्यारी लामको नेतृत्वप्रति हङकङ जनताको वितृष्णा र भइरहेको आन्दोलनको समर्थनका रूपमा हेरिएको बिबिसीले उल्लेख गरेको छ। अनलाइनमार्फत सोमबार जारी गरिएको एउटा विज्ञप्तिमा प्रमुख कार्यकारी लामले सरकारले जनमतको सम्मान गर्ने जिकिर गरेकी छन्।

निर्वाचनको नतिजालाई आफूले ‘वर्तमान देशको अवस्था र समाजमा जरा गाडेर बसेको समस्याहरुलाई लिएर जनताको असन्तुष्टिका रूपमा बुझेको’ प्रमुख कार्यकारी लामको विज्ञप्तिमा भनिएको छ। ‘सरकारले जनताको आवाजलाई राम्ररी र गम्भीरताका साथ सुन्ने छ,’ उनले भनिन्।

आइतबार सम्पन्न भएको हङकङ जिल्ला परिषद्को निर्वाचनमा अहिलेसम्मकै रेकर्ड मतदाताले नाम लेखाएका थिए। हङकङको कुल जनसंख्या ७४ लाख छ, जसमध्ये आधाभन्दा बढी अर्थात् ४१ लाखले मतदाता सूचीमा नाम लेखाएका थिए। आइतबारको निर्वाचनमा २९ लाख ४० हजार मतदाताले मतदान गरेको निर्वाचन कार्यालयले जनाएको छ। यो संख्या सन् २०१५ मा सम्पन्न निर्वाचनभन्दा धेरै हो। सो निर्वाचनमा १४ लाख मतदाताले मात्रै मतदान गरेका थिए।
लोकतन्त्रवादी उम्मेदवारले खसेको मतको करिब ६० प्रतिशत मत प्राप्त गरेको भए पनि पहिलो हुने पहिलो प्रणालीअन्तर्गको निर्वाचन भएकाले लोकतन्त्र पक्षधरले ऐतिहासिक जित हासिल गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

हङकङको कूल चार सय ५२ सिट संख्या रहेको जिल्ला परिषद्मा लोकतन्त्र पक्षधरले तीन सय ४७ सिटमा जित हासिल गरेको र बेइजिङ समर्थक उम्मेदवारले मात्र ६० सिटमा जित हासिल गरेको बताइएको छ। आइतबारको निर्वाचनमा बाँकी सिट भने स्वतन्त्र उम्मेदवारले जितेको र तीमध्ये पनि अधिकांश लोकतन्त्रवादी नै रहेको चीनको ‘साउथ मर्निङ पोस्ट’को विवरण उल्लेख गर्दै बिबिसीले जनाएको छ।

चार वर्षको अघि सम्पन्न भएको निर्वाचनमा बेइजिङ समर्थित उम्मेदवारले दुई सय ९८ सिटमा जित हासिल गरेका थिए, जसको अर्थ उनीहरुले हङकङको १८ वटै जिल्ला परिषद्मा आफ्नो नियन्त्रण कायम गर्न सफल भएका थिए। तर यस पटकको निर्वाचनमा भने बेइजिङ समर्थकहरुले आइल्यान्ड जिल्ला परिषद्मा मात्रै आफ्नो नियन्त्रण कायम गर्न सफल भएका छन्।

हङकङको कानुनी व्यवस्थाअनुसार जिल्ला पार्षद्हरुसँग निकै कम शक्ति हुन्छ। त्यसलै चुनाव पनि असाध्यै स्थानीय तरिकाले नै हुने गरेको छ। तर यसपटकको चुनाव भने अलि फरक देखिएको थियो। गत जुन महिनामा सरकारविरोधी प्रदर्शन सुरु भएयता हङकङमा पहिलोपटक चुनाव भएका कारण पनि यसलाई सरकार र लोकतन्त्रवादी दुवै पक्षले आफ्नो प्रतिष्ठाको विषय बनाएका थिए। यो निर्वाचनलाई सरकारसँग कति समर्थन छ भन्ने विषयको परीक्षण गर्ने माध्यमका रूपमा समेत हेरिएको थियो।

हङकङ जिल्ला पार्षद्हरुसँग निकै कम मात्र राजनीतिक शक्ति हुन्छ। उनीहरु बसको रुट र फोहोरमैला संकलनजस्ता स्थानीय समस्याको समाधानमा मात्रै केन्द्रित हुने गरेका छन्। यो कारणले पनि जिल्ला परिषद्को निर्वाचनलाई हङकङमा त्यत्ति महŒव दिइँदैन। यद्यपि लामो समयदेखि प्रदर्शन जारी रहेकै बेला मतदान भएकाले पनि यस पटकको निर्वाचनलाई भने सरकार र विद्रोही दुवै पक्षले आफ्नो इजजतको विषय बनाएका थिए।

लोकतन्त्र पक्षधरको यसे पटकको जितको अर्थ अब सबै एक सय १७ सिटमा उनीहरुको नियन्त्रण रहेको छ र यो नतिजाले सन् २०२२ मा हुने निर्वाचनलाई पनि प्रभावित पार्ने आंकलन गरिएको छ। यो निर्वाचनलाई विद्यमान संकटलाई प्रमुख कार्यकारी लामले समाधान गर्न नसकेको आक्रोशका रूपमा समेत हेर्नुपर्ने विश्लेषकहरुले बताएका छन्।

जिल्ला परिषद्को निर्वाचनका ऐतिहासिक जित हासिल गरेपछि लोकतन्त्र पक्षधरले सहरका विभिन्न क्षेत्रमा खुसीयाली मनाएको समाचार पनि बाहिरिएको छ। मध्यरातमा निर्वाचनको मत परिणाम आउन थालेदेखि नै उनीहरु सडका निस्केर खुसीयाली मनाएका थिए।

प्रकाशित: १० मंसिर २०७६ ०१:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App