१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

ट्य्राकपछि फुटबल मैदान मार्किङ

पोखराको फुटबल मैदान। तस्बिरः उमेश पुन/नागरिक

पोखरा - पोखरा रंगशालाभित्र पूर्वाधार निर्माणको चटारोले अझै छाडेको छैन। १३औं दक्षिण एसियाली खेलकुदका लागि पूर्वाधार तयार पार्ने काम धमाधम हुँदै छ। समय निकै कम छ। यद्यपि मैदानसहित प्यारापिटको काम टुंग्याउने चटारोमा निर्माण कम्पनी छ।

मैदानको पश्चिमतर्फ प्यारापिट तयार भइसकेको छ। सिट जडानसमेत गरिएको छ। अब पूर्वतर्फ जडान गर्ने योजना छ। फुटबल मैदानको मार्किङ गर्ने तयारी गरिएको छ। मैदानभन्दा अघि ट्य्राक एन्ड फिल्डको मार्किङ गर्ने काम भइरहेको छ। ‘ट्य्राक एन्ड फिल्डको मार्किङ गर्न बेलायती प्राविधिक आइसकेका छन्,’ मैदान निर्माणकर्ता भारतीय ग्रेट स्पोटर््स इन्फ्रा तथा एम.ए कन्ट्रक्सन ललितपुर (संयुक्त) का स्थानीय प्रोजेक्ट म्यानेजर दीपक बरालले भने, ‘ट्य्राकको मार्किङपछि फुटबल मैदानको मार्किङ गरिनेछ।’ फुटबल मैदानको मार्किङ गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) का प्राविधिक टोली नै आउने उनको भनाइ थियो।

ट्य्राक एन्ड फिल्डको मार्किङ गर्न बेलायती प्राविधिक आइतबार राति मात्रै आइपुगेका हुन्। उनलाई सहयोगीका रूपमा भारतीय तथा नेपाली कामदारले सहयोग गरिरहेका छन्।  प्यारापिट जडान गर्न दुई साताअघि नै दुई फ्रान्सेली प्राविधिक पोखरा आइपुगेका थिए। प्राविधिकलाई प्यारापिट र सिट जडान गर्न स्वयंसेवको रूपमा परिचालित नेपाल प्रहरीको टोली तथा मैदानमै कार्यरत मजदुरहरुले सहयोग गर्दै आएका छन्।

पछिल्लो समय २५ हजार स्क्वायर दुबो आइपुगेको थियो। जसमध्ये आधाजसो दुबोलाई मैदानकै पूर्वतर्फ राखिएको छ। झन्डै ११ हजार स्क्वायर दुबो सञ्चित छ। सञ्चित दुबोलाई आवश्यकताअनुसार मैदानमा स्थापित गर्न सकिने गरी राखिएको कम्पनीले जनाएको छ।

चरणचरणमा आएको दुबोले मैदान पूर्ण रूपमा तयार भने भइसकेको छैन। अझै पाँच दिनको समय छ। पाँच दिनभित्र मैदानलाई फुटबल प्रतियोगिताका लागि तयार गर्ने दृढ विश्वाससहित कम्पनीले काम गरेको छ। ‘पुरानो दुबो सेट भइसकेको छ। नयाँ केही दुबो सेट हुने क्रममै छ’ उनले भने–‘फुटबल खेल्दा चपरी उप्किएको ठाउँमा नयाँ रिप्लेस गर्न सकिन्छ।’ उनका अनुसार खेल्दा जहाँ उप्किन्छ त्यहाँ चपरी हालेर मैदानको मर्मत सम्भार गरिन्छ।

पछिल्लो समय २५ हजार स्क्वायर दुबो आइपुगेको थियो। जसमध्ये आधाजसो दुबोलाई मैदानकै पूर्वतर्फ राखिएको छ। झन्डै ११ हजार स्क्वायर दुबो सञ्चित छ। सञ्चित दुबोलाई आवश्यकताअनुसार मैदानमा स्थापित गर्न सकिने गरी राखिएको कम्पनीले जनाएको छ। मैदान निर्माणको काम धमाधम चलिरहँदा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङसहितको टोलीले  सोमबार निरीक्षण गरेको छ। निरीक्षणका क्रममा उनले देश र प्रदेशकै प्रतिष्ठाको विषय भएकाले पनि त्यसको कामप्रति सबै सजग र सचेत हुनुपर्नेमा जोड दिए।

फुटबल मैदानसहित ट्य्राक एन्ड फिल्डको वरिपरि ह्याम्मर थ्रो, डिसकस थ्रो, ज्याचभलन थ्रो, पोलभोल्ट, सटफुट, हाईजम्प, लङजम्प तथा स्टेपल चेसलगायतका पुर्वाधार समेत तयार गरिँदै छ। फुटबल मैदानपछाडिको डी एरियामा एथलेटिक्सका ती पूर्वाधारसमेत बनाउने प्रोजेक्ट म्यानेजर बरालले सुनाए। एक अर्ब २८ करोडको लागतमा निर्माणाधीन फुटबल मैदानसहित प्यारापिट निर्माणपछि नेपालकै नमुना रंगशाला हुने दाबी कम्पनीले गरेको छ। २० हजार दर्शक क्षमताको प्यारापिट छ भने यहाँ एथलेटिक्सका खेलहरूसमेत आयोजना गर्न सकिन्छ। सागलाई लक्षित गरी निर्माण गरिएको पूर्वाधारले २०७७ फागुनमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि सहज हुनेछ।

प्रकाशित: १० मंसिर २०७६ ००:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App