१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

हाँसो निरन्तर जारी छ

नामवर सिंह

माफ गर्नुस्, अब मेरो स्मृति एकदम क्षीण भइसकेको छ। तपाईं दुई–तीन दशकको साहित्यबारे कुरा गर्न चाहनु हुन्छ। तर, म अहिले दुई मिनेटअघिको कुरा पनि बिर्सने अवस्थामा पुगेको छु। ९१ वर्षमा हिँडिरहेको छु। शरीरले विस्तारैविस्तारै साथ दिन छाडिरहेको छ। अब त निर्वाणको समय भएको छ। कुनै समय मैले गुरु (आचार्य हजारीप्रसाद द्विवेदी)लाई केन्द्रमा राखेर 'दूसरी परम्पराकी खोज' लेखेको थिएँ। उनैले भनेका थिए– परम्परामात्र होइन, परम्पराहरू भन्नुपर्छ। अब त मान्छेहरूले उनलाई भुल्न थालिसकेका छन्। उनको जन्मदिनको सम्झना कसैलाई हुँदैन। म भन्न सक्दिनँ, उनलाई कसैले याद गरेका छन् कि छैनन्।

हाम्रो विविधतामा हामीले गर्व गर्नुपर्छ। वेद पनि चार– ऋग्वेद, यजुर्वेद, सामवेद अनि अथर्ववेद। हाम्रा ईश्वर पनि एक छैनन्। यही विविधता हाम्रो ठूलो पुँजी हो। यो देशको दिल र दिमाग अहिले पनि बन्द छैन। संकट आइरहन्छ, तर हाम्रो हाँसो पनि जागृत भइरहन्छ। हाँसो मेटिँदैन संकट आउँदैमा।

म त लोक र वेदको पछाडि लागिरहेको थिएँ। जब गुरु भेटेँ, तब पछि लाग्नै छाडेँ। यति ठूलो देश छ। यसमा एउटै बाटोमा हिँड्ने र एउटैमात्र परम्परा मान्ने मान्छे भए भने त त्यो 'फासिज्म' भइहाल्यो। यहाँ वेदले घोषणा गरेको छ– एकोहम बहुस्याम। हामी एकबाट अनेक हुन चाहन्छौँ। यहाँ वेद पनि प्रमाण हो भने लोक पनि प्रमाण नै हो। यो बडप्पन हो। वेद पण्डितहरूको परम्परा अनि लोक जनताको परम्परा। एउटा बुद्धिमान अर्को सामान्य मानिस। तुलसीदासले लेखेका थिए– लोकहुँ वेद न आन उपाई। यति धेरै भाषा, यतिविधि धर्म, हरेक मान्छे आफ्नो हिसाबमा बाँच्न स्वतन्त्र। यो विविधताको मुख्य शक्ति नै हिन्दू धर्म हो। यही कारण नै हिन्दू धर्म यति लामो कालखण्डसम्म पनि बाँचिरहेको छ। जैन धर्मले अनेकान्तवादलाई मान्छ। यसैले जैन धर्म यहाँ बाँचिरहेको छ। यो तथ्यलाई ध्यानमा राख्नुपर्छ– क्रिश्चियनिटी, इस्लाममा एक ईश्वर, एक किताब। अंगे्रजहरू पनि हाम्रो यही विविधताको कदर गर्छन्।

स्वयं (जर्ज अब्राहम) ग्रियर्सनले लिंग्विस्टिक सर्भे अफ इन्डियामा भारतका सबै भाषाको सर्भेक्षण गर्दै भनेका थिए– यति धेरै भाषा र बोली अन्त कतै छैन। एउटै हिन्दीमा यतिविधि बोली छन्।

हिन्दूत्वका पनि दुई प्रकार छन्। एउटा आरएसएसको छ, अब त त्यो पनि सरकारमा आइसकेको छ। तर, त्यो मूलधार बन्न सकेको छैन। असली हिन्दू धर्मले त हामीलाई समुद्रको जस्तो विशालता प्रदान गर्छ। हिन्दू जन्मजात हुन्छ, बनाएर बनिँदैन। हामीले कसैलाई हिन्दू बनाएका छैनौँ। जन्मजात हिन्दू। आरएसएसको हिन्दूत्व 'राजनीतिक हिन्दूत्व' हो। ती भन्छन्– 'नमस्ते सदा वत्सले मातृभूमे' अनि मातृभूमिका निम्ति गर्छन् के? हिन्दूत्वमा जुन स्वतन्त्रता र खुलापन छ त्यसको सुरक्षा गर्नु आवश्यक छ। आरएसएसको प्रोपोगान्डाबाट हामीले आफ्नो आत्मालाई सुरक्षित राख्नुपर्छ।

वर्णव्यवस्था हिन्दू धर्मको सबैभन्दा ठूलो कमजोरी बनेर रह्यो। बुद्धले यसै वर्ण व्यवस्थालाई तोडेका थिए। सबैभन्दा बढी क्रान्ति भक्तियुगमा भयो। भक्ति आन्दोलनको समय सबैभन्दा राम्रो अवस्था थियो। पहिलो विद्रोह बुद्धले गरे भने दोस्रो भक्ति आन्दोलनले गरेको थियो। चाहे निर्गुण होस् वा सगुण, सबैखालका धारामा यो देखियो। त्यसपछि नवजागरणको समय आयो। गान्धीजी त्यही समयमा उदाए।

हाम्रो भारतीय साहित्य परम्पराको निकै लामो इतिहास छ। यसमा साहित्य र विभिन्न कलाको मुख्य भूमिका रहेको छ। वाल्मीकि, कबिर अनि तुलसी हाम्रो मुख्य धारा हुन्। ती हाम्रा सांस्कृतिक विरासत हुन्। उथलपुथलको समयमा मुख्य धाराले के गर्नुपर्छ? मुख्य धाराले संवाद रोक्नु हुन्न। हामीले इस्लाम वा इसाइमा जस्तो कट्टरता देखाउनु हुँदैन। सूफीवालाहरूले पनि विद्रोह गरे, तर सूफी परम्परा मौलवीहरूको विरुद्ध गयो। हाम्रोमा त्यो काम भक्ति आन्दोलनले गर्‍यो। अनि पछि भारतेन्दु हरिश्चन्दद्वारा रेनेसाँकाल सुरु भयो।

एउटा कुरा के हो भने, हामीले हाम्रो परम्परालाई सुरक्षित राख्यौँ। जब मान्छेहरू लेख्न जान्दैनथे, तब याद गर्ने परम्परा थियो। वेद भन्नु याद (सम्झना) नै त हो। त्यसपछि लेखनकला सुरु भयो, मुद्रण आयो, टेपरेकर्डर आयो। पूरा आवाज नै टेपमा राख्न सकिने भयो। स्मरणीय कुरो के छ भने– परम्परा एकै दिनमा बन्दैन। पुस्तौँपुस्तामा यो तयार हुन्छ। थाहा छ, हामी कुनै नवसिकारु देश होइनौँ। यति लामो परम्परा दुई सभ्यताको रहेको छ। भारत र चीनको। अफ्रिकामा कुनै जातिको थियो होला, तर तिनको लेखन परम्परा थिएन। त्यसैले सार्वजनकि हुन पाएन। हाम्रोमा वेदले सबै कुरो सजाएर राखेको छ। हाम्रो विविधतामा हामीले गर्व गर्नुपर्छ। वेद पनि चार– ऋग्वेद, यजुर्वेद, सामवेद अनि अथर्ववेद। हाम्रा ईश्वर पनि एक छैनन्। यही विविधता हाम्रो ठूलो पुँजी हो। यो देशको दिल र दिमाग अहिले पनि बन्द छैन। संकट आइरहन्छ, तर हाम्रो हाँसो पनि जागृत भइरहन्छ। हाँसो मेटिँदैन संकट आउँदैमा।

यहाँ कला, साहित्य, सौन्दर्यशास्त्र हरेक कुरामा विविधता छ, यसैमा हामीले गर्व गर्ने हो। तर, गर्वका साथै तिनको सुरक्षा पनि गर्नुपर्छ, किनकि यी विविधतामा अहिले खतराको बादल मडारिइरहेको छ। हिटलरले पनि यस्तै केही गरेका थिए। यो देशमा जुन शक्ति बहुलताविरुद्ध एकात्मकतामा जोड दिइरहेका छन्, संयोग नै मान्नुपर्छ तिनै अहिले शक्तिमा पुगेका छन्। इतिहास भन्छ– यस्तो मौका पटकपटक आउँछ, त्यही एकात्मकवाला शक्तिको भित्रैबाट कोही आवाज बुलन्द गर्छ र विरोधमा उत्रन्छ।

आजसम्म कैयौँ प्रविधि दुनियाँमा भित्रिए, तर पुस्तक सधैँ रहने देखिन्छ। पुस्तकलाई कुनै खतरा छैन। जुन आनन्द पुस्तक हातम लिएर पढ्नुमा आउँछ, त्यो मज्जा अरु कुनै तरिकाले पढ्नुमा कसरी आउला? पुस्तकबाट निस्कने बेग्लैखालको सुगन्ध एउटा स्वाद पनि हो।

मेरो त अब महाप्रस्थानको समय भएको छ। मेरो जस्तो समृद्ध पुस्तकालय यो मुलुकमा अरु कसैको नहुन सक्छ। यी पुस्तक कहाँ र कसलाई दिउँ? केही समयअघि मैले विकल्पका रूपमा जवाहरलाल नेहरु युनिभर्सिटी (जेएनयु) सम्झेको थिएँ। तर, पछि लाग्यो– त्यहाँ पुस्तक दिनुको पनि कुनै अर्थ छैन। किनकि, त्यहाँ जेजस्ता पुस्तक अहिले राखिएका छन्, मैले दिएका पुस्तक पनि त्यसैमा लगेर मिसाइदिन्छन्। अर्को विकल्प, इन्दिरा गान्धी राष्ट्रिय कला केन्द्रको सम्झना पनि भएको थियो। त्यहाँ प्रमुखका रूपमा (रामबहादुर) रायजी आएका छन्। तर, त्यहाँ अध्ययन गर्न कति जना नै आउलान् र! त्यतिकै राख्नकै निम्ति दिनुको के अर्थ भयो र! त्यसकारण मैले यी पुस्तक राजस्थानस्थित डुंडलोदको एउटा शिक्षण संस्थामा दिने निर्णय गरेको छु। त्यहाँका सचिव शर्माजी आएका थिए। उनले भनेका थिए– 'हामी तपाईंको धरोहर पूरा सुरक्षाका साथ राख्नेछौँ। त्यहा नामवर संग्रहालय नाममा एउटा अलग्गै खण्ड तयार पार्नेछौँ र अध्येताले त्यो पढेर अनुसन्धान गर्नेछन्।'

अब अहिले म निश्चिन्त भएको छु। मेरो मनबाट एउटा ठूलो चिन्ता हटेको छ।

प्रकाशित: २५ मंसिर २०७३ ०४:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App