१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

अधुरै सकियो पहिलो चौमासिक

तस्बिरः रोल्पा सदरमुकाम लिबाङ ।

रोल्पा - नयाँ आर्थिक वर्ष सुरु भएको चार महिना बिति सक्दा समेत रोल्पामा अधिकांश सरकारी निकायकाे विकासकाे गति सुस्त छ। आर्थिक वर्षको अन्तिममा कार्यक्रम र योजना संचालन गर्न बानी परेकाहरु फेरि पनि सुरुका महिनामा सुस्त देखिका हुन्। हरेक वर्ष ‘असारे विकास’ गर्न बानी परेका सरकारी निकायले समयमा काम गर्न नसक्नुको मुख्य कारण बेलैमा कामको थालनी नगर्नु भएको स्थानीय बताउँछन्।

जिल्लामा रहेका दश स्थानीय तहहरु सबैले मंसिर लाग्दा समेत आफ्नो कार्यक्रम सुरु नगरेको पाइएको हो । यहाँ बित्तिय प्रगति करिब करिब शुन्य जस्तै छ । कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार यहाँका स्थानीय तह र विकासे कार्यालयहरुले न्युनतम निकासा मात्र लिएका छन्।

जिल्लामा सबै भन्दा धेरै बजेट रहेको रोल्पा नगरपालिकाले पहिलो चौमासिकमा ८ करोड १ लाख २५ हजार निकासा ल्याएको भए पनि करिब साढे चार करोड तलबमै सकिएको छ । बाँकी रकम पनि न्यून मात्र भुक्तानी भएको देखिन्छ । यहाँ साना तिना काम सुरु भएको भए पनि गतिला योजनाहरु संचालन हुन सकेका छैनन्।

नगरपालिकामा प्राबिधिकले योजना स्टिमेड समेत गर्न भ्याएका छैनन् । ‘पहिलो चौमासिकमा गर्नु पर्ने काम भएको छैन । हामी प्राविधिक नै कम छौ ।’ रोल्पा नगरपालिकाका ईन्जीनियर मुकेश कुवरले भने ‘जनशक्ति नहुँदा पनि समस्या भएको छ।’

उता दुर्गम भनेर चिनिएको थवाङ गाउँपालिकाले यो चार महिनामा सामाजिक सुरक्षा भत्ता समेत बाडेको छैन । ‘तलब बाहेक अरु कुनै पनि भुक्तानी भएको छैन । करिब ३ सय योजनामा ५० वटा जति मात्र संझौता भएको छ ।’ लेखापाल हिमाल घर्तीमगरले भने ‘अहिले उपभोक्तालाई दोष दिने ठाउँ छैन । गतिलोसंग श्रोत विभाजन नै भएको छैन । कर्मचारी नहुँदा सामाजिक सुरक्षा भत्ता समेत बाडिएको छैन।’

बार्षिक करोडौ बजेट खर्चिने स्थानीय तहहरुले चार महिना बितिसक्दा समेत काममा गम्भिरता नदेखाउदा हरेक वर्ष करोडौ रकम फ्रिज जाने र हतारमा काम गर्दा करोडौ बेरुजु आउने गर्दछ । ‘पहिलो चौमासिकमा निर्माणको काम सुस्त छ । उपभोक्ता समिति तातिएका छैनन् । जति भन्दा पनि मान्दैनन् । काम नसक्दै भुत्तानी दिनु भएन ।’ सुनिलस्मृती गाउँपालिकाका लेखापाल बसन्तराज न्यौपानेले भने ‘कर्मचारीले गर्ने काम गरिएको छ तर उपभोक्ताले गर्ने काम गरेका छैनन्।’

त्यसो त कतिपय स्थानीय तहमा कर्मचारी अभाव, प्रमुख प्रशासकिय अधिकृत वा लेखापाल नियमित नहुनु पनि समस्या काम नहुँनुका कारण हुन् । ‘हाम्रोमा असोज लागेपछि प्रमुख प्रशासकिय अधिकृत हुनुहुन्न जसले गर्दा अलि असहज भएको छ ।’ लुङग्री गाउँपालिकाका लेखापाल शालिकराम गैरेले भने ‘नियमले भने अनुसार पहिलो चौमासिकमा सक्नु पर्ने काम सकिएको छैन।’

त्यसो त स्थानीय तहको जस्तै रोग संघ र प्रदेश मातहतका कार्यालयहरुमा पनि छ । उनिहरुले पनि कार्यक्रम बनाउने र कार्यान्वयन गर्नेमा चासो दिएका छैनन् । संघ अन्र्तगतको सबै भन्दा धेरै बजेट रहेको सहिद मार्ग सडक आयोजनाले त झन तलब बाहेका अन्य एक रुपैयाँ पनि निकासा लगेको छैन । गत आर्थिक वर्षमा करिब २२ करोड बढी बजेट फ्रिज गरेको यो कार्यालयले पहिलो चौमासिकमा गर्नु पर्ने काम कत्ति पनि गरेको देखिदैन।

‘अलि अलि भौतिक प्रगति भएको छ । बित्तिय प्रगति कत्ति पनि भएको छैन । समयमा काम नगर्ने ठेकेदारहरुको म्याद थप्न ढिलाई भएकोले यसो भएको हो ।’ सहिदमार्ग सडक आयोजना प्रमुख साधुसरण पुर्बे भन्छन ‘म आफै कार्य प्रगति प्रति सन्तुष्ट छैन । एक रुपैया पनि निकासा लिन सकिएको छैन । हाम्रोमा प्रगति भनेको पहिरो खसेको ठाउँमा माटो फाल्ने मात्र भएको छ।’

सम्बन्धित पक्षले समयमा काम नगरेका कारण गत आर्थिक वर्षमा रोल्पाबाट ७३ करोड ८१ लाख ८१ हजार बजेट फ्रिज भएको थियो । चालु र पूँजीगत गरि ४ अरब ८७ करोड २१ लाख ५४ हजार बजेट रहेकोमा ४ अरब १२ करोड ३९ लाख ७३ हजार मात्र निकासा भएको कोलेनिकाको तथ्याङ्कले देखाएको हो।

त्यसो त यहाँ बेरुजुको स्थिति पनि खराब छ । गत आर्थिक वर्ष २०७५/०७६ मा रोल्पाका दश स्थानीय तहमा ६ करोड २० लाख ७८ हजार ५ सय ६५ रुपैया रकम बेरुजु देखिएको छ भने आर्थिक वर्ष २०७४/०७५ को ९ करोड २१ लाख १५ हजार ५ सय २९ रुपैया बाँकी बेरुजु देखिन्छ।

प्रकाशित: ९ मंसिर २०७६ ०४:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App