१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

८१ प्रतिशत पुनर्निर्माण सम्पन्न

खोटाङ– खोटाङमा भूकम्पपछिको पुनर्निर्माणको काम ८१ प्रतिशत पूरा भएको छ। महाभूकम्प गएको चार वर्ष बित्दा आठ गाउँपालिका र दुई नगरपालिका रहेको जिल्लामा पुनर्निर्माणको काम ८१ प्रतिशत पूरा भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय खोटाङले जनाएको छ।

२०७२ वैशाख १२ गतेको भूकम्प र परकम्पका कारण घरविहीन बनेका पीडितमध्ये पुनर्निर्माणतर्फका आठ हजार चार सय ६२ र प्रबलीकरणतर्फका तीन सय ६१ परिवार गरी कुल आठ हजार आठ सय २३ लाभग्राही रहेको जिल्लामा गत कात्तिक मसान्तसम्ममा पाँच हजार पाँच सय सात परिवारलाई तेस्रो किस्ता, ६ हजार सात सय १० परिवारलाई दोस्रो किस्ता र आठ हजार तीन सय ३२ परिवारलाई पहिलो किस्ता वितरण गरिसकिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) को कार्यालयका नासु मणिराम ढकालले बताए।

कुल लाभग्राहीमध्ये हालसम्म ९८ प्रतिशतले पहिलो किस्ताबापत ५० हजार, ८० प्रतिशत लाभग्राहीले दोस्रो किस्ताबापत एक लाख ५० हजार र ६५ प्रतिशत लाभग्राहीले तेस्रो किस्ताबापत एक लाख बुझेको कार्यालयले जनाएको छ। जम्मा एक लाख पाउने प्रबलीकरणतर्फका दुई सय ३० परिवारले पहिलो किस्ताबापत ५० हजार बुझेको नासु ढकालले जानकारी दिए।

खोटाङमा २०७४ वैशाख ३ गतेदेखि सम्झौता सुरु गरेको पुनर्निर्माण प्राधिकरणले २०७४ जेठ १९ गतेदेखि पहिलो किस्ता, २०७५ वैशाख ३० गतेदेखि दोस्रो किस्ता र २०७५ असोजदेखि तेस्रो किस्ता बितरण थालेको थियो। किस्ता बुझेर अझै आवास निर्माणको काम सुरु नगर्ने लाभग्राही पनि उत्तिकै छन्।

पहिल्यै घर बनाएकालाई एकमुष्ट अनुदान
पुनर्निर्माणको काम सुरु हुनुअगावै आफै आवास निर्माण गरेका खोटाङका तीन सय ५७ परिवारलाई एकमुष्ट आवास अनुदान प्रदान गरिएको छ। भूकम्पलगत्तै तत्काल आफै आवास निर्माण गरेका र पहिलो किस्ता लिइसकेका बराहपोखरी, साकेला र दिप्रुङ चुईचुम्मा गाउँपालिका तथा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका लाभग्राहीलाई एकमुष्ट रकम प्रदान गरिएको नासु ढकालले बताए।

जिल्लामा पुनर्निर्माणको काम सुरु हुनुभन्दा अगाडि आवास निर्माण गरेका करिब एक हजार दुई सय लाभग्राही छन्। गत असारमा नयाँ कार्यविधि आएपछि पहिल्यै आवास निर्माण गरेका भूकम्पपीडितलाई एकमुष्ट अनुदान दिन सुरु गरिएको कार्यालयले जनाएको छ। यस्तै पुनर्निर्माणसम्बन्धी दर्ता भएका १० हजार पाँच सय ६७ गुनासामध्ये आठ हजार ६ सय दुईजनाको गुनासो सम्बोधनका क्रममा इन्जिनियर पठाएर सर्वेक्षण गरिएको ढकालले बताए। गुनासो सम्बोधनका क्रममा सर्वेक्षणका लागि वैशाख २० गतेदेखि असार १५ गतेसम्म इन्जिनियर खटाइएको थियो। भूकम्पका कारण खोटाङमा १३ हजार सात सय ९९ घरमा क्षति पुगेको तथ्यांक थियो। भूकम्पका कारण जिल्ला १८ सरकारी भवन पूर्ण र ५५ भवनमा आंशिक क्षति पुगेको थियो।

भूकम्पपछि जिल्लाको दोर्पा चिउरीडाँडा र विजयखर्कमा एकीकृत बस्ती निर्माण, दुई सय ६५ विद्यालय पुनर्निर्माणलगायत काम भइरहेको छ। यस आर्थिक वर्ष पनि १७ गुम्बा पुनर्निर्माणका लागि बजेट आएको छ। ऐंसेलुखर्क गाउँपालिकामा आठवटा, केपिलासगढी गाउँपालिकामा सातवटा तथा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका र साकेला गाउँपालिकामा एकएकवटा गुम्बा पुनर्निर्माणको काम हुने कार्यालयले जनाएको छ।

प्रकाशित: ९ मंसिर २०७६ ०३:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App