१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

तीन कविता

स्नेह साय्मि

 

थवाङ–काठमाडौँ वार्ता

ओइ काठमाडौँ

उनीहरू कहाँ छन्?

उनीहरू अर्थात्

मेरो काखमा

बिउ हालेर जन्माएका बोटहरू

गमलामा राखेर पठाएको थिएँ

पठाएकै दस वर्ष नाघिसकेको छ 

न खोजखबर

न चिठीपत्र

केही त भन्दैनन्

केही पनि लेख्दैनन्

भेट्न त झन् आउँदैआउँदैनन्

भन काठमाडौँ

उनीहरू कहाँ छन्?

जल्जलाका चट्टानमा हुर्काएका

मेरा विश्वास उनीहरू

भन काठमाडौँ उनीहरू कहाँ छन्?

कुनैबेला

मेरा सपनाहरूको 

हिउँमाथि आगो बाल्ने गर्थे

अहिले 

हिउँ ओढेर सुतिरहेका छन् कि

शताब्दीयौँदेखि पुरिएका अधिकार

उत्खनन् गर्ने मेरा सन्तान

पुरेर खाल्डोहरूमा

नयाँ बिरुवाको आश गरेको थिएँ

र, त्यहाँ उमि्रएको छ पुरानै पीपल 

जो छन्

युद्धले खोसेका

हातखुट्टाको

कथा सुनाएर बसेका छन् अहिले

भन न काठमाडौँ

तिनीहरू कुन खाल्डामा पुरिएका छन्

वा कुनकुन ढिस्कोमा

उभिएका छन्?

 

जो बचे युद्धबाट

नयाँ मृत्यु रोज्न खाडी पुगेका छन्

नयाँ सत्ताका गीत यतै छोडेर

पुरानो सत्ताको राजधानी ए काठमाडौँ

लौ न भनिदेऊ

उनीहरू त्यहाँ के गरिरहेका छन्

जसका जीवनका निम्ति

बाटो र विचारका निम्ति

मेरा सन्तानहरू सहिद भए

उनीहरू ठीकै गरिरहेका छन्

वा पुरानै बाटो लागिरहेका छन्

अहिले उनीहरू कहाँ छन्

उनीहरू के गरिरहेका छन्?

 

झोला

 

पच्चीस वर्षअघि

प्रगतिमैदान दिल्लीको मेलामा

भेट भएको बेला

उसले सोधेको थियो–

तिम्रो झोलामा के छ?

मैले झोला हेर्दै भनेथेँ–

मसँग जापानी कलम 

चिनियाँ कापी र लुगा

थाइ टुथपेस्ट

मार्क्सवादी सौन्दर्यशास्त्रको एउटा पुस्तक

क्रान्तिकारी पार्टीहरूको दस्ताबेज

आफ्ना कविता दुईथान

रेलको फिर्ती टिकट र केही रकम छ

अनि मेरी प्रेयसीको एउटा फोटो

र, मेरो देशको झन्डा छ

 

मैले पनि सोधेथेँ–

तिम्रो झोलामा के छ?

 

उसले भनेको थियो–

मसँग सुतीको एकजोर लुगा

एउटा कम्बल

एक दतिवन र केही रुपैयाँ छ

र, मेरो देशको झन्डा छ

 

 

मैले उसलाई गौरव साथ

एक जापानी कलम र चिनियाँ कापी दिएँ

 

भोलिपल्ट फेरि भेट भयो

र, उसले भन्यो–

तिमीलाई धन्यवाद कापी र कलमका लागि

तिमीले दिएकै कलमले

तिमीले दिएकै कापीमा

मैले कोरेँ एक सपना

बनाएँ एउटा परियोजना

अब मसँग एउटा दृढ इच्छा

र, निश्चित गन्तव्य छ

मैले मनमनै भनेथेँ–

त्यो पनि झोलामा राख्ने कुरा हो र?

 

पच्चीस वर्षपछि

ऊसँग भेट भयो

होटेल याक एन्ड यती काठमाडौँमा

उसले फेरि सोध्यो–

तिम्रो झोलामा के छ?

मैले भूमिका बाँधेर भनेँ–

समय बदलिसक्यो 

सबै प्रविधि नयाँ भैसक्यो

अहिले त मेरो झोलामा,

एसर ब्रान्डको नोटबुक छ

आइफोन छ

डेबिटकार्ड छ

 

पुरानो दुईवटा कुरा पनि छ

मेरी प्रेयसीको फोटो

र, मेरो देशको झन्डा उही छ

 

मैले पनि सोधेँ–

तिम्रो झोलामा के छ त?

उसले मुस्कुराउँदै भन्यो

हिजोआज म दुईवटा झोला बोक्छु

कुनचाहिँ हेर्छौ?

मैले भने– दुवै,

 

उसले भन्यो–

हो प्रविधिले झोला बोक्ननपर्ने बनायो

तर पनि मैले बोक्ने गरेको झोलामा

एकातिर बाँड्नुपर्ने उपहारहरू,

जस्तैः छात्रवृत्तिको कोटा

विदेशभ्रमणको निम्तो,

गहना, सारी र सुट

क्रेडिटकार्डहरू

केही अश्लील प्रस्तावहरू

र, मेरो देशको झन्डा कुँदिएको

सुनका सिक्काहरू छन्

 

अर्को झोलामा 

अर्को देशको बुद्धिजीवी  

पत्रकार, व्यवसायी, नेता, कर्मचारी

सांसद, मन्त्री, प्रधानमन्त्री छन्

मैले प्रश्न गरेँ–

तिम्रो देशको झन्डा नि?

उसले प्रतिप्रश्न गर्‍यो–

कस्तो नबुझेको, सुनको सिक्कामा

मेरो देशको झन्डा कुँदिएको  छ

जजसले लिएको छ, उसउसले बोकेको छ 

 

 

प्रवेशद्वार 

 

अग्ला मानिसहरूले

आफ्नो उचाइको ख्याल गरिरहनुपर्छ

कतै पस्ने निर्णय गर्नुअघि

प्रवेशद्वारको उचाइ पहिल्यै थाहा पाउनुपर्छ!

 

होचा प्रवेशद्वारहरूबाट

अग्लाहरू निर्धक्क टाउको उठाएर

पस्न सक्दैनन्

प्रवेशद्वारहरूको उचाइको मापन गर्न सकिएन भनेे

अप्रत्यासित—

कि टाउको निहुराउन तयार हुनुपर्छ

कि टाउको ठोक्काउनुपर्छ

वा, आफ्नो उचाइ घटाउन तयार हुनुपर्छ!

 

प्रवेशद्वार अग्लो भए

सबैले निर्धक्क टाउको उठाएर

ठाडै पस्न सक्छन्

होचो भयो भने

होचाहरूमात्र टाउको उठाएर

पस्न सक्छन्!

 

अग्ला मानिसहरूले

आफ्नो उचाइको ख्याल गरिरहनुपर्छ

कतै पस्ने निर्णय गर्नुअघि

प्रवेशद्वारको उचाइ थाहा पाउनुपर्छ!

प्रकाशित: २५ मंसिर २०७३ ०४:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App