१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

हङकङ निर्वाचन: कीर्तिमानी मतदान

हङकङमा आइतबार भएको जिल्ला परिषद् निर्वाचनमा मतदानका लागि लामबद्ध मतदाता । तस्बिरःएजेन्सी

हङकङ – लामो समयदेखि सरकारविरोधी प्रदर्शनका कारण तनावग्रस्त हङकङमा आइतबार भएको जिल्ला परिषद् निर्वाचनमा कीर्तिमानी संख्यामा मतदान भएको छ। प्रदर्शनकारीको प्रमुख निशानामा परेकी हङकङकी प्रमुख कार्यकारी क्यारी लामको समर्थन परीक्षणका रूपमा आइतबारको निर्वाचनलाई हेरिएको छ।

विगत पाँच महिनादेखि सरकारविरोधी आन्दोलन गरिरहेका हङकङका लोकतन्त्र पक्षधरले पनि आइतबारको जिल्ला परिषद् निर्वाचनले चीन सरकारलाई पनि सन्देश दिने अपेक्षा गरेका छन्। मतदान अघि लोकतन्त्र पक्षधर आन्दोलनकारीले मतदान नबिथोल्न हङकङका मानिसलाई आग्रह गरेका थिए। मतदान प्रक्रिया शान्तपूर्वक सम्पन्न भएको बताइएको छ।

हिंसा भड्कियो भने प्रशासनले निर्धारित समयभन्दा अघि नै मतदान प्रक्रिया रोक्न सक्ने डरकै बीच आइतबार बिहानैदेखि मतदानस्थलमा मतदाताको लामो लाइन लागेको थियो। यस निर्वाचनबाट हङकङको जिल्ला परिषद्मा चार सयभन्दा बढी पार्षद् चुनिने छन्। प्रजातन्त्रवादी अभियानकर्ताहरुले परिषद्मा आफ्नो प्रतिनिधित्व बढ्ने आशा राखेका छन्। बेइजिङ समर्थक उम्मेदवारहरूले भने लामो समयदेखि प्रदर्शनकारी र प्रहरीबीच भइरहेको झडपहरुबाट उत्पन्न आरोह अवरोहप्रति निराशा प्रकट गर्न पनि आफूहश्रलाई समर्थन गर्न मतदातासमक्ष आग्रह गरेका छन्।

हङकङवासीले आफ्नो विचार व्यक्त गर्ने माध्यमका रूपमा यो निर्वाचनलाई हेरेका छन् र त्यसले क्यारी ल्यामको सरकारबारे पनि मतदाताहरुको धारणा स्पष्ट पार्नेछ।

जिल्ला परिषद्ले हङकङको प्रमुख कार्यकारी चयनमा परम्परागत रूपमा नै प्रभाव राख्दै आएको छ। यस पटकको निर्वाचनमा अहिलेसम्मकै रेकर्ड मतदाताले नाम लेखाएको बताइएको छ। हङकङको कुल निर्वाचन ७४ लाख छ, जसमध्ये आधाभन्दा बढी अर्थात् ४१ लाख मानिसले मतदाता सूचीमा नाम लेखाएको सहरको निर्वाचन हेर्ने कार्यालयलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ।

पार्शद् स्थानीय समयअनुसार आइतबार बिहान ७ः३० बजेबाट हङकङमा मतदान सुरु भएको थियो। साँझ ६ः३० बजेसम्म २५ लाखअर्थात् ६०.३६ प्रतिशत मतदाताले मतदान गरेको बताइएको छ। यही समयमा सन् २०१५ को निर्वाचनमा मात्र ३३.९६ प्रतिशत मतदाताले मतदान गरेको सरकारी आँकडा रहेको छ। सन् २०१५ को निर्वाचनमा ३१ लाख मतदाताले मतदानका लागि नाम लेखाएको भए पनि कुल १४ लाख ६७ हजार मतदाताले मतदान गरेका थिए।

हङकङको जिल्ला परिषद्का लागि यस पटक करिब कुल ४ सय ५२ सिटका लागि एक हजार उम्मेदवार चुनावी दौडमा रहेका छन्। उम्मेदवारको हिसाबले पनि यस पटकको निर्वाचन ऐतिहासिक भएको बताइएको छ। त्यसैगरी ग्रामीण क्षेत्रको प्रतिनिधित्वका लागि २७ सिट सुरक्षित गरिएको छ।

हाल जिल्ला परिषद्मा बेइजिङ समर्थित दलको बहुमत रहेको छ। स्थानीय समयअनुसार साँझ १० बजेर ३० मिनेटमा मतदान प्रक्रिया सकिएसँगै मतगणना तत्काल सुरु हुने बताइएको छ। मध्यरातबाटै निर्वाचनको परिणाम आउन सुरु हुने अनुमान गरिएको छ। शान्तिपूर्ण रूपमा मतदान प्रक्रिया भइरहेका बेला पनि पातलो संख्यामा मतदान केन्द्रमा प्रहरीको उपस्थिति रहेको थियो।

यो चुनाव किन महत्वपूर्ण छ ?

हङकङको कानुनी व्यवस्थाअनुसार जिल्ला पार्षद्हरुसँग निकै कम शक्ति हुन्छ। त्यसलै चुनाव पनि असाध्यै स्थानीय तवरको हुने गरेको छ। तर यसपटकको चुनाव भने अलि फरक हुने देखिएको छ। गत जुन महिनामा सरकारविरोधी प्रदर्शन सुरु भएयता हङकङमा पहिलोपटक यस्तो चुनाव हुँदैछ। त्यसैले यो निर्वाचन सरकारसँग कति समर्थन छ भन्ने विषयको पनि परीक्षण गर्ने माध्यमका रूपमा हेरिएको छ।

‘हङकङका बासिन्दाले आफ्नो विचार व्यक्त गर्ने माध्यमका रूपमा यो निर्वाचनलाई हेरेका छन् र त्यसले क्यारी ल्यामको सरकारबारे पनि मतदाताहरुको धारणा स्पष्ट पार्नेछ,’ हङकङ ब्यापटिस्ट विश्वविद्यालयका सहप्राध्यापक केनेथ चानलाई उद्धृत गर्दै रोयटर्स समाचार एजेन्सीले उल्लेख गरेको छ। हङकङको चुनाव प्रणाली बमोजिम एक सय १७ जिल्ला पार्षद्हरु एक हजार दुई सयसदस्यीय समितिको सदस्य बन्छन् जसले अन्ततः प्रमुख कार्यकारी चयन गर्छ।
त्यसैले प्रजातन्त्रवादीको ठूलो जित भयो भने सहरको प्रमुख कार्यकारी को बन्ने भन्नेमा उनीहरुको पनि हात हुनेछ।

को को छन् चुनावी प्रतिस्पर्धा ?

जिल्ला परिषद् निर्वाचनमा केही प्रख्यात व्यक्ति पनि प्रतिस्पर्धामा रहेका छन्। त्यसमध्ये सहरका एक अति विवादास्पद राजनीतिकर्मी एवं बेइजिङ समर्थक सांसद जुनियस हो पनि एक उम्मेदवार हुन्। समर्थकको भेषमा आएका एक व्यक्तिले यसै महिनाको सुरुमा उनलाई धारिलो हतियार प्रहार गरेका थिए।

उनले हालै आलोचना खेपिरहेको हङकङ प्रहरीको समर्थनमा पटक पटक आफ्नो धारणा सार्वजनिक गरेका थिए। राजनीतिक अभियानकर्मी जिम्मी साम भने पहिलो पटक निर्वाचनमा प्रतिस्पर्धा गर्दै छन्। उनले नागरिक मानवअधिकार मञ्चका प्रमुख नेताका रूपमा छवि बनाएका छन् जसले केही सार्वजनिक विरोध प्रदर्शन आयोजना गरेका थिए।

साममाथि दुईपटक आक्रमण भएको थियो। एउटा आक्रमणमा त उनीमाथि घनले प्रहार गरिएको थियो। फोटोग्राफरहरूले उनी रगतमा लतपत भएर सडकमा लडेको तस्बिर सार्वजनिक गरेका थिए। हङकङको यस पटकको निर्वाचनमा केही चर्चित पात्रहरु भने सहभागी भएका छैनन् वा सहभागी हुन दिइएका छैनन्।

प्रजातन्त्रवादी अभियानकर्मी जोसुवा वङलाई चुनावमा उम्मेदवार बन्न रोक लगाइएको छ। उनले आफूलाई निर्वाचनमा प्रतिस्पर्धा गर्न बञ्चित गरिएको विषयलाई ‘राजनीतिक भेदभाव’ को संज्ञा दिँदै आएका छन्।

प्रकाशित: ९ मंसिर २०७६ ०२:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App