१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बोलिभियामा नयाँ निर्वाचनको बाटो खुल्यो

ला पाज – दक्षिण अमेरिकी राष्ट्र बोलिभियाको संसद्ले नयाँ निर्वाचनका लागि बाटो खोलिदिएको छ। संसद्ले शनिबार निर्वाचनसम्बन्धी एउटा कानुन पारित गरेको छ र सो कानूनबमोजिम राजनीतिक संकट खेपिरहेको बोलिभियामा नयाँ निर्वाचनको बाटो खुलेको बताइएको छ।

केही दिनदेखि बोलिभियामा राजनीतिक संकट चुलिएको छ। बोलिभियामा गत अक्टोबर २० मा भएको निर्वाचनबाट पुनः चाैंथो पटक राष्ट्रपतिमा चयन भएका इभो मोरालेसले राजीनामा दिएर छिमेकी मेक्सिकोमा राजनीतिक शरण लिए पनि उनका समर्थकले प्रदर्शन गरेका कारण बोलिभिया थप संकटतर्फ उन्मुख भएको छ।

सुरक्षाबल र मोरालेस समर्थक प्रदर्शनकारीबीच झडप पनि भइरहेका छन्। यस क्रममा केहीको मृत्यु पनि भएको स्थानीय अधिकारीले जानकारी दिएका छन्। सत्तामा मोरालेसको फिर्तीको माग गर्दै उनका समर्थकहरुले सडकमा आएर विरोध प्रदर्शन गरिरहेका छन्। यसै विरोध प्रदर्शनलाई सम्बोधन गर्न भन्दै यहाँको संसद्ले नयाँ निर्वाचनको प्रस्ताव अघि सारेको हो। यस प्रदर्शनमा कम्तीमा पनि ३२ जनाको ज्यान गएको छ।

कैयौं दिनदेखि विरोध जारी छ। इभो मोरालेसको अनुपस्थितिमा नै काम चलाउ सरकारले नयाँ निर्वाचनको प्रस्ताव गरेको छ। सोही प्रस्ताव बमोजिम संसद्का दुवै सदनले नयाँ निर्वाचनको लागि बाटो खुलाउने गरी मतदान गरेका छन्। प्रस्तावमा अक्टोबर २० मा भएको निर्वाचनका प्रतिस्पर्धीहरुलाई भने प्रतिबन्ध लगाइएको छ। त्यस निर्वाचनको पुनः निर्वाचन नभएर यो नयाँ निर्वाचन हो।

यो प्रस्तावअनुसार अबको निर्वाचनमा राजीनामा दिइसकेका राष्ट्रपति मोरालेसलाई पनि रोक लगाइएको छ। त्यसैगरी अक्टोबर २० को निर्वाचनमा सहभागी भएका अन्य मुख्य प्रतिस्पर्धीलाई पनि नयाँ निर्वाचन कानुनले प्रतिबन्ध लगाइदिएको बताइएको छ।

शनिबार बोलिभियाको संसद्ले नयाँ निर्वाचनको विकल्प निकालेका कारण अब आन्दोलन रोकिने अनुमान गरिएको छ। तर पनि राजीनामा दिइसकेका राष्ट्रपति मोरालेसले सो निर्वाचनमा सहभागी हुन नपाउने गरी कानुन बनाइएकोले उनको समर्थकहरुले भने जारी प्रदर्शन रोक्ने नरोक्ने बारेमा कुनै प्रतिक्रिया दिएका छैनन्।

विगतदेखि नै हिंसात्मक प्रदर्शन जारी रहेको अवस्थामा देशको सेना र प्रहरीले पनि राष्ट्रपतिका कदमलाई समर्थन नगर्ने घोषणापछि राष्ट्रपति मोरालेसले राजीनामा दिएका थिए। सेनाले समर्थन नगर्ने घोषणापछि मोरालेसले नोभेम्बर १० मा राजीनामाको घोषणा गरेका हुन्। त्यसपछि मेक्सिकोतर्फ लागेका उनलाई मेक्सिकोले राजनीतिक शरण दिने प्रस्ताव गरेको थियो।

राष्ट्रपति मोरालेसको राजीनामाको घोषणासँगै राजधानी ला पाजमा विशाल जुलुस निकालिएको थियो। मोरालेसका समर्थकहरू बोलिभियाका विभिन्न क्षेत्रमा भेला भएका थिए। विपक्षीले समर्थन गरेको अन्तरिम सरकारका नेता जेनिन अनेजको राजीनामा र मोरालेसको फिर्तीको माग गर्दै समर्थकहरुले विरोध प्रदर्शन गरेका थिए।

मोरालेसले बोलिभियाको राष्ट्रपतिका रूपमा करिब १४ वर्ष शासन सञ्चालन गरेका थिए। यसै वर्षको अक्टोबर २० मा सम्पन्न चुनावमा भने उनी झिनो मतान्तरले चौथो कार्यकालका लागि विजयी भएका थिए। यद्यपि सो निर्वाचनलाई विपक्षीहरुले भने मोरालेसले धाँधली गरेर जितेको भन्दै चुनावी परिणाम नै अस्वीकार गरेका थिए। संसद्ले नयाँ कानुन बनाएपछि मोरालेसका समर्थकहरुले कुनै प्रतिक्रिया दिएका छैनन्। उनीहरुले नयाँ निर्वाचनमा सहभागी हुने या नहुने भन्नेमा केही बताएका छैनन्।

प्रकाशित: ९ मंसिर २०७६ ०२:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App