१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

महोत्सवमा होटलको ‘मेन्यु’अनिवार्य

इलाम– पर्यटकीय नगरी सूर्योदय नगरपालिकामा आयोजना गर्न लागिएको ‘सूर्योदय पर्यटन महोत्सव’मा आउने पर्यटकका लागि स्थानीय सबै होटलमा ‘मेन्यु’ अनिवार्य गरिएको छ। पर्यटक ठगिने गुनासो बढ्दै गएपछि मेन्यु अनिवार्य गरिएको हो। 

सूर्योदय नगरपालिकाले होटलहरूमा खानाको परिकार र त्यसअनुसारको मूल्य पर्यटकले देखिनेगरी राख्न व्यवसायीलाई अनुरोध पनि गरेको छ। व्यवसायीहरू पनि होटलको सुविधाअनुसार खानाका परिकारको मेन्यु राख्न सहमत भएका छन्।

नगरले नगरपालिकाभर चल्ने सवारी साधनलाई भाडादर स्पष्ट देखिनेगरी राख्न भनेको छ। महोत्सवमा आएका पर्यटकलाई भाडामा द्विविधा नहुने र नठगिने व्यवस्था मिलाउने नगरले जनाएको छ। 

सूर्योदय नगरमा आउँदो १४ देखि १८ गतेसम्म सूर्योदय पर्यटन महोत्सव आयोजना गरिँदैछ। देशभरका सय पर्यटकीय गन्तव्यमा परेको कन्याम–फिक्कल अन्तु सर्किटसहित नगरका विभिन्न स्थानलाई समेटेर महोत्सव आयोजना गरिँदैछ।

त्यस अवसरमा पशुपतिनगर, पञ्चकन्या, गोर्खेलगायत पर्यटकीयस्थलमा पनि विविध कार्यक्रम आयोजना गरिने नगरले जनाएको छ। 

५ लाख पर्यटक भिœयाउने लक्ष्यसहित आयोजना गर्न लागिएको महोत्सव पर्यटन वर्ष सन् २०२० को प्रचारका लागि आयोजना गर्न लागिएको हो।

नगर उपप्रमुख तथा महोत्सव आयोजक मूल समारोह समिति संयोजक दुर्गादेवी भट्टराईले महोत्सवको तयारी तीव्र पारिएको बताइन्। ‘क्षेत्रगत रूपमा गठन भएका ६ उपसमितिको जिम्मेवारी र बजेट बाँटफाँट गरिएको छ,’ उनले भनिन्, ‘महोत्सवका पाँचै दिन श्रीअन्तु, पञ्चकन्या, पशुपतिनगर, गोर्खे, कन्याम र फिक्कलमा विभिन्न कार्यक्रम तय गरिएको छ।’

मंसिर १४ गते बिहान १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले अन्तुडाँडामा सूर्य पूजा गरेपछि महोत्सव उद्घाटन हुनेछ।सूर्योदय, सूर्यास्त र हिमशृंखला अवलोकनका लागि प्रख्यात अन्तुडाँडामा विभिन्न धर्म, संस्कृति र परम्पराअनुसार सूर्यको पूजा गरिने नगरले जनाएको छ।

‘अन्तुडाँडालाई सूर्योदयका लागि प्रचार गर्न कार्यक्रमको उद्घाटन नै सूर्यको पूजाबाट गर्न लागिएको हो,’ संयोजक भट्टराईले भनिन्, ‘महोत्सवको सबै कार्यक्रम औपचारिकभन्दा अनौपचारिक नै बढी छन्।’ 

महोत्सव आयोजनाका लागि ६ वटै स्थानमा उपसमितिसमेत गठन भइ कार्यविभाजन गरिएको छ। नगरपालिकाका अनुसार श्रीअन्तुमा महोत्सव उद्घाटन गरिएपछि पञ्चकन्यामा औपचारिक उद्घाटन कार्यक्रम राखिएको छ।

अन्तुमा महोत्सव अवधिभर फुड र फूल स्टल, अन्तुपोखरीमा फिसिङ, देवघाट कविता प्रतियोगिता, लेप्चा संग्रहालय अवलोकन, सांस्कृतिक कार्यक्रम, शान्तिबजार खेलकुद र जुठी प्रवद्र्धन कार्यक्रम आयोजना गरिएको छ। 

प्रकाशित: ८ मंसिर २०७६ ०९:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App