१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

काठमाडौंमा लगानी सम्मेलन आयोजना हुने

काठमाडौं– अन्तर्राष्ट्रिय लगानीकर्तालाई नेपाल उपयुक्त गन्तव्य हो भन्ने विश्वास दिलाउन आगामी फागुन १९ र २० गते काठमाडौंमा लगानी सम्मेलन हुने भएको छ।

‘नेपालमा लगानी अवसरको दोहन’ नाराका साथ सम्मेलनको आयोजना गरिने निर्णय भएको उद्योग मन्त्रीका प्रेस सल्लाहाकार प्रदीप चापागाईंले बताएका छन्।

सम्मेलन निर्देशक समितिका अध्यक्ष तथा उद्योगमन्त्री नवीन्द्रराज जोशीको अध्यक्षतामा शुक्रबार सिंहदरबारस्थित उद्योग मन्त्रालयमा भएको बैठकले काठमाडौंमा मुलुकका विभिन्न क्षेत्र गर्न सकिने लगानीका अवसर र सम्भावनाका विषयमा दुई दिने लगानी सम्मेलन गर्ने निर्णय गरिएको हो।

सो अवसरमा मन्त्री जोशीले राजनीतिक प्रतिवद्धतासहित प्रशासनिक तथा कानुनी संरचनाका बारेमा अन्तर्राष्ट्रिय लगानीकर्तालाई विश्वास दिलाउनका लागि सम्मेलनको तयारी गरिएको बताए।  

मुलुकमा दीर्घकालिन आर्थिक समृद्धि र त्यसका लागि अन्तर्राष्ट्रिय लगानी आवश्यक भएको बताउँदै उनले सम्मेलनमार्फत अन्तर्राष्ट्रिय समुदायलाई लगानीको सुरक्षा हुन्छ भन्ने सन्देश दिन खोजिएको बताए।  

‘लगानी सम्मेलनमा सबै राजनीतिक दलका नेताले अन्तर्राष्ट्रिय समुदायलाई लगानी सुरक्षामा प्रतिवद्धता जनाउनेछन्,’ मन्त्री जोशीले भने, ‘त्यसले अन्तर्राष्ट्रिय समुदायमा विश्वासको वातावरण बन्छ।’

उनले सन् २०३० सम्म नेपालको आर्थिक अवस्था कस्तो हुन्छ भन्ने स्पष्ट चित्र प्रस्तुत गरिने जानकारी दिँदै सम्मेलन अगाडि वैदेशिक लगानीका लागि आवश्यक पर्ने कानुनी संरचना तयार गरिसक्ने तयारीमा आफ्नोे मन्त्रालय रहेकाले यस कार्यमा सहयोग गर्न सबै राजनीतिक दललाई आह्वान गरे।

सम्मेलनमा ऊर्जा तथा पूर्वाधार, सूचना तथा सञ्चार प्रविधि, पर्यटन, वित्तिय क्षेत्र, खानी तथा खनीज र कृषि प्रशोधन तथा उद्योगका क्षेत्रमा छलफल गरिने बताइएको छ। उक्त सम्मेलनमा नेपालमा लगानी गर्दै आएका अन्तर्राष्ट्रिय कम्पनी तथा विश्वका स्थापित बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिलाई निम्ता गरिने तयारी छ।

सम्मेलनमा ३०० जना अन्तर्राष्ट्रिय लगानीकर्ताको सहमाभागी रहने सरकारले अपेक्षा गरेकोे छ।

प्रकाशित: २४ मंसिर २०७३ ११:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App