१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

फुटपाथ व्यापारले अस्तव्यस्त लगनखेल

ललितपुरको लगनखेल बसपार्क क्षेत्रमा भइरहेको फुटपाथ व्यापार । तस्बिरः शिवहरि

ललितपुर-ललितपुरको मुख्य व्यापारिक केन्द्र लगनखेलका सडक हिजोआज अस्तव्यस्त बनेका छन् । पेटीमा दिउँसो ३ नबज्दै फुटपाथ व्यापारी भरिभराउ हुन थालेपछि सडक अस्तव्यस्त भएका हुन् । सडक अवरुद्ध गरी राखिने फुटपाथ पसल हटाउन ललितपुर उपमहानगरपालिकाले चासो नदिएकाले लगनखेल अस्तव्यस्त बनेको गुनासो सर्वसाधारणले गरेका छन् ।

फुटपाथ व्यापारीले लगनखेल बसपार्कको पेटीदेखि मूल सडक, मंगलबजार आउने सडक समेत ढाकेर सामान राख्ने गरेका छन् । उनीहरूले फुटपाथमा टन्न सामान राख्दा बटुवा सडक पेटीमा सुविस्तासँग हिँड्न पाउँदैनन् । व्यापारीले सडक छेकेर व्यापार गर्दा लगनखेल क्षेत्र नै अव्यवस्थित र अस्तव्यस्त बनेको छ ।

दिउँसो ३ नबज्दै फुटपाथ व्यापारी लगनखेल बसपार्क वरपर र मंगलबजार प्रवेश गर्ने सडकमा सामान राखी व्यापार सुरु गर्छन् । ‘गाउँबाट आयो, सामानले फुटपाथ भरिँदा खुट्टो राख्ने ठाउँ हुँदैन,’ ललितपुरको दक्षिण भेगको मानिखेलका रोषन तामाङले भने, ‘पहिला पहिला त लगनखेल व्यवस्थित थियो, हिजोआज व्यापारीले सडक ओगटेर व्यापार गर्न थालेपछि हिँड्नै सास्ती हुनथालेछ ।’

फुटपाथ व्यवस्थित नहुँदा लेले, भट्टेडाँडा, गोटिखेल, बगुवा, प्युटारलगायत ललितपुरको दक्षिणी ग्रामीण भेगबाट आउने सर्वसाधारणलाई निकै सकस हुने गरेको छ । लगनखेल नै उनीहरूको किनमेल गर्ने मुख्य व्यापारिक ठाउँ हो ।

फुटपाथ व्यापारीले लगनखेल हुँदै मंगलबजार जाने सडकमा भाँडाबर्तन, रेडिमेड कपडा, तरकारीलगायत सामान बेच्न राख्दा लगनखेलका सबै
सडक अवरुद्ध हुने गरेका छन् । उनीहरूले सडकलाई व्यापार गर्ने थलो बनाएर सर्वसाधारणलाई सास्ती दिँदा पनि अनुगमनकर्ता उपमहानगरपालिका भने तमासा हेरेर चुपचाप बसेको छ ।

फुटपाथ व्यवस्थापन गर्नुपर्ने ललितपुरका नगर प्रहरी यहाँ आकलझुक्कल मात्र झुल्किन्छन् । व्यस्त ठाउँको सडक फुटपाथ व्यापारीले कब्जा गर्दा पनि नगर प्रहरी मौन बस्नु आश्चर्यजनक भएको स्थानीय बताउँछन् । ‘बिहान र साँझ ३ जना नगर प्रहरी लगनखेलमा खटाइने गरिएको छ, उपमहानगरपालिकाका डिएसपी कदमलाल महर्जनले भने, ‘पहिलेभन्दा अहिले फुटपाथ व्यवस्थित बनाएका छौं, सडकमा राखिएका सामान पनि खोसेर ल्याउने गरेकाले केही व्यवस्थित भएको छ ।’

फुटपाथ व्यवस्थित नहुँदा लेले, भट्टेडाँडा, गोटिखेल, बगुवा, प्युटारलगायत ललितपुरको दक्षिणी ग्रामीण भेगबाट आउने सर्वसाधारणलाई निकै सकस हुने गरेको छ । लगनखेल नै उनीहरूको किनमेल गर्ने मुख्य व्यापारिक ठाउँ हो ।

‘उपमहानगरपालिकामा ३६ जनामात्र नगर प्रहरी छन्, उनीहरूले अनुगमन गर्नुपर्ने क्षेत्र धेरै ठूलो छ,’ डिएसपी महर्जनले भने, ‘नगरका सबै ठाउँमा नगरप्रहरी परिचालन गर्न कठिन छ ।’ व्यापारीले बसपार्कमा समेत सामान फिँजाउनाले र फोहर मिल्काउनाले लगनखेल बसपार्क समेत अव्यवस्थित र फोहर बन्दै गएको छ । तर बसपार्कमा फुटपाथ व्यापार गर्दा र फोहर हुँदा पनि नगर प्रहरीले अनुगमन गर्दैन । उपमहानगरपालिकाले लगनखेल क्षेत्रमा जम्मा भएको फोहर समयमै उठाउँदैन । धेरैजसो लगनखेल प्रहरी बिटकै छेउमा फोहर थुपारिएको हुन्छ ।

‘घाम ढल्कन पाउँदैन फुटपाथ व्यापारी सडक पेटीदेखि बसपार्कसम्मै सामान फिँजाउन थाल्छन्, तर नगर प्रहरी भने कतै देखिँदैन,’ लगनखेल– भक्तपुर रुटका बसचालक हरि श्रेष्ठले बिहीबार नागरिकसँग भने, ‘थुपारेका सामानले गाडी बसपार्कभित्र लैजान नै कठिन हुने गरेको छ ।’

उपमहानगरपालिका र नगर प्रहरीसँग लगनखेलको फुटपाथ पसल व्यवस्थापन गर्ने कुनै योजना छैन । ‘तत्काल हामीसँग कुनै योजना छैन,’ डिएसपी महर्जनले भने, ‘फुटपाथ व्यापारीलाई हामी बारम्बार सामान हटाउन भन्छौं र नटेरे कारबाही गर्दै आएका छौं ।’

बसपार्क र फुटपाथमा यसरी सामान फिँजाएर बेच्दा छेउका सटर व्यापारीलाई मर्का पर्ने गरेको छ । ‘फुटपाथ पसलेले मर्का पारेका छन्,’ लगनखेल तरकारी बजारनजिक सटरमा रेडिमेड सामानको व्यापार गर्दै आएका ललितपुर लुभूका सिताराम घिमिरेले भने, ‘फुटपाथमा सामान राखेर बाटो नै छेकिदिँदा ग्राहक हाम्रा पसलसम्म आउनै सक्दैनन् ।’

उपमहानगरपालिकाका वातावरण महाशाखा प्रमुख प्रदीप अमात्यले पुस २ गतेदेखि फोहर व्यवस्थापन गर्न नयाँ कार्ययोजना लागू गर्ने तयारी गरेको जानकारी दिए । उनले भने, ‘फोहर व्यवस्थापन चुस्त बनाउन हामीले पुस २ गतेबाट नयाँ पद्धति लागू गर्दैछौं । सर्वसाधारणले नगर क्षेत्रमा फोहर देख्नासाथ नगर प्रहरीलाई खबर गर्न सक्नेछन् ।’ उनले नयाँ प्रणालीले फोहर फाल्न निषेध गरिएका स्थानमा फोहर फाल्नेलाई समेत कारबाही गर्न सघाउने जानकारी दिए ।

प्रकाशित: २४ मंसिर २०७३ ०८:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App