१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

उपनिर्वाचन सुरक्षा, ‘विप्लव समूह चुनौती’

फाइल तस्बिर/विप्लव

दाङ - असोज २९ गते राति नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका २१ जना उच्च तहका नेताहरु दाङमा पक्राउ परे। चन्दका सहोदर दाजु चन्दबहादुर चन्दसहित केन्द्रीय सदस्य तथा पार्टीका विभिन्न जिल्ला इन्चार्जहरुको पक्राउले विप्लव समूहलाई ठूलो घाटा पुग्यो। राज्यविरुद्धको अपराधमा मुद्दा चलाइएका उनीहरुमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ।

एक महिनापछि प्रहरीले दाङ र कपिलवस्तुको सिमानामा पर्ने कपिलवस्तुको शिवनगरपालिका १ मा अत्याधुनिक हतियार फेला पार्यो। विशेष सूचनाका आधारमा तुलसीपुरस्थित पाँच नम्बर प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले ती हतियार बरामद गरेको थियो। रित्तो गोठमा लुकाएर राखिएका पाँच थान एसएमजीसहित फेला परेका हतियार पनि विप्लव समूहकै थिए। प्रहरीका अनुसार विप्लव समूहले ती हतियार स्थानान्तरणका लागि त्यहाँ राखेको थियो। ‘कहाँ कुन प्रयोजनका लागि स्थानान्तरण गर्न थालिएको थियो भन्नेबारेमा भने यकिन हुन सकेको छैन,’ पाँच नम्बर प्रदेश प्रहरी प्रमुख डिआइजी सुरेन्द्रविक्रम शाहले भने, ‘ती हतियारसहित व्यक्ति पनि पक्राउ परेको भए सहजै खुल्ने थियो।’

उपल्ला तहका २१ नेताहरु पक्राउ पर्नु र अत्याधुनिक हतियार एसएमजी प्रहरीले फेला पार्नुलाई विप्लव समूहले ठूलो नोक्सानीका रुपमा बुझेको छ। फलतः दाङमै आफूले बेहोरेको यो क्षतिको आक्रोश पनि दाङमै पोख्ने रणनीतिमा विप्लव समूह रहेको गोप्य सूचना प्रहरीसमक्ष आइपुगेको छ। यसर्थ विप्लव समूहले दाङमा हुन लागेको प्रदेशसभा उपनिर्वाचनलाई मुख्य तारो बनाएको प्रदेश प्रहरी प्रमुख शाहले बताए। ‘उनीहरुलाई दाङ प्रहरीले ठूलो क्षति पुर्याइदिएको महसुस भएको छ। यसर्थ उनीहरु दाङप्रति बढी नकारात्मक रहेको सूचना हामीहरुलाई प्राप्त भएको छ’, उनले भने, ‘विशेषतः यहाँ हुन लागेको उपचुनावलाई असर पुर्याउने रणनीतिमा उनीहरु छन् भन्ने सूचना प्राप्त भएको छ।’

उनका अनुसार उपनिर्वाचन हुने प्रदेशका अन्य जिल्लाको तुलनामा दाङ विप्लव समूहको बढी सुरक्षा चुनौतीका रुपमा रहेको छ। मंसिर १४ मा उपचुनाव पाँच नम्बर प्रदेशमा एक प्रदेशसभा सदस्य र ९ वडा अध्यक्षका लागि हुँदैछ। जिल्लाको क्षेत्र नम्बर ३ (ख) मा प्रदेशसभा सदस्यका लागि उपनुचनाव हुँदैछ। ‘यो क्षेत्रमा भौगोलिक विकटताका कारण पनि सुरक्षा चुनौती बढेको हो,’ डिआइजी शाहले भने, ‘कुनै घटना भैहालेको अवस्थामा पनि तत्काल प्रहरी मुभ हुन नसक्ने स्थान पनि यो क्षेत्रमा पर्छ।’

सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै प्रहरीले उम्मेदवारहरुलाई पिएसओ उपब्ध गराएको छ भने जिल्लभरमै विप्लवका नेता तथा कार्यकर्ताको क्रियाकलापलाई मुख्य निगरानीमा राखिएको जनाएको छ। प्रहरीका अनुसार प्रदेशसभा सदस्यका लाग निर्वाचनमा होमिएका १४ उम्मेदवारमध्ये नेकपा र कांग्रेसका उम्मेदवारले मात्रै पिएसओ सुरक्षा लिएका छन्। ‘निर्वााचनका लागि मुख्य चुनौतीका रुपमा रहेको विप्लव समूहलाई हामीहरुले मुख्य निगरानीमा राखेर प्रहरी शक्ति परिचालन गरेका छौं,’ उनले भने, ‘हाम्रो मजबुत सुरक्षा व्यवस्थाका कारण पनि विप्लव समूहलाई निर्वाचन लक्षित चुनौती खडा गर्न सहज छैन।’

१०५ जना पक्राउ
पाँच नम्बर प्रदेशमा साउनयता पक्राउ परेका विप्लवका कार्यकर्ताहरुको संख्याले पनि यो प्रदेशमा विप्लव समूहको सक्रियता बढेको देखिन्छ। साउनयता यो प्रदेशमा १ सय ५ जना विप्लव समूहका नेता तथा कार्यकर्ता पक्राउ परेका छन्। जसमध्ये ३० जना पुर्पक्षका लागि कारागार चलान भएको डिआइजी शाहले जानकारी दिए। यस्तै अत्याधुनिक हतियार फेला पर्नुलाई पनि प्रहरीले पाँच नम्बर प्रदेशमा विप्लव समूहको सक्रियता बढेको रुपमा लिएको छ। साउनयता यो प्रदेशमा विप्लवका एसएमजीसहित ३४ थान हतियार प्रहरीले बरामद गरेको छ। ८ सय १४ राउन्ड गोलीसहित १३ थान म्याग्जिन पनि बरामद गरेको डिआइजी शाहले जानकारी दिए।

प्रकाशित: ७ मंसिर २०७६ ०३:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App