१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

साग फुटबलको तालिका सार्वजनिक

काठमाडौं – आसन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) मा समावेश भएका खेलमध्ये फुटबलको तालिका सार्वजनिक भएको छ। मंसिर १५ गतेबाट हुने प्रतियोगिताका लागि शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले महिला र पुरुष दुवैतर्फको तालिका सार्वजनिक गरेको हो।

पुरुषतर्फ ६ देशले सहभागिता जनाउने पक्कापक्की भएपछि सार्वजनिक गरिएको खेलतालिकाअनुसार नेपाल समूह ‘ए’ मा परेको छ। नेपालसहित  समूह ‘ए’ मा बंगलादेश र भुटान अटाएका छन्। यस्तै समूह ‘बी’ मा भारत, माल्दिभ्स र श्रीलंका परेका छन्। तालिकाअनुसार नेपालले मंसिर १५ गते पहिलो दिन बंगलादेशसँग खेल्दै सागको सुरुआत गर्नेछ। दोस्रो खेल नेपालले मंसिर १९ गते भुटानसँग प्रतिस्पर्धा गर्नेछ।

समूह ‘बी’ अन्तर्गत भारतले पहिलो खेलमा माल्दिभ्सको सामना गर्दै सागको सुरुआत गर्नेछ। सागको पुरुष फुटबलमा नेपाल साबिक विजेता हो। भारतमा भएको १२औं सागमा नेपाल स्वर्ण विजेता हो। पुरुष फुटबल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ। समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। फाइनल खेल डिसेम्बर १० मा हुनेछ।

शुक्रबारै महिलातर्फको पनि तालिका सार्वजनिक भएको छ। सार्वजनिक तालिकाअनुसार नेपालले पहिलो खेल श्रीलंकासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ। नेपालको पहिलो खेल मंसिर १७ गते खेल्नेछ। मंसिर १९ गते माल्दिभ्सँग दोस्रो खेल खेल्दा २१ गते भारतसँग खेल्नेछ।

भारत, नेपाल, श्रीलंका र माल्दिभ्स गरी कुल ४ टोलीले सहभागिता जनाउने खेल राउन्ड रोबिन लिग प्रणालीमा सञ्चालन हुनेछ। शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। अन्तिम समयमा आएर पाकिस्तान, भुटान र बंगलादेशले नखेल्ने बताएका छन्। सागको महिला फुटबलमा भारतले स्वर्ण जित्दै आएको छ। नेपाल सबै सहभागितामा रजतमै सीमिति छ। खेल पोखराको रंगशालामा तय भएको छ।

प्रकाशित: ७ मंसिर २०७६ ०२:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App