१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

‘सगरमाथा संवाद’को सचिवालय उद्घाटन'

काठमाडौ – आगामी चैतमा आयोजना गर्न लागिएको विश्वस्तरीय संवाद ‘सगरमाथा संवाद’ सचिवालयको बिहीबार उद्घाटन गरिएको छ। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले एक कार्यक्रमबीच सगरमाथा संवादको उद्घाटन गरेका हुन्। सरकारले राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय स्तरका समसामयिक र साझा चासोका विषयमा विश्वस्तरीय संवाद आयोजना गर्ने उद्देश्यले आगामी चैत २० देखि २२ सम्म सगरमाथा संवादको आयोजना गर्न लागेको छ।

सगरमाथा संवादको पहिलो शृंखलामा ‘क्लाइमेट चेन्ज, माउन्टेन्स एन्ड दी फ्युचर अफ ह्युमानिटी शीर्षकमा संवादको आयोजना गर्न लागिएको मन्त्री ज्ञवालीले जानकारी दिए। सरकारले नेपालमा विश्वस्तरीय संवादको कार्यक्रम आयोजना गर्ने उद्देश्यले सगरमाथा संवादको स्थापना गरेको हो। गत वैशाख २ मा बसेको मन्त्रिपरिषद्को बैठकबाट यसबारे आधिकारिक निर्णय भएको थियो।

कार्यक्रममा सहभागिताका लागि सार्क र बिम्स्टेकसहित विभिन्न २० देशका राष्ट्रप्रमुख र सरकार प्रमुखसहित विभिन्न ४० देशका प्रतिनिधिलाई निमन्त्रणा गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ। कार्यक्रममा उच्चपदस्थदेखि सम्बन्धित क्षेत्रका विज्ञ, मिडियाकर्मी र सेलिब्रेटीहरूलाई समेत निमन्त्रणा गरिने मन्त्रालयले जनाएको छ।

संवादमा एक सय ५० जना विदेशी प्रतिनिधिसहित करिब दुई सयजनाको सहभागिता हुने अपेक्षा गरिएको छ। सरकारले सगरमाथा संवादको आयोजना गर्नुभन्दा पहिले जनवरीको अन्त्यसम्ममा राष्ट्रिय संवादको पनि आयोजना गर्ने जनाएको छ। सगरमाथा संवादको आयोजना गर्नुभन्दा पहिले पोखरा र जनकपुरमा पनि सचेतनात्मक एवं प्रचारात्मक कार्यक्रम आयोजना गरिने भएको छ।

सरकारले कार्यक्रमको तयारी गरे पनि हालसम्म के–कति बजेट लाग्छ भन्नेबारे भने अझै तय नभइसकेको जनाएको छ। ‘बजेटबारे अहिले नै के–कति खर्च हुन्छ भन्नेबारे तय भइसकेको छैन,’ मन्त्री ज्ञवालीले भने। कार्यक्रमका आयोजक परराष्ट्र मन्त्रालय रहनेछ भने परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान र नीति अनुसन्धान प्रतिष्ठानको सहकार्य हुने जनाइएको छ।

प्रकाशित: ६ मंसिर २०७६ ०२:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App