१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

नेफ्टा अवार्डमा हमाल नाच्ने

काठमाडौं- 'रातो टीका निधारमा' बोलको गीत बजिरहेको थियो। अभिनेता राजेश हमाल अभिनेत्री मलिना जोशीसँग कम्मर मर्काएर नाँच्दै थिए। उनको डान्स स्टेपले चिसिएको मौसम तताइरहेको थियो।

बुधबार साँझ राजधानीको जमलस्थित राष्ट्रिय नाचघरको प्रेक्षालयमा डान्स रिहर्सलका लागि हमाल क्याजुअल गेटअपमा पुगेका थिए। उनले पुस ८ गते दुबईमा हुने नेफ्टा फिल्म अवार्डमा आफूले डान्स प्रस्तुत गर्ने बताए, कुन गीत भने बताएनन्।

'पहिलोपटक अवार्डमा नाँच्दैछु र अलग अनुभूति भइरहेको छ' हमालले भने, 'पोहोर व्यक्तिगत कारणले कतार जान सकिनँ तर, यसपटकको अवार्ड सफल बनाउन मेरो योगदान हुनेछ।' उनले पर्दा पछाडि काम गर्ने प्राविधिकसँग आफ्नो भावनात्मक सम्बन्ध रहेको बताए।

फिल्ममा आफूले चरित्र निर्वाह गरेका अधिकांश पात्र मजदुर, विद्रोही र श्रमिक भएकाले लाखौं नेपाली श्रमिक कार्यरत युएईमा नृत्य गर्ने कुराले आफू उत्साहित र भावुक भएको समेत उनले बताए।

यता नेफ्टा (नेपाल चलचित्र प्राविधिक संघ) अध्यक्ष पुष्कर लामाले अवार्डको अन्तिम तयारी भइरहेको बताए। 'नेफ्टा नेपाली फिल्म अन्तर्राष्ट्रियकरण गर्ने र अवार्ड स्तरीय तुल्याउने काममा प्रतिबद्ध छ,' लामाले भने, 'नेपालबाट १ सय २० सेलिब्रिटीसहित पाहुना लगेर हामी भव्य अवार्ड समारोह गर्नेछौं।' त्यस्तै दुबईको सम्पूर्ण व्यवस्थापन जिम्मा लिएको कन्सेप्ट भिजन एन्ड फिल्म डिस्ट्रिब्युसन कम्पनीका सुवाससिंह ठकुरी (अनिश)ले पाहुनाको सत्कार र अवार्ड व्यवस्थापनमा कुनै कमी हुन नदिने बताए।

कलाकारहरू मलिना, करिश्मा मानन्धर, सलोन बस्नेत, साम्राज्ञीराज्यलक्ष्मी शाह, अनुपविक्रम शाही, रोहित रुम्बा, रिस्ता बस्नेत, छुल्ठिम गुरुङ, माला लिम्बुलगायत नृत्यको पूर्वाभ्यास गरिरहेका छन्। नेफ्टाले स्पेक्ट्रम एडभर्टाइजिङ एन्ड मिडिया कन्सलट्यान्ट, कन्सेप्ट भिजन फिल्म प्रोडक्सन एन्ड डिस्ट्रिब्युसन प्रालि, इन्टरनेसनल कन्सलटेन्सी एन्ड एचआर सोलुसन र सेभेन स्टार इभेन्ट्ससँग मिलेर डिसेम्बर २३ मा अवार्ड गर्दैछ।

नेपाल, मलेसिया, हङकङ र कतारपछि नवौं संस्करण मध्यपूर्वको आर्थिक राजधानी दुबईमा हुन लागेको हो। अवार्डका लागि २२ डिसेम्बरमा घरेलु फिल्मको जम्बो टोली दुबई उड्दैछ।

प्रकाशित: २४ मंसिर २०७३ ०३:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App