१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

'सेतो सूर्य'बाट 'किम्फ' सुरु

काठमाडौं- पर्वतीय फिल्महरुको मेला काठमाडौंमा बिहीबार सुरु भएको छ। हिमाल एसोसियसनको आयोजनामा सुरु भएको १४ औं काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ)को उद्घाटन नेपाली फिल्म 'सेतो सूर्य'को प्रदर्शनबाट गरियो। पाँचदिने महोत्सव कुमारी सिनेमा हल र रसियन कल्चरल सेन्टरमा चल्नेछ।

भर्खरै सिंगापुर फिल्म फेस्टिभलमा 'उत्कृष्ट एसियाली फिल्म'को अवार्ड जित्न सफल 'सेतो सूर्य'को बिहीबार नेपाल प्रिमियर गरिएको हो। शुक्रबारदेखि नेपालभर रिलिज हुन लागेको फिल्मले प्रिमियरमा सकारात्मक प्रतिक्रिया बटुले। नेपाली तथा स्वदेशी दर्शकले फिल्मलाई रुचाएको पाइयो।

२८ देशका ८० वटा फिक्सन फिल्म, सर्ट फिल्म, एनिमेसन, डकुमेन्ट्री र एक्सपेरिमेन्टल फिल्म समावेश गरिएको किम्फमा शुक्रबारै अस्ट्रिया, स्पेन र भारतका फिल्महरु पनि देखाइयो। केसाङ छेतेनद्वारा निर्देशित 'ट्रेम्बलिङ माउन्टेन' डकुमेन्ट्री समेत बिहीबार प्रिमियर गरियो। केसाङकै अर्को डकुमेन्ट्री 'हस्पिटल' पनि शनिबार देखाइने कार्यक्रम रहेको छ।

विभिन्न देशका फिल्मकर्मीबीच आफ्नो सिपको आदानप्रदान होस् र दर्शकहरुले पनि संसारभरका उत्कृष्ट फिल्महरुको स्वाद लिन पाओस् भन्ने उद्देश्य आफूहरुले लिएको महोत्सव अध्यक्ष वसन्त थापाले बताए। 'पर्वतीय फिल्म महोत्सवले अरु पर्वतीय समाजलाई पनि नेपाली समाजसँग जोड्ने काम गर्छ भन्ने हाम्रो विश्वास छ,' अध्यक्ष थापाले भने, 'फिल्ममा देखाइने कथाहरु फरक देशका भए पनि उस्तैउस्तै महसुस हुन्छ। सबैका पीडा र मुस्कान उस्तै लाग्छन्।'

फिल्म महोत्सवले दर्शक र फिल्मकर्मीलाई प्रत्यक्ष अन्तर्त्रि्कया गर्ने मौका दिने 'सेतो सूर्य'का निर्देशक दीपक रौनियारले बताए। उनले बिहीबार प्रिमियरपछि दर्शकसँग लामै अन्तर्त्रि्कया गरेका थिए। साथै आफ्नो फिल्मको प्रिमियर समारोह फेसबुकबाट प्रत्यक्ष प्रसारण गरेका थिए।

फेस्टिभलमा शुक्रबार पनि बिहान ११ बजेदेखि साँझ आठ बजेसम्म २० भन्दा बढी लामाछोटा फिल्म देखाइँदैछ। तीमध्ये नेपालकी चर्चित धाविका मिरा राईमाथि बनाइएको डकुमेन्ट्री 'मिरा'लाई मुख्य आकर्षण मानिएको छ। 'मिरा' दिउँसो तीन बजे देखाइनेछ।

प्रकाशित: २४ मंसिर २०७३ ०३:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App