१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सरकारको गेटमै धुले सडक

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय अगाडिको कच्ची जीर्ण सडक। तस्बिर : गणेश/नागरिक

वीरेन्द्रनगर- कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावल मन्त्रालयबाट बाहिर निस्कदा गेट अगाडिबाटै कच्ची बाटोमा धुलो उढाउँदै यात्रा गर्नुपर्छ। उनीजस्तै उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाको पनि यात्रा सहज बन्दैन।

मन्त्रालयबाट निस्केको करिब १० मिटर पार गर्दा मन्त्री बुढाको गाडी धुलोमै पुग्छ। गाडीमा झ्याल लगाएर हिँड्ने मन्त्री बुढा सवार गाडीले धुलो उडाउँदै गर्दा धुलो सर्वसाधारणलाई छपक्कै पार्छ। यति मात्र होइन कर्णाली प्रदेशको राजधानी तथा सुर्खेतको प्रशासनिक केन्द्र वीरेन्द्रनगरमा कच्ची र साँघुरो सडकले यात्रुलाई असहज हुँदै आएको छ।

यहाँको प्रशासनिक केन्द्रमा निर्माण गरिएका सडक जीर्ण भइसकेका छन्। उक्त सडक अहिले खाल्डाखुल्डीमा परिणत भएका छन्। पहिला नै निर्माण गरिएका सडक जीर्ण बन्दै गएका छन्। यसको मर्मत सम्भार तथा स्तरोन्नतिमा कसैले ध्यान दिएको देखिँदैन।

सडक मर्मत सम्भार नहुँदा सर्वसाधारणले दुःख पाएको यहाँका बासिन्दाको भनाइ छ। यहाँका प्रशासनिक केन्द्रसम्म पुग्ने सडकको अवस्था दयनिय छ। बर्खामा हिलो र हिउँदमा धुलोले राजधानी कुरुप हुँदै गएको छ। दैनिक सयौं सवारी साधन चल्ने प्रदेश राजधानीकै सडकको अवस्था दूरावस्था हुँदा स्थानीय चिन्तित बनेका छन्। ‘प्रदेश सरकारका अगाडिकै सडकको स्थिति बेहाल छ,’ सन्तोष चपाईले भने, ‘अन्य दूरदराजका सडक कस्ता होलान?’

बाहिरबाट आउने पर्यटकलाई समेत गिज्याइ रहेको भन्दै उनले प्रदेश सरकारले विकास निर्माणमा चासो नदिएको आरोप लगाए। अन्य प्रदेशमा ६ लेन सडक बनिरहेका बेला कर्णाली प्रदेश राजधानीमा भने साँघुरो सडकको यात्रा गर्नु परेको सर्वसाधारणको भनाइ छ।

२०२९ सालदेखि वीरेन्द्रनगरमा व्यवस्थित बसोबास सुरु भएको नागरिक समाजका अगुवा पीताम्बर ढकालले बताए। मंगलगढी-वीरेन्द्रचोक खण्ड २०४० सालमा कालोपत्रे भएको उनले बताए। कर्णाली प्रदेशको राजधानीका रूपमा रहेको वीरेन्द्रनगर उपत्यकाभित्र करिब ८२ किलोमिटर सडक छ। वीरेन्द्रनगर नगरपालिकामा रहेकोे तथ्यांकअनुसार त्योमध्ये ४२ किलोमटर सडक पहिलेदेखि पक्की छ।

यस्तै, २६ किलोमिटर ग्राभेल र १४ किलोमिटर कच्ची सडक उपत्यकाभित्र छ। अहिले वीरेन्द्रनगरभित्रका सडक दुरावस्था बनि सकेका छन्, यी सडकहरु यहाँको समृद्धिमा बाधक बनेको स्थानीयको भनाइ छ।

प्रदेश र स्थानीय सरकार बनेपछि यहाँका जनताले थुप्रै आशा गरेका थिए, ‘सडक मर्मत सम्भार हुन्छ।’ कालोपत्रे उत्रिएर खाल्डाखुल्डी हुँदा आफूजस्तै हजारौं बासिन्दाले सास्ती खेप्नु परेको ढकालको भनाइ छ। सडकको भारवहन क्षमताभन्दा दोब्बर बजन भएका सवारी साधन गुड्दा यहाँका सडक जीर्ण बन्दै गएको प्राविधिकहरूको भनाइ छ। धुलो उड्दा सर्वसाधारण नाकमुख छोपेर हिँड्नु परेको छ।

‘धुलोले स्वास्थ्यलाई असर गर्छ,’ कामका शिलशिलामा वीरेन्द्रनगर आएका विनोद बस्नेतले भने, ‘मन्त्रीलगायत उच्चपदस्थ कर्मचारीसँग अरुका सवारी साधन धुलो उडाउँदै हिँड्छन्।’ ठेकेदारको लापरवाहीले सडक मर्मत सम्भारमा ढिला भएको सामाजिक विकासमन्त्री दल रावलले जनाए। ‘हामीले टेन्डर गरेका थियौं,’ उनले भने, ‘बालुवा गिट्ठी अभाव भन्दै ठेकेदारले लापरवाही गर्‍यो।’

भित्री सडक सबै टेन्डर भइसकेकाले छिटै ममर्त सम्भार हुने वीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदीले बताए। ‘अहिले सर्वसाधारणलाई सास्ती छ,’ उनले भने, ‘अबको केही समयपछि यो सास्ती हट्नेछ।’

 

प्रकाशित: ५ मंसिर २०७६ ०९:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App