१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

एक महिनाभित्रै भूमिगत प्रसारण लाइनको काम सुरु

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले पुस महिनादेखि भूमिगत विद्युतीय प्रसारण लाइनको निर्माण सुरु गर्ने भएको छ। प्राधिकरणले गत चैतमा रत्नपार्क र महाराजगन्ज वितरण केन्द्रका ग्राहकको घर–घरमा भूमिगत बिजुली वितरण गर्ने तयारीसहित बोलपत्र आह्वान गरेको थियो।

ठेकेदार कम्पनीले ठेक्का पाएको नौ महिनापछि भूमिगत तार बिछ्याउन सुरु गर्ने भएको छ। प्राधिकरणले काठमाडौंको रत्नपार्क वितरण केन्द्र र महाराजगन्ज विद्युत् वितरण केन्द्रका करिब एक लाख ग्राहकलाई भूमिगत लाइनबाट बिजुली दिने योजना अघि सारेको छ। प्राधिकरणले काठमाडौं उपत्यकापूर्व तथा दक्षिण वितरण प्रणाली सुदृढीकरण आयोजनाले रत्नपार्क वितरण केन्द्र क्षेत्रमा र काठमाडौं उपत्यका मध्य तथा उत्तर विद्युत् वितरण प्रणाली सुदृढीकरण आयोजनाले महाराजगन्ज क्षेत्रमा भूमिगत विद्युत् प्रसारण लाइन वितरणको जिम्मेवारी पाएका छन्।

काठमाडौं उपत्यका पूर्व तथा दक्षिण वितरण प्रणाली सुदृढीकरण आयोजनाका लेखाप्रमुख शेखरबिक्रम कार्कीले ठेकेदार कम्पनीले एक महिनाभित्रै रत्नपार्क वितरण केन्द्रमा भूमिगत विद्युतीय प्रसारण लाइन निर्माणको काम थाल्ने बताए। ‘ठेकेदार कम्पनीले रत्नपार्क वितरण केन्द्रका सम्पूर्ण घरधुरीको सर्भे सम्पन्न गरिसक्योे,’ उनले भने, ‘ठेकेदार कम्पनीले भूमिगत प्रसारण लाइनको आवश्यक केबल तथा अन्य सामग्री भिœयाइसकेको छ। त्यसैले पनि लगभग मंसिर मसान्तभित्रै प्रसारण लाइन निर्माणको काम सुरु हुनेछ।’

उक्त निर्माण कार्यको ठेक्का सम्झौता गत चैतमा भएको थियो। सम्झौताअनुसार रत्नपार्क वितरण केन्द्रमा भूमिगत विद्युतीकरण गर्न ३० महिनाको अवधि राखिएको छ। आयोजना अन्तर्गतको ११ केभीको १३५ किलोमिटर र ४०० भोल्टको दुई सय किलोमिटर भूमिगत विद्युतीय लाइन विस्तार गर्न भ्याटसहित ८३ करोड १४ लाख लाग्ने अनुमान छ। आयोजनाका लेखाप्रमुख कार्कीले ठेकेदार कम्पनीले डाउन पेनेट्रेसन राडारमार्फत जमिनमुनिको नक्सा तयार पार्ने काम अन्तिम चरणमा पु-याएको बताए।

‘भूमिगत प्रसारण लाइन जमिनमुनिबाट राख्ने भएकाले पनि जमिनमुनि कस्तो पूर्वाधार छ भनेर अध्ययन गर्ने कार्य अन्तिम चरणमा पुगेको छ,’ उनले भने, ‘त्यसैले पनि अब छिट्टै काम सुरु हुनेछ।’ प्राधिकरणका अनुसार ‘होरिजेन्टल डाइमेन्सन ड्रिलिङ मेसिनको सहायताले जमिनमुनि खाल्डो खनेर बिजुलीको तार राखिनेछ। आयोजनाका अनुसार काठमाडौंको भित्री इलाका असन, इन्द्रचोक, न्युरोड हुँदै एअरपोर्ट, चाबहिलदेखि बौद्धसम्म भूमिगत तार विस्तार गर्न लागिएको हो।

काठमाडौं उपत्यका मध्य तथा उत्तर विद्युत् वितरण प्रणाली सुदृढीकरण आयोजनाका प्रमुख अभिषेक अधिकारीले ठेकेदार कम्पनीले सर्भेको काम लगभग सम्पन्न गरेको बताए। ‘ठेकेदार कम्पनीले महाराजगन्ज वितरण केन्द्रका ग्राहकको सर्भेको काम लगभग सम्पन्न गरिसक्यो,’ उनले भने, ‘अहिले ठेकेदार कम्पनीले भूमिगत विद्युतीय प्रसारण लाइन निर्माणको लागि आवश्यक पर्ने सामग्री खरिद गरिसकेको छ।’ उनका अनुसार भन्सार यार्डमा आवश्यक निर्माण सामग्री ल्याउने क्रम सुरु भइसकेको छ।

गत चैतमा ठेकेदार कम्पनी भारतीय केइआई इन्ड्रस्टिजसँग महाराजगन्ज वितरण केन्द्रमा भूमिगत विद्युतीय प्रसारण लाइन विस्तारको लागि एक अर्ब एक करोड ६९ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको छ। ११ केभीको भूमिगत प्रसारण लाइन एक सय ५५ किलोमिटर र ४०० सय भोल्टको दुई सय १० किलोमिटर एरियामा भूमिगत विद्युतीय प्रसारण लाइन विस्तार गरिनेछ।

दुवै आयोजना ठेक्का सम्झौता भएको ३० महिनाभित्रै निर्माण सम्पन्न गर्नुपर्ने व्यवस्था गरिएको छ। ‘भूमिगत प्रसारण लाइनलाई सुरक्षाको लागि मात्रै नभएर विद्युतीय क्षमता विस्तार गर्ने अवसरको रुपमा पनि लिनुपर्छ,’ आयोजना प्रमुख अधिकारीले भने, ‘विश्वका धेरै देशमा भूमिगत प्रसारण लाइन छ। नेपालमा भने बिल्कुलै नयाँ हो।’

भूमिगत विद्युत् प्रसारण लाइन विस्तारको लागि डेढदेखि दुई मिटर सडक खनेर तार राख्ने गरिन्छ। ११ केभी प्रसारण लाइनको लागि १६० एमएमको पाइप राखिनेछ। चार सय भोल्टको प्रसारण लाइनको लागि १२५ एमएमको पाइपभित्र इन्सुलेसन राखिएको बिजुलीको तार राखिन्छ। इन्जिनियरिङ प्रोक्रयोरमेन्ट कन्सट्रक्सन (इपिसी) मोडलमा यो काम गर्न लागिएको हो। ‘होरिजेन्टल ड्रिलिङ प्रविधिबाट भूमिगत विद्युत प्रसारण लाइन विस्तार गर्न लागेका हौं,’ उनले भने, ‘एक ठाउँमा मुसाले जस्तै दुलो पारेर अन्य ठाउँमा भित्रभित्रैबाट विद्युतीय लाइन विस्तार गरिनेछ।’

प्रकाशित: ५ मंसिर २०७६ ०४:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App