१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

अष्ट्रेलिया नचाउँदै 'नेपथ्य'

ब्रिसबेन – गत शनिबार ठमेलस्थित लर्ड अफ द ड्रिंक्स (एलओडी) डान्स क्लबमा पूर्वराजा ज्ञानेन्द्र शाहको नृत्यसहित गुन्जयमान बनेको गीत ‘रातो र चन्द्रसूर्जे’ हालै अष्ट्रेलियामा गुन्जिएको छ। मंगलबारदेखि अष्ट्रेलियाको ब्रिसबेनस्थित फोर्टिच्युड म्युजिक हलबाट सुरु भएको लोक पप ब्याण्ड नेपथ्यको श्रृंखलाबद्ध सांगीतिक प्रस्तुतिको क्रममा ‘रातो र चन्द्रसूर्जे’ गीत गुन्जिँदा उपस्थित दुई हजारभन्दा बढी दर्शकहरु उत्साहित भएका थिए।

कन्सर्टमा नेपथ्यले ‘भेंडाको ऊनजस्तो’, ‘छेक्यो छेक्यो’, ‘लाम्पाते सुरती’, ‘चरी म‍र्यो’ र ‘जोमसोमै बजारमा’ गाउँदा दर्शक झुम्मिरहेका थिए। करिब डेढ दशकदेखि ‘रातो र चन्द्रसूर्जे’ गीत गाउँदै आएको नेपथ्यको ब्रिसबेनमा यो चौथो प्रस्तुति हो। कन्सर्टको क्रममा नेपथ्यका गायक अमृत गुरुङ भन्दै थिए, ‘हाम्रा लोकगीतहरुले नचाउने काम मात्र नगरेर नेपाली समाजको गम्भीर सन्देश र दर्शनहरु पनि बोकेका हुन्छन्।’ कन्सर्ट अवधिमा उनले विदेशमा नेपालीहरु मिलेर बस्न र आइपरेका बेला एकले अर्कालाई साथ दिन अनुरोध पनि गरे। सो क्रममा नेपथ्यले नयाँ एल्बमबाट ‘नैना ताल’ गीत सुनाएको थियो।

‘ब्रिसबेनमा नेपाली कलाकारको यो अहिलेसम्मको उत्कृष्ट सांगीतिक प्रस्तुति बन्न पुगेको छ,’ स्थानीय आयोजक माउन्ट ८८४८ इभेन्ट्सका सदस्य सुनिल बस्नेत भने, ‘यो सहरमा जति संख्यामा नेपाली बसोबास छ। त्यसका हिसाबले यतिको दर्शक जुट्नु सफलता हो। संगीतले सबैलाई एकतामा जोड्दो रहेछ भन्ने यसले साबित गरिदिएको छ।’

यसलगत्तै आगामी नोभेम्बर २२ मा डार्बिनमा नेपथ्य गुन्जिनेछ। अष्ट्रेलियाको विभिन्न ६ वटा सहरमा सांगीतिक यात्रा गर्ने नेपथ्यले पहिलोपटक होबार्टमा प्रस्तुति दिँदैछ। नेपथ्यको अष्ट्रेलिया यात्राको अन्त्य आगामी डिसेम्बरको २३ मा मेलबर्न पुगेर हुनेछ। सन् २००९ बाट सुरू भएको नेपथ्यको श्रृंखलाबद्ध सांगीतिक प्रस्तुतिको यो चौथो श्रृंखला हो। यसपटक नेपथ्यले डार्बिनलगत्तै एडिलेडमा डिसेम्बर ३, होबार्टमा डिसेम्बर ८, सिड्नीमा डिसेम्बर १४ र मेलवर्नमा डिसेम्बर २३ मा सांगीतिक प्रस्तुति दिनेछ। यसपटक नेपथ्यको सांगीतिक प्रस्तुतिमा छ जना ब्याण्डका सदस्य सहभागी छन्।

प्रकाशित: ५ मंसिर २०७६ ०४:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App