१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

त्रिभुवन विमानस्थल पुसदेखि पूर्ण सञ्चालनमा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल। फाइल तस्बिर:नागिरक

काठमाडौं – देशको एक्लो अन्तर्राष्ट्रिय विमानस्थलआगामी पुसदेखि २४ सै घन्टा सञ्चालन हुने भएको छ। मन्त्रालयस्तरीय विकास समस्या तथा समाधान समितिको बुधबार बसेको बैठकमा चालु आर्थिक वर्षको पहिलो चौमासिक नीति तथा कार्यक्रम र बजेटको प्रगति विवरण सार्वजनिक गर्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भ्रमण वर्षको पूर्वसन्ध्यामा २४सै घन्टा सञ्चालन गर्ने गरी सुधारको काम भइरहेको जानकारी दिइयो।

त्यस्तै, राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको निमार्णाधीन गौलमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको बाँकी काम सम्पन्न गरी सन् २०१९ भित्रै सञ्चालनमा ल्याउने गरी काम भइरहेको पनि सो अवसरमा जानकारी दिइयो। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सन् २०२१ को सुरुदेखि सञ्चालन गर्ने गरी निर्माणकार्यमा तीव्रता दिइएको तथा निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको पनि निमार्ण कार्य शीघ्रसुरुहुने पनि उक्त बैठकमा जानकारी गराइयो।

बैठकमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कात्तिक महिनाभित्र ८४ प्रतिशत सकिएको र नयाँ रनवे पूर्व र पश्चिम ट्रेन्च खनी एचडिपी पाइप लेआउटको काम सम्पन्न भइसकेको जानकारी दिइयो।

हाल रनवेको दुवैतर्फ साइट क्लियरेन्स गरिसकेको तथा ट्याक्सी वे मार्किङ कार्य सकिएको पनि जनाइएको छ। अहिले कार पार्किङ क्षेत्र बनाउने काम सुरु भएको छ। सेक्युरिटी भवनको पश्चिमतर्फ निमार्णसुरु भएको, आइटिबी भवनको छत निर्माणलाई निरन्तरता दिएको, कन्ट्रोल टावर, आटिबी र प्रशासनिक भवनमा रङरोगनको लागि पुटिङ लगाउने काम भइरहेको बताइएको छ।
नयाँ रनवेको पश्चिमतर्फ फेन्सिङ र एसी कुलिङ टावरको काम पनि जारी छ।

त्यस्तै, पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थल निमार्ण कात्तिकमा मात्रै सात प्रतिशत सम्पन्न भएको र हालसम्म ५० प्रतिशत सकिएको जनाइएको छ। उक्त विमानस्थलको टर्मिनल भवनको पहिलो तल्लाको ढलान भइसकेकोे छ। दोस्रो तल्लाको स्टिल स्ट्रक्चर र ट्रस राख्ने काम भइरहको छ। एक्सेस रोडको लागि जमिन खन्ने र पुर्ने काम भइरहेको पनि बैठकमा जानकारी दिइयो।

हाल एप्रोन क्षेत्रमा फायरफाइटिङ वाटर मेनलाइन विस्तार गरिसकेको,ह्याङ्गर भवनमा स्टिल स्ट्रक्चर तथा ट्रस निमार्ण कार्य दु्रत गतिमा अघि बढेको जनाइएको छ। कन्ट्रोल टावरको छैटौं तल्ला सम्पन्न भई सातौं तल्लाको काम सुरु भएको, रनवे स्ट्रिप क्षेत्रमा सेयरवालको काम भइरहेको तथा रनवेमा प्राइमरी केबल बिछ्याउने काम भइरहेको पनि जनाइएको छ।

त्यस्तै, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निमार्ण कार्य अघि बढाउन मन्त्रिपरिषद्मा निर्णयकालागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत वन तथा वातावरण मन्त्रालयमा पेस भइसकेको जनाइएको छ। हाल विमानस्थल निर्माणको लागि मोडालिटी तय गर्न सम्बद्ध मन्त्रालय तथा निकायसँग बैठक तथा छलफल भइरहेको पनि बैठकमा जानकारी गराइएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टर्मिनल भवन विस्तारको काम द्रुत गतिमा भइरहेको जनाउँदै दक्षिणतर्फको धावनमार्गको काम, एप्रोन निर्माण कार्य सम्पन्न भएको छ। विमानस्थललाई बुटिक एयरपोर्टको रुपमा रुपान्तरण गर्दै सिलिकन पेन्ट गर्ने काम ९० प्रतिशत सम्पन्न भएको छ। विमानस्थलमा बुद्धको मूर्ति राख्ने कार्य, डोमेस्टिक रेनोभेसन र क्यानोपी निर्माण गर्न ठेक्का सम्झौता भइसकेको जनाइएको छ। आइटिबी रेनोभेसनको बोलपत्र मूल्यांकनको प्रक्रियामा छ।

प्रकाशित: ५ मंसिर २०७६ ०३:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App